बागलुङ/श्रीपञ्चमीको दिन माघ ९ गते शुक्रबारदेखि माघ १२ गतेसम्म चौथो संस्करणको चिल्ड्रेन लाइफ कप फुटबल प्रतियोगिता हुने भएको छ । क्लबले पत्रकार सम्मेलन गरेर बिहिबार उक्त जानकारी गराएको हो ।
विगत चार वर्षदेखि क्लबले विद्यालय स्तरीय छात्र फुटबल प्रतियोगिता गर्दै आएको छ । चिल्ड्रेन लाइफ स्पोट्र्स क्लबले आयोजना गर्ने चौथो संस्करणमा बागलुङ नगरपालिका भित्रका १२ वटा विद्यालयले भाग लिने क्लबका अध्यक्ष तथा चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलका प्रिन्सिपल नवराज श्रेष्ठले जानकारी दिए ।
यो विद्यालयमा पढेका तथा विभिन्न रुपमा जोडिएका व्यक्तिले क्लबका गतिविधि साथ दिंदै आएका छन् । पत्रकार सम्मेलन बोल्दै अध्यक्ष श्रेष्ठले फुटबललाई ब्राण्डकै रुपमा अगाडि सारिएको जानकारी दिए । झण्डै ५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताका लागि ग्रेस इन्टरनेसनलसहित भूपु विद्यार्थीहरुको पनि सहयोग जुट्ने छ ।
प्रतियोगिताको उद्घाटन र समापनमा जिल्ला फुटबल संघसहित प्रदेश र संघका पदाधिकारीको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५ सय ५५ र द्वितिय हुनेले ३३ हजार ३ सय ३३ रुपैयाँ नगद पुरस्कार, ट्रफी र मेडल पाउने प्राप्त गर्ने खेलका संयोजक जीवन रोका क्षेत्रीले जानकारी दिए ।
संयोजक रोकाका अनुसार, खेलमा सेमीफाइनल यात्रा गर्नेले १० हजार रुपैयाँको दरले यातायात खर्च पनि पाउने छन् । खेलका विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई सम्मान गरिने पत्रकार सम्मेलनमा श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेलन श्रेष्ठको अध्यक्षता र शिक्षक सुरेश सुनारको संचालनमा सम्पन्न भएको थियो ।





