पोखरा/ पोखराको लेकसाइडस्थित पोखरा भिलेज रिसोर्टले टुँडिखेलस्थित राष्ट्रिय उच्च माविका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ । जाडो मौसममा न्यानो लुगाको अभाव झेलिरहेका विद्यार्थीहरूलाई लक्ष्य गर्दै विद्यालयमा शुक्रबार आयोजित कार्यक्रमका बीच रिसोर्टले न्यानो कपडा हस्तान्तरण गरेको हो ।
रिसोर्टको आर्थिक सहयोग र दियालो नेपाल फाउन्डेसनको समन्वयमा उक्त कपडा वितरण गरिएको हो । विद्यालयमा गठित ‘जुनियर रेडक्रस सर्कल’ मार्फत कक्षा १ देखि ९ सम्म अध्ययनरत ५० जना विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको फाउन्डेसनका रमेश भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार आर्थिक अवस्था कमजोर भएका कारण जाडोमा न्यानो लुगा लगाउनबाट वञ्चित भएका विद्यार्थीहरूको पहिचान गरी सहयोग गरिएको हो ।
सहयोग प्रदान गर्दै पोखरा भिलेज रिसोर्टका सञ्चालक हरि शर्मा गैरेले व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूलाई सहयोग गरिएको बताए । उनले व्यवसायसँगै समाजसेवामा पनि जोडिने उद्देश्यले रिसोर्टले यस्ता कार्यहरूमा सहकार्य गर्दै आएको धारणा राखे । न्यानो कपडा पाएपछि विद्यार्थी तथा अभिभावकहरूले खुसी व्यक्त गरेका थिए ।





