पोखरा/पोखरा महानगरपालिकाको ल्याण्डफिल साइटको विषयलाई लिएर स्थानीय र महानगरपालिका बिच विवाद सिर्जना भएको छ । पोखरा महानगरपालिकाले स्थानीयको विरोधका वाबजुत पोखरा ३३ मा ल्याण्डफिल साइड बनाउने योजना अघि सारेको भन्दै शुक्रबार वडामा ताला लगाउने क्रममा ठूलो विवाद भएको छ ।
पोखरा महानगर वडा नम्बर–३३ वडा कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गरिहेका बेला वडाध्यक्ष रामचन्द्र अधिकारीले खुकुरी नचाएर अपशब्द बोलेपछि विवादले उग्र रूप लिएको हो । वडाध्यक्ष अधिकारीले खुकुरी नचाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने प्रदर्शनकारीले वडाध्यक्षको गाडी तोडफोड गरेका छन् । प्रदर्शनकारीले गाडीमा आगो लगाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
स्थानीय कृष्ण बहादुर दुराका अनुसार शुक्रबार वडा कार्यालयमा वडाध्यक्षलाई पत्र बुझाउने कार्यक्रम तय भएको थियो । महानगरपालिका र स्थानीय बिचमा ल्याण्डफिल साइडको बारेमा २ वर्ष अघि नै कुरा नमिलेपछि साम्य भएको स्थानीयले सोचेपनि महानगरपालिकाले भित्रभित्रै काम गरेका कारण आफुहरु आन्दोलित भएको सुनाए ।
शुक्रबार वडाध्यक्षको गतिविधि असान्दर्भिक देखिएको उनी सुनाउछन् । ‘वडाध्यक्ष ज्यले हाम्रो साथ दिनुहुन्छ भन्ने लागेको थियो तर, राम्रो संग सम्झाएको भए यो विवादै हुने थिएन खै के भयो उहाँले एक्कासी हतियार झिक्नुभयो’ दुराले भने, ‘हामीले नरोकेको भए ठूलो घटना पनि हुन सक्थ्यो । हाम्रो माग भनेकै वडा नम्बर ३३ मा ल्याण्डफिल साइड हुनु हुदैन भन्ने हो वडाध्यक्ष नभेटेपछि हामीले ताला लगायौं ।’
अर्का स्थानीय अजय थापाले वडामा सल्लाह लिन आउने क्रममा एक्कसी हतियारसहित आएको सुनाए । थापाका अनुसार प्रहरीले हतियारसहित वडाध्यक्षलाई पक्राउ गरेको थियो ।
‘पोखरा महानगरको फोहोर भरतपोखरीमा फाल्ने कुरा भइराखेको थियो । मेयर, सिडियो र तत्कालिन सांसद विद्या भट्टराइसहितको टोलीसँग भएको छलफलमा समेत विरोध गरेका थियौं यो साम्य भयो होला भनेर हामी ढुक्क बसियो भित्रभित्रै चलखेल रहेछ’ उनले भने, ‘स्थानीय भाइहरुले थाहा पाएछन् र त्यहा रोके । अहिले सोल टेस्टका लागि आएपछि मात्रै यहाँ ल्याण्डफिल साइड बनाउने योजना अघि बढेको भन्ने थाहा पायौं ।’ स्थानियहरुले पोखरा ३३ मा कुनैपनि हालतमा फोहोर फ्याक्न नदिने बताए ।

अर्का स्थानीय नारायणदत्त अधिकारीले मेयर समेत पोखरा ३३ कै भएपनि स्थानीयलाई अहिले बेकारमा मत दिएर जिताएको महसुस भइराखेको बताए । जनताले चुनेके जनप्रतिनिधिबाट नागरिकलाई असुरक्षित भएको उनको भनाइ छ ।
कास्की प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले वडाध्यक्ष र प्रदर्शनकारीबीच झडप हुन नदिन वडाध्यक्ष अधिकारीलाई नियन्त्रणमा लिएको बताए । खुकुरी नचाएका विषयमा अनुसन्धान गरेर कारबाही अघि बढाउने उनले बताए ।
महानगरले पोखरा– ३३ पुँडिटारमा ल्याण्डफिल साइट बनाउने भन्दै मंसिर २ गते टेरासोल्भ रिन्युवल नेपाल प्रालिसँग सार्वजनिक निजी साझेदारीमा सम्झौता गरेको थियो । सम्झौता अनुसार उक्त कम्पनीले ८० करोड रुपैयाँ लगानी गर्ने, ल्याण्डफिल साइट व्यवस्थापनदेखि प्रशोधन केन्द्र निर्माण गर्ने जनाएको छ ।
२१ वर्षका लागि भएको सम्झौतामा २६ महिनाभित्र प्रशोधन केन्द्र निर्माण गरिसक्ने र महानगरले ३० दिनभित्र जग्गा उपलब्ध गराउने सर्त राखिएका छन् । परियोजनाले फोहोर प्रशोधन गरी ऊर्जा लगायत अन्य उत्पादनमा जोड दिएको छ । ल्याण्डफिल साइट बनाउन स्थानीय १७ परिवारको नाममा लालपूर्जा भएको ९६ रोपनी जग्गा महानगरले रोक्का राखेको छ ।
स्थानीयबासीसँग कुनै सरसल्लाह नगरीकन एकलौटी ढंगले ल्याण्डफिल साइट बनाउन लागेको भन्दै विरोध जनाएका हुन् ।
उनीहरूले उक्त स्थानमा ल्याण्डफिल साइट बनाउँदा स्थानीयबासीको स्वास्थ्यमा समस्या आउने, खोलाको पानी दुषित हुने, उत्पादन क्षेत्रमा ह्रास आउने लगायतका समस्या आउने भन्दै ल्याण्डफिल साइट बनाउन नदिने अडान राखेका छन् ।
पुडिटारका स्थानीयले यसअघि पनि महानगरपालिका पुगेर उक्त स्थानमा ल्याण्डफिल साइट बनाउन उपयुक्त नहुने भन्दै ज्ञापनपत्र बुझाएका थिए । वडाध्यक्ष अधिकारी २०७९ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए ।





