पोखरा/नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ( माओवादी)ले गोर्खा जेल ब्रेकर उमा भुजेल ‘सिलु’सहितका नेताहरुलाई आउँदो चुनावमा गोर्खाको क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने तयारी थालेको छ ।
नेकपाले उमालाई १ नम्बरमा राख्दै गोर्खा क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस गरेको हो । गोर्खाको क्षेत्र नम्बर २ बाट अघिल्लो चुनावमा माओवादी अध्यक्ष प्रचण्ड विजयी बनेका थिए । आफ्ना पूर्वसहकर्मी डा.बाबुराम भट्टराईले ‘त्याग’ गरेपछि प्रचण्ड चितवन छाडेर गोर्खा उक्लिएका थिए । उनी सो चुनावमा २६ हजार १ सय १ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धीको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३६ र नेकपा एमालेका अब्दुस सलाम मियाँले ७ हजार ३१२ मत ल्याएका थिए ।
त्यो बेला नेपाली कांग्रेसले माओवादीलाई सघाएको थियो । अहिले प्रचण्डले गोर्खाको सो चुनावी क्षेत्र छाडेर रुकुम पूर्वबाट चुनाव लड्ने घोषणा गरेका छन् । प्रचण्डले रुकुम रोजेको घोषणा गरेलगत्तै विप्लव नेतृत्वको नेकपाले सो क्षेत्रका निम्ति पार्टी स्थायी कमिटी सदस्य तथा गण्डकी इन्चार्ज उमासहित पार्टी केन्द्रीय सदस्य काजी गुरुङ र मजदुर संगठनका केन्द्रीय सदस्य टेक प्रधानको नाम उम्मेदवारको रुपमा टुंग्याएको छ ।
सिफारिसमा परेका नाम हेर्दा सो क्षेत्रबाट ‘जेल ब्रेकर’उपनामले चर्चित उमाको सम्भावना बढी देखिन्छ । उमासहितका कमला नहर्की, रीता थापा, एन्जिला बिक, सञ्जु अर्याल र मीना मरहट्टाले २०५७ साल चैत १७ गते सामान्य रडको प्रयोगले सुरुङ खनेर गोर्खा जेलबाट बाहिर आएका थिए । उमालाई तत्कालीन शाही नेपाली सेनाले २०५६ साल कात्तिक १३ गते पक्राउ गरेको थियो । विप्लवले माओवादीबाट विद्रोह गर्दा पूर्वसांसदसमेत रहेकी उमाले दह्रो साथ दिएकी थिइन् । उनी विप्लव नेतृत्वको माओवादी प्रतिबन्धित हुँदा पनि जेल परेकी नेतृ हुन् ।
गोरखाको क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कपिल भट्ट,नेता परशुराम भट्ट‘अजिव’ र गण्डकी गाउँपालिका इन्चार्ज विष्णु रिजाललाई सिफारिस गरिएको छ । अघिल्लो चुनावमा सो निर्वाचन क्षेत्रबाट ३३ हजार ४२८ मत ल्याउँदै कांग्रेसका राजेन्द्र बजगाइँ विजयी भएका थिए । १६ हजार ६४३ मतले आफ्ना प्रतिद्वन्द्वी एमालेका रामशरण बस्नेतलाई पछि पार्दै उनी निर्वाचित हुँदा सघाउने चाहिँ माओवादी नै थियो । सो चुनावी क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाहाले ४ हजार ८९२ मत पाएका थिए ।





