बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लैंगिक हिंसा न्यूनिकरणमा बागलुङ नगरपालिका

लैंगिक हिंसा न्यूनिकरणमा बागलुङ नगरपालिका


  • राजु खड्का
  • पुष २९ २०८२, मंगलबार

संयुक्त राष्ट्रसंघीय घोषणापत्रमा महिला विरुद्धको हिंसा निर्मूल बारेमा भनिएको छ, महिलाविरुद्ध हिंसा भनेको पुरुष र महिला बीचको ऐतिहासिक रुपमा असमान शक्ति सम्बन्धको अभिव्यक्ति हो । महिलाविरुद्ध हिंसा एक महत्वपूर्ण सामाजिक विकृती हो । जहाँ महिलाहरुलाई अधीनस्थ स्थिती र असहज परिस्थितीमा बाँच्न बाध्य पारिन्छ ।

नेपालको संविधान २०७२ ले शारीरिक, मानसिक तथा महिलाविरुद्ध हुने कुनै पनि प्रकारको हिंसाजन्य कार्यलाई निषेध गरेको छ । धारा ३८ मा प्रत्येक महिलालाई लैंगिक भेदभाव बिना समान वंशीय हक हुनेछ । सोही धारामा भनिएको छ – महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।

कुनै पनि व्यक्तिलाई महिला, पुरुष वा लैङ्गिक तथा यौनिक अल्पसंख्यक भएकै कारणले गरिने शारीरिक, मानसिक वा यौनिक अल्पसंख्यक भएकै कारणले गरिने शारीरिक, मानसिक वा यौनिक रूपले दिइने पीडा वा गरिने काम र व्यवहारहरू नै लैङ्गिक हिंसा हो । लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७१ अनुसार ‘लैङ्गिक हिंसा’ भन्नाले सार्वजनिक वा निजी जीवनमा लैङ्गिक आधारमा कसैप्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पु¥याउने कार्य सम्झनु पर्छ र सो शब्दले लैङ्गिक आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दबाब, करकाप वा स्वेच्छाचारी रूपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समेतलाई जनाउँछ ।

हिंसाले हिंसा प्रभावितको व्यक्तित्व विकास र प्रगतीसंगै घरपरिवार र समुदायमा सामाजिक, आर्थिक, राजनैतिक विकासमा समेत गहिरो प्रभाव पर्ने गर्दछ । जन्मपूर्व यौन छनौट, भ्रुण हत्या, प्रसूति हिंसा, प्रजननमा जबरजस्ती, जबरजस्ती करणी, यौन उत्पीडन, एसिड आक्रमण, बलात्कार, हत्या, अपहरण, बालविवाह, बहुबिवाह, जबरजस्ती विवाह, दाइजो जस्ता हिंसाका प्रकारले समाजमा ठूलो प्रभाव पारेको छ ।

तर, समाजमा लैंगिक हिंसा खासमा घट्न सकेको देखिदैन । न्यून रुपमा भएका प्रगतीले परम्परादेखि रहेको मान्यता र अपराधलाई हटाउन हम्मेहम्मे परेको छ । लैंगिक हिंसाको विषयमा महत्व दिएर बैठक, छलफल, कार्यक्रम र योजना जे भने पनि परिणाम कमै प्राप्त भएको छ । औपचारिकताका लागि कार्यक्रम हुने गरेका त छन् । तर सरकार, समुदाय र अन्य सरोकारवाला वीचको समन्वय, निरन्तरको सक्रियता, सहभागिता र लगानीका वीचमा ठोस योजना जरुरी देखिन्छ ।

