मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

दोहोरिनेमा ‘वैरागी’ मात्र, ,६ जना स्वतन्त्र र बाँकी दलका

दोहोरिनेमा ‘वैरागी’ मात्र, ,६ जना स्वतन्त्र र बाँकी दलका


  • ढोरपाटन संवाददाता
  • माघ ७ २०८२, बुधबार

पोखरा/आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३ वटा निर्वाचन क्षेत्रमा ५ महिलासहित कुल ४९ जना उम्मेदवारी दर्ता गरेका छन् ।

क्षेत्र नम्बर १ मा उज्यालो नेपाल पार्टीको तर्फबाट मनिषा द्वा उम्मेदवार बन्दा नेपाल मजदुर किसान पार्टीकी अमिता अवाललाई उम्मेदवार बनाएको छ । क्षेत्र नम्बर ३ मा ३ महिला उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले विना गुरुङलाई उम्मेदवार बनाएको छ भने उज्यालो तीर्थ गुरुङले नेसनल रिपब्लिक पार्टी र मीना निन्सितुले मजदुर किसान पार्टीको प्रतिनिधित्व गरेकी छन् ।

कास्कीको क्षेत्र नम्बर १ र २ मा १७÷१७ र क्षेत्र नम्बर ३ मा १५ जनाले उम्मेदवारी पेश गरेका निर्वाचन अधिकृतको कार्यालय कास्कीले जानकारी दिएको छ । निर्वाचन अधिकृतको कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार कास्की क्षेत्र नम्बर १ मा एकजना स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी विभिन्न दलबाट उम्मेदवारी दिएका हुन् ।

२०७९ को प्रतिनिधिसभामा कास्की ३ बाट निर्वाचित दामोदर वैरागी पौडेलले कार्यकाल पूरा गर्न पाएनन । आफ्नै पार्टी सत्तामा रहेका बेलामा भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले पार्टीलाई सत्ताबाट हटायो भने वैरागीलाई संसदबाट । संसद विघटन भएर फागुन २१ मा प्रतिनिधिसभा निर्वाचनको मिति तय भएको छ ।

यही निर्वाचनमा कास्की ३ बाट एमालेले उनलाई नै अगाडि सारेको छ ।तर, उनमा पुरानो प्रतिनिधिसभाको धङधङी भने हटेको छैन । उम्मेदवारी दर्तापछि उनले दिएको अभिव्यक्तिले त्यसलाई पुष्टि गर्छ ।

‘२०७९ मा निर्वाचित भइसकेपछि यो निर्वाचन क्षेत्रमा हामीले सुरु गरेका सडकहरु, पुलहरु, भवनहरु र विभिन्न भौतिक पूर्वाधार, मानवीय विकाससँग सम्बन्धित धेरै कामहरु, कतिपय कामहरु हामीले पूरा गरेका छौँ, कतिपय अधुरा छन । यो वर्षको आधाभन्दा बढी बजेट चलायमान हुन पाएको छैन । ती अधुरा कामहरु पूरा गर्नको लागि नै म नेकपा एमालेको तर्फबाट उमेदवार बनेको छु ।’वैरागीमात्र यस्ता उम्मेदवार हुन, जो कास्कीका तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा दोहोरिएका छन् ।

निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. का अनुसार यहाँ १७ जनाले उम्मेदवारी दर्ता गरेका छन । यी मध्ये एकजना स्वतन्त्र उम्मेदवार हुन भने बाँकी १६ जना दलका उम्मेदवार हुन् ।

हुन त, २०६४ सालमा कास्की २ बाट संविधान सभा सदस्य निर्वाचित नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य राजकाजी गुरूङ ‘करण’ यसपालि कास्की १ बाट उम्मेदवार बनेका छन । तर, उनी प्रतिनिधिसभामा पहिलोपटक टिकट पाएका हुन् । उनीहरूबाहेक बाँकी सबै जना नयाँ उम्मेदवार छन् ।

नेपाली कांग्रेसले कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा नयाँ उम्मेदवार उठाएको छ ।

कांग्रेसबाट कास्की १ मा तिलकबहादुर रानाभाट, कास्की– २ मा माधव बास्तोला ‘मधु’ र कास्की ३ मा मनोज गुरूङलाई उम्मेदवार बनाएको छ । उनीहरु यसअघिका कुनै पनि चुनावमा अवसर नपाएका उम्मेदवारहरु हुन् ।नेकपा एमालेबाट कास्की १ मा उम्मेदवार बनेका बैनबहादुर क्षेत्री अधिकारी पार्टीका जिल्ला अध्यक्ष हुन् ।

