पोखरा/नेपाली कांग्रेसको विवादमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘केहि पनि नबोल्ने’ बताएका छन । तर, शनिबार उनी काठमाण्डौ जाँदैछन । आइतबारदेखि भने विशेष महाधिवेशन पक्षधरले महाधिवेशन भन्दै भृकुटीमण्डपको हल बुक गरेका छन ।
विशेष महाधिवेशन सञ्चार तथा प्रचार प्रसार समितिले काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै यही पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने आह्वान गरेको हो ।
‘पार्टीले २०८२ पौष २८ भित्र १५ औं महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक पनि गरेको थियो, तर तोकिएको समयमा १५ औं महाधिवेशन सम्पन्न हुन सकेन,’ विशेष महाधिवेशन पक्षधरले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस्तो अवस्थामा हाम्रो मागबमोजिमको विशेष महाधिवे शन स्वतः निर्विकल्प विकल्प बनेको छ ।’
बाध्यकारी अवस्थामा आफूहरूले विशेष महाधिवेशन आह्वान गरिएको विशेष महाधिवेशन पक्षधरले जनाएको छ ।
‘विधानको यही मर्म र भावनालाई पूर्ण सम्मान गर्दै यही २०८२ पौष २७ र २८ गते काठमाडौँमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उत्साहपूर्ण सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक आग्रह गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ । विशेषका लागि सचिवालयका तर्फबाट शान्ति सुरक्षाका व्यवस्थाका लागि स्थानीय प्रशासनमा पत्राचार समेत भइसकेको छ । महामन्त्रीद्वय थापा र शर्मा पक्षले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले अब विशेष महाधिवेशनको विकल्प नभएको जनाएको छ । तर, सभापति शेर बहादुर देउवा पक्षले भने फागुन २१ को प्रतिनिधि सभा निर्वाचन अगाडि विशेष महाधिवेशन गर्न नसकिने जनाएका े छ । यहि विवादका बिच मुख्यमन्त्री समेत रहेका गोरखाका पाण्डेको धार कता हुन्छ भन्ने कौतुहलता छ । तर, उनी कतैपनि खुलेका छैनन । विशेष वा नियमित महाधिवेशन भन्ने ढोरपाटनको प्रश्नमा उनले भने, ‘म केहि पनि बोल्दिन ।’
‘यो विषयमा मैले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्नेछु ।’ उनले भने ।
संस्थापन देउवा पक्षमा रहेका उनी कांग्रेस नेता शंकर भण्डारी निकट मानिन्छन । तर, पछिल्लो समयमा उनी महामन्त्री थापाको निकटमा रहेको चर्चा पनि हुने गरेको छ । मन्त्रीमण्डल विस्तारमा शेखर कोइरालाभन्दा पनि महामन्त्री गगन थापा निकटलाई भाग दिएको चर्चा बेलाबखत हुने गर्दछ ।
२७८ जना विशेषको पक्षमा
महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशनको पक्षमा गण्डकीबाट २७८ जना खुलेका छन् । जहाँ सबैभन्दा धेरै गोरखामा ९५ प्रतिशत विशेषको पक्षमा खुलेका छन् । यो मुख्यमन्त्री पाण्डेको गृहजिल्ला पनि हो ।
५० महाधिवेशन प्रतिनिधि रहेको गोरखामा ४७ जना विशेषको पक्षमा खुलेका छन् । मुस्ताङका २५ प्रतिनिधिमा विशेषमा हस्ताक्षर गर्ने एक जना मात्रै छन् । तनहुँमा २५, स्याङ्जामा २६, लमजुङमा २३, कास्कीमा ४७, मनाङमा ४, पर्वतमा २०, बागलुङमा ३५, म्याग्दीमा १७ र नवलपुरबाट ३३ जना विशेषको पक्षमा छन् ।