पछिल्लो समय लैंगिक हिंसाको रुपमा नयाँ प्राकृतिक हिंस्रक घटना पनि देखिन थालेका छन् । मुख्यतः प्रविधिको गलत प्रयोग वा असाबधानीका कारणले हिंसाको घटनामा बृद्धि भैरहेको छ । यसै घटनासंग मिल्ने गरी यो वर्ष लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको नारा प्रविधिको सही प्रयोग गरौं, लैंगिक हिंसा अन्त गरौं रहेको छ । हामीले दैनिक प्रयोग गर्ने सामाजिक सन्जाल फेसबुक, टिकटक, इन्स्टाग्राम, स्यापच्याट लगायतका माध्यममार्फत लैङ्गिक हिंसा हुने गरेका धेरै उदाहरण छन् । यस्ता प्राविधिक प्लेटफर्ममार्फत हिंसा भइरहेको छ । । प्रविधिको प्रयोगबाट हामीले हाम्रो काम सजिलोसँग सम्पन्न गर्न सक्दछौँ, यसको सही प्रयोग गर्नु नै हिंसाबाट बच्नु हो ।

समाचारहरुमा आए जस्तै नेपालमा महिलामाथि हुने डिजिटल हिंसा क्रमिक रुपमा बढिरहेको छ । यसै क्रममा श्रीमान र श्रीमती तथा प्रेमीप्रेमिका बीचमा हुने हिंसा डरलाग्दो छ ।

शान्ति, विकास र समुन्नतिमा हिंसा ठूलो बाधक बनिरहेको कुरालाई सामान्य मान्न हुदैन । बुझ्नु पर्ने विषय विकसित मुलुकहरुमा स्वतन्त्रता वा स्च्छन्दता र स्वाबलम्बनको बहानामा महिलामाथि हिंसा भैरहेको छ । यसैगरी अविकसित र विकोसन्मुख मुलुकहरुमा आफ्ना परम्परागत मूल्य र मान्यताका कारणले हिंसाको सिकार महिला परिरहेका छन् । त्यस कारण हिंसाले धनी र गरिब सबैलाई प्रभाव पारिरहेकै छ ।

लैंगिक हिंसा न्यूनिकरणका लागि बागलुङ नगरपालिकाले हिंसा प्रभावितहरुको सेवा केन्द्रमार्फत नियमित कामहरुका अतिरिक्त विभिन्न प्रयासहरु गरिरहेको छ । सेवा केन्द्रमार्फत अल्पकालिन सेवा केन्द्र प्रभावकारी रुपमा संचालन गरिएको छ । सेवा केन्द्र व्यवस्थापन र संचालनका लागि आन्तरिक रुपमा पनि बजेटको प्रबन्ध मिलाइएको छ ।

लैंगिक हिंसा न्यूनिकरणका लागि धौलागिरी अस्पतालमा रहेको एकद्धार संकट व्यवस्थापन केन्द्र तथा जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका शाखासंग नियमित रुपमा समन्वय गरी विभिन्न कार्यक्रमहरु संचालन गरिएको छ । हिंसा न्यूनिकरण र हिंसा प्रभावितहरुलाई सेवा केन्द्रको सिधा सम्पर्कमा ल्याउनका लागि मनोसामाजिक परामर्शकर्ता तालिम संचालन गरी २० जना मनोसामाजिक परामर्शकर्ताहरु तयार गरी समुदायमा क्रियाशिल बनाइएको छ । प्रभावितहरुलाई काउन्सिलिङ गर्ने कार्य पनि प्रारम्भ भैसकेको छ ।
बागलुङ नगरपालिकाका १४ वटै वडाहरुमा दलित महिला सदस्यको संयोजकत्वमा हिंसा न्यूनिकरणका लागि वडास्तरिय निगरानी समितिहरु गठन गरिएको छ । समितिमा वडा अध्यक्ष सल्लाहकार, वडा सदस्यहरु सदस्य रहनुभएको छ । टोल विकास संस्था, सहकारी संचालक, बाल क्लब, मेलमिलापकर्ता, स्वास्थ्य स्वंयमसेवीका, स्वास्थ्य चौकी इन्चार्ज आदि सदस्य हुनुहुन्छ । वडा सचिवलाई सचिवको जिम्मेवारी रहेको छ ।

