बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल सम्मानित

रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल सम्मानित


  • ढोरपाटन संवाददाता
  • माघ ९ २०८२, शुक्रबार

पोखरा /राष्ट्रिय समाचार समितिका गण्डकी प्रदेश कार्यालय प्रमुख वासुदेव पौडेल सम्मानित भएका छन्। कास्कीस्थित गण्डकी प्रदेशकै प्राचीन विद्यालय संस्कृत माध्यमिक विद्यालयको १२५ औँ अभिभावक दिवसका अवसरमा पौडेललाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको हो।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले पौडेललाई संयुक्त रूपमा सम्मान गरे। पत्रकारिताका माध्यमबाट संस्कारसहितको शिक्षा, समाज, संस्कृति र जनसरोकारका विषयमा निर्भीक र निष्पक्ष रूपमा कलम चलाउँदै चेतनशील समाज निर्माणमा योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गरिएको हो।

विसं १९५८ मा स्थापना भएको यस विद्यालयको कार्यक्रममा पौडेलसँगै पूर्वप्रधानाध्यापक दामोदर बास्तोला र पूर्वकार्यालय सहयोगी सूर्यबहादुर घर्तीलाई पनि सम्मान गरिएको थियो। सो अवसरमा निर्देशक आचार्यले गण्डकी प्रदेशको ऐतिहासिक यस विद्यालयले पछिल्ला वर्षमा शैक्षिक गुणस्तर बढाउँदै लगेको चर्चा गरे। उनले यस विद्यालयलाई महत्त्वपूर्ण शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले भौतिक विकाससँगै शैक्षिक गुणस्तरका लागि निरन्तर प्रयास भइरहेको बताए। उनले कक्षा ११ र १२ का कक्षा सञ्चालन भइरहेको जानकारी दिँदै यसको दिगो सञ्चालनका लागि दरबन्दी व्यवस्थापन जरुरी रहेको धारणा राखे।

कार्यक्रममा पोखरा महानगरपालिका–१ का कार्यवाहक अध्यक्ष जुमकाजी गुरुङ, प्रधानाध्यापक श्रीकृष्ण सिग्देल, सहायक प्रधानाध्यापक कलादेवी बराल र माध्यमिक तहका इन्चार्ज श्रीकान्त सापकोटाले विद्यालयले पुर्‍याएको योगदानका बारेमा बोलेका थिए। त्यसैगरी सम्मानित व्यक्तित्वहरू दामोदर बास्तोला र वासुदेव पौडेलले यस क्षेत्रको संस्कृत शिक्षासँगै समग्र शिक्षाका क्षेत्रमा विद्यालयले खेलेको भूमिकाको चर्चा गरे। सवा शताब्दी लामो इतिहास बोकेको यस विद्यालयले आगामी दिनमा आफ्नो शैक्षिक स्तरलाई अझ उचाइमा पुर्‍याउने लक्ष्य राखेको छ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->