पोखरा/गण्डकीका ९ वटा सहकारी खारेजीमा परेका छन् । सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले कारोबार नगरेका सहकारीलाई खारेज गरेको हो । गण्डकीका सहकारी रजिष्ट्रार कार्यालयले शुक्रबार जारी गरेको सूचना अनुसार २ वर्षदेखि कारोबार नै नगरेका स्याङ्जाका ४, पर्वतका ४ र नवलपुरको एउटा सहकारी खारेज भएका हुन् ।
सहकारी रजिष्ट्रार भेषराज रिजालका अनुसार स्याङ्जाको वालिङ नगरपालिकास्थित टापु भञ्ज्याङ कृषि सहकारी संस्था लिमिटेड, सोही पालिकाको कटौजे अदुवा उत्पादक सहकारी संस्था लिमिटेड, चापाकोटा गाउँपालिकाको खड्क कालो कृषि सहकारी संस्था लिमिटेड, सोही पालिकाको सरोवर कृषि सहकारी संस्था लिमिटेड खारेजीमा परेका छन् ।
यस्तै पर्वतको कुश्मा नगरपालिकामा रहेको गहते पखरा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, प्रगति कफी सहकारी संस्था लिमिटेड, पूृर्णेश्वर कफी सहकारी संस्था लिमिटेड, पर्वत आदर्श नमूना कृषि सहकारी संस्था लिमिटेड तथा नवलपुरको हुप्सेकोट गाउँपालिकाको भूपू सैनिक सहमकारी संस्था लिमिटेड पनि खारेजीमा परेका छन् । सहकारी रजिष्ट्रार रिजालका अनुसार हालसम्म गण्डकी प्रदेश नियमन क्षेत्रात्रिकारमा रहेका ३५ वटा सहकारी संघ संस्थाको खारेजी गरेको छ ।