नगरपालिका भित्रका सम्पुर्ण विद्यालयहरुमा रहेका लैंगिक सम्पर्क शिक्षकहरुलाई अभिमुखिकरण तालिममार्फत लैंगिक हिंसा न्यूनिकरणका लागि सक्रिय बनाउने नीति लिइएको छ । यसैगरी सामुदायिक स्वास्थ्य स्वयम्सेविकाहरुलाई पनि आवश्यक तालिम संचालन गरी लैंगिक हिंसा न्यूनिकरणको अभियानमा सहभागि गराउने उद्धेश्य लिइएको छ । टोल विकास संस्था, आमा तथा महिला समूह, स्थानीय क्लबहरुलाई पनि स्थानीयस्तरमा आर्थिक विकास, उत्पादन, रोजगार, शिप तथा व्यवसायीक तालिम संचालनमा अभिप्रेरित गरिने छ । समुदायमा न्यायिक समितिमार्फत कानुनी सचेतनाका कार्यक्रमलाई पनि नियमिति संचालन गरी लैंगिक हिंसा न्यूनिकरण गर्ने नीति लिइएको छ । बागलुङ जिल्लाका सवै पालिकाको साझेदारीमा थप जनशक्ति, श्रोत साधन परिचालन गरी सेवा केन्द्रलाई १० वटै पालिकामा सहज पहुंच पुग्ने गरी कार्य संचालनको लागि पहल भैरहेको छ ।

आ.व. ०८२÷८३ को पहिलो चौमासिक समयमा २१ जना हिंसा प्रभावितहरुलाई सेवा दिइएको छ । यो समयमा बागलुङ नगरपालिकाका १० जना, जैमिनी नगरपालिकाका २ जना, गल्कोट नगरपालिकाबाट १ जना, तमानखोला गाउँपालिकाबाट १ जना, काठेखोला गाउँपालिकाबाट ३ जना तथा जिल्ला बाहिरका २ जनाालाई सेवा दिइएको थियो । तीमध्ये २० जनालाई आश्रय सेवा, २ जनालाई लुगा कपडा, २ जनालाई मुद्धा दर्ता र तारेखमा सहजीकरण गरिएको थियो । हिंसाको प्रकृति हेर्दा १ जना बेवारिसे फेला परेका थिए भने मानसिक ५ जना, आर्थिक हिंसामा १ जना, यौनजन्यमा ६ जना तथा घरेलु हिंसामा ८ जना रहनुभएको थियो । यीमध्ये १३ जना सोझै सेवा केन्द्रमा आउनुभएको थियो । जिल्ला प्रहरी कार्यालयबाट ६ जना तथा वडा कार्यालयबाट २ जना आउनुभएको थियो ।

यसैगरी आ.व. २०८१÷८२ मा सेवा केन्द्रमा जम्मा ७२ निवेदनहरु दर्ता भएका थिए । जसमा ९ वटा शारीरिक, १३ वटा मानसिक, ८ वटा आर्थिक, १० वटा यौनजन्य तथा ३३ अन्य रहेका थिए । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेकै बेला ३ वटा गम्भिर प्रकृतिका घटना घटेका छन् । यि घटनालाई सेवा केन्द्रले सहजिकरण गरिरहेको छ । लैंगिक हिंसा न्यूनिकरणका लागि सबैभन्दा पहिला कानुन कार्यान्वयन र हामी सबैको मानसिकतामा आमूल परिवर्तन जरुरी छ । हाम्रो परम्परागत मूल्य, मान्यता, सोच र शैलीमा साँच्चैको परिवर्तन गर्नै पर्छ । घरपरिवार र समुदायमा आपसमा निगरानी र विद्यालयहरुमा पनि असल शिक्षा जरुरी छ । संघीय, प्रदेश, स्थानीय सरकार तथा गैर सरकारी निकायमा महिलामैत्री नीति तथा कार्यक्रम र योजनासंगैको व्यवहारमा उचित ध्यान दिन जरुरी छ । समुदायमा विशेषगरी महिलाहरुका लागि आर्थिक विकास, रोजगारी, शिपमुलक कार्यक्रममा जोड्न जरुरी देखिन्छ ।
(लेखक खड्का बागलुङ नगरपालिकाका नगर उपप्रमुख हुन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->