
पोखरा/ नेपाल रेडक्रस सोसाइटी (नेरेसो) पोखरा महानगरपालिका वडा नं. २६ उपशाखाको ३२औँ वार्षिक साधारणसभा आज पोखरामा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा महानगरपालिका वडा नं.२६ का वडाध्यक्ष नरेन्द्र थापाले समुदायस्तरमा नेपाल रेडक्रस सोसाइटीको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए ।
उनले रेडक्रसले प्राथमिक उपचार, विपद् तथा प्रकोपको समयमा राहत उद्धार कार्य, साथै विपन्न तथा असहाय परिवारहरूको अवस्थालाई मध्यनजर गर्दै मानवीय क्षति न्यूनीकरणमा उल्लेखनीय योगदान पु¥याउँदै आएको उल्लेख गरे । सोही अवसरमा उपशाखाका सभापति अम्बिका मोहन भट्टराईले आफ्नो कार्यकालको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उपशाखा अन्तर्गत रहेका अति विपन्न परिवार तथा उपचार खर्च अभावका कारण उपचार गर्न नसक्ने बिरामी व्यक्तिहरूलाई आवश्यक पर्दा आफ्नै व्यक्तिगत खर्चबाट समेत सहयोग गर्ने घोषणा गर्नुभयो भने कार्यक्रममा कोषाध्यक्ष बुद्धराज बस्यालले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभाको अवसरमा प्रत्येक वर्ष प्रदान गरिँदै आएको श्री डण्डपाणी तिवारी स्मृति अक्षकोष तथा सवित्रि मोहन शर्मा स्मृति अक्षयकोषबाट जेहेन्दार छात्रवृत्ति अन्तर्गत भवानी कालिका माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत छात्रा रश्मि आचार्य तथा अमर ज्योति गाउँ फर्क माध्यमिक विद्यालय कक्षा ५ मा अध्ययनरत छात्रा रेनुका ढुङ्गानालाई सम्मान गरिएको थियो । साथै समुदाय अन्तर्गत सूर्यदेवी बराललाई समेत विशेष सम्मान प्रदान गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी पोखरा–२६ उपशाखाका सभापति भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सदस्य तथा प्रतिनिधि शुभास अधिकारी, पूर्वसभापतिहरू नारायणप्रसाद बराल, मुरारी शर्मा, चन्द्रबहादुर रानाभाट, पूर्वसचिव मनोहरी ढुङ्गाना, सामाजिक व्यक्तित्व शिवबहादुर रानाभाट तथा अक्षयकोषदाता झलकपाणी तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।उपशाखाकी उपसभापति प्रमिला बरालले स्वागत मन्तव्य प्रस्तुत गरेको सो कार्यक्रमको सञ्चालन सचिव महादेव ढुङ्गानाले गरेका थिए ।