यसअघि २०७४ को स्थानीय निर्वाचनमा जिल्ला समन्वय समिति कास्कीको प्रमुख निर्वाचित भएका क्षेत्रीले प्रतिनिधि सभामा भने पहिलो पटक अवसर पाएका हुन् ।

एमालेले कास्की २ मा युवा नेता रश्मी आचार्यलाई टिकट दिएको छ । पहिलोपटक आचार्यले चुनाव लड्न टिकट पाएका हुन । एमालेले रश्मिको ठाउँमा कृष्ण थापालाई टिकट दिएको थियो । तर, पटकपटक अवसर पाएको नेतालाई अगाडि बढाएको भनेर थापाको चौतर्फी विरोध भएपछि रश्मि उम्मेदवार बनेका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीले कास्की १ मा केन्द्रीय सदस्य राजकाजी गुरूङ ‘करण’ कास्की २ मा किरण थापा र कास्की ३ मा गोपाल गिरी उम्मेदवार बनेका छन् । गिरीअघि नेकपाले प्रेम पौडेललाई उमेदवार बनाएको थियो । तर, पारिवारिक कारणले गर्दा पौडेल उमेदवार नबन्ने भनेपछि गिरी उम्मेदवार बनेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की १ मा लेखक खडकराज पौडेल ‘गनेस’, कास्की २ मा पूर्वपत्रकार उत्तम पौडेल र कास्की ३ मा व्यवसायी बिना गुरूङलाई उम्मेदवार उठाएको छ । यी तीनैजना नयाँ हुन् ।

लेखक गनेस २०७९ को स्थानीय तह निर्वाचनमा पोखरा महानगरका मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । अटेरी अभियान चलाएका गनेसले त्यतिबेला लौरो चुनाव चिह्न लिएर मेयर लडे पनि निर्वाचित हुन सकेका थिएनन् ।

उज्यालो नेपाल पार्टीले पनि कास्कीका तीनवटै क्षेत्रमा उम्मेदवारी दिएको छ । कास्की १ खगोल वैज्ञानिक मनिषा द्वा, कास्की २ मा उर्जाविद कुशल गुरूङ र कास्की ३ मा तर्कबहादुर गुरूङलाई उम्मेदवार उठाएको छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले कास्की १ मा बाबुराम थापा, कास्की २ मा केन्द्रीय उपाध्यक्ष हेमजंग गुरूङ र कास्की ३ मा केन्द्रीय सदस्य अर्जुन खनाललाई उम्मेदवार बनाएको छ । लमजुङबाट सँधै हारेका गुरुङ अहिले कास्की आएका हुन् ।

उनी कास्की आउनुमा यहीँका कार्यकर्ताले गरेको ब्रिफिङ थियो । स्रोतका अनुसार हेमजंग कास्की आएको बेलामा राप्रपाका नेताले जित्न सकिने ब्रिफिङ गरेका थिए । तर, त्यो ब्रिफिङ गरेकै कारण कास्कीबाट आकांक्षी नेताको ठाउँमा गुरुङ आफै आएका हुन ।

कास्कीका तीन वटै निर्वाचन क्षेत्रमा धरानका पूर्वमेयर हर्क साम्पाङले खोलेको श्रम संस्कृति पार्टी, राष्ट्रिय जनमोर्चा, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेकपा माओवादी, मंगोल नेसनल अर्गनाइजेसन, नेपाल मानवतावादी पार्टीलगायतले पनि उम्मेदवार उठाएको छ ।

कास्कीका तीनवटा निर्वाचन क्षेत्रमध्ये २ वटा निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी पनि परेको छ ।

निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रूद्र न्यौपानेका अनुसार कास्की २ मा विष्णुप्रसाद तिवारी, रामचन्द्र आचार्य, निरञ्जन कोइराला, निर्दोषविक्रम पौडेल र वसन्तराज घिमिरेले स्वतन्त्र उम्मेदवारी दिएका छन । कास्की १ मा कृष्णबहादुर राउतले मात्र स्वतन्त्र उम्मेदवारी दिएका छन् । अब बुधबार उम्मेदवार विरोधमा उजुरी दिने, बिहीबार मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गर्ने, शुक्रबार उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारी फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->