बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विदेशीवादको हैन, पृथ्वीवाद र गोरखनाथको आशिर्वाद बोकौं

विदेशीवादको हैन, पृथ्वीवाद र गोरखनाथको आशिर्वाद बोकौं


  • काशीराम पौडेल
  • माघ १४ २०८२, बुधबार

बहुदलीय व्यवस्थाको जगमा टेकेर खुलेको अनेकौं पार्टी र तिनका नेताले देश र जनताको निम्ति भनिएर गरिएको व्यव्हार झुट, स्वार्थ कपटपूर्ण र विश्वासघातको जालोमा जकडिएको छ । चार अक्षरले बनेको शब्द राजनीति पुरातन संस्कृत शब्दको अर्थअनुसार राज्य र समाजलाई धर्म, न्याय र जनकल्याणको सतमार्गमा सञ्चालन गर्ने नीति र व्यवस्था हो । हाम्रो धार्मिक ग्रन्थ महाभारत हेर्दा रामराज्यको दृष्टान्त अनुसार राजनीति सेवा, त्याग, न्याय, समता र जनकल्याणको प्रत्यक्ष अभ्यास थियो े। ईसा पुर्व ४ औं शताब्दीमा लिखित कौटिल्यको अर्थशास्त्रले राजनीतिलाई आर्थिक उन्नति, प्रशासनिक चार्तुयता र राज्य, जनसुरक्षासँग जोड्ने मार्गदर्शन दिएको छ । स्कन्धपुराण (लगभग ५–७ शताब्दी) ले भौगोलिक दृष्टिकोण, राजधर्म, सामाजिक कर्तव्य, न्याय र पुण्यको मार्ग राज्यकर्ताले अपनाउनुपर्ने नीति नियम स्पष्ट रूपमा प्रस्तुत गरेको छ । यसरी हेर्दा पूर्वीय दर्शनले राजनीतिलाई सत्ता मात्र नभई राज्यको सीमाना, धर्म, जनताको रक्षक, न्यायपुर्ण शासनको आधारभूत सिद्धान्त मान्ने कुरा बडो तार्किक र जीवनपरक रूपमा देखाउँछ ।

हाम्रो पुर्विय दर्शनमा यति स्पष्ट व्यवहारिक राजनीतिक दर्शन हुँदाहुँदै पनि आजको नेपाली दल स्वार्थ, कुटनीतिक परनिर्भरता र विदेशीवादको फोहोरी प्रयोगशाला र भ्रष्टाचारले विछिप्त छ । साँच्चै नेता कार्यकर्ताले पूर्वीय दर्शनको अध्ययन गरेका हुन्थे भने, विश्वलाई राजनीतिक अपनत्व सिकाउने हाम्रो पुर्विय दर्शनलाई लत्यायर भ्याटिकन चर्च मिसनको एजेन्डा धर्मनिरपेक्षताको मुखौटा ओढेर जनताको आत्म सम्मानमा ठेस पुर्याउने काम कदापि हुन्थेन । समानता, आर्थिक विकास भौगोलिक दृस्ठिकोण, न्याय प्रणाली विदेशीले पढाएर आफ्नो मिशन नेपालमा लाद्न कदापि सक्थेन । हाम्रो इतिहास, धर्म संस्कृति भौगोलिक अखण्डता र जनशक्तिलाई नचिन्दाको परिणाम वैरीले राज्यको खोपी र ढुकुटीमा परेड खेल्दैछन् ।

प्राचीन धर्म ग्रन्थलाई अलिप पर राखेर पृथ्वीनारायण शाह (पौष २७–१७७९–माघ १–१८३१)को पृथ्वीपथको सिद्वान्तलाई नै आत्मसात गरेर अगाडि बढ्न कुन चेतनाको कमि भएको होला ? सायद वैरीको आशीर्वाद शिक्षा–दिक्षाले आफ्नै इतिहास, अभिभावक राष्ट्र र राष्ट्रियतालाई धिक्कार्ने राजनीतिको जगमा उदाएको भएर पो हो कि मनमा अन्योल पैदा हुन्छ । सायद आयातित सिद्धान्तले देश जनको कल्याण नहुने देखेर पृथ्वीनारायणले “दुई ढुंगाबीचको तरुल” भन्दै विदेशी शक्तिप्रति सचेत रहन आदेश दिएका थिए । स्वदेशी उत्पादन र स्वाभिमानी कूटनीतिलाई राज्यनीतिको मेरुदण्ड बनाए । मठमन्दिर देवस्थलाई पूजाको थलो होइन आस्था र राष्ट्रिय चेतनाका केन्द्र माने । लामा, गुरु, सन्यासी, कुमारी कन्याहरूको आशीर्वादलाई धर्म, नीति र राष्ट्ररक्षाको संकल्पका लागि लिए ।

दरबारमा सीमित नबसी गाउँघर पुगेर जनताको सल्लाह सुन्ने र त्यसलाई राज्य सञ्चालनको नीति बनाउने चार्तुयता र दूरदर्शिताले नै विदेशीलाई झुकाएर, आजको नेपाल बनाए तब न हामीले नेपाली हुन पाएको छौं ।

आजका नेताहरू तिनै राष्ट्र नायकलाई बिर्सिएर वैरीको पाउमा पर्छन् । सायद नेताहरू जनताको विश्वास, राज्यको जगमा होइन विदेशी दूतावासको इशारामा चलेका छन् भन्दा अत्युक्ति हुँदैन । किनकी विदेशीवाद बोकेर विदेशीको आशिर्वाद थाप्ने नेताले नेपाली इतिहास, पुर्खाको विरासत गोर्खालीको बहादुरी, पुर्विय दर्शनको भाइचारा विश्व बन्धुत्व, पृथ्वीपथको दुरदर्शिता र महेन्द्रको कुटनैतिक विकास र ज्ञानेन्द्रको त्यागको पाठ होइन, विदेशी मिसन पढ्छन् । निःस्वार्थ सेवा होइन, सत्ताको सौदाबाजी गर्छन् ।

चुनावी माहोलमा वैदिक सनातन हिन्दु, बौद्ध, किराँतको आस्थाका स्थल देवालय, मठमन्दिर धाउँदै गेरु वष्त्र टीका, माला लगाएर भोट बैंकको रुपमा प्रयोग गर्ने र सत्ता पाएपछि ‘धर्म व्यक्तिको निजी विषय’ भन्दै धर्मान्तरणलाई संरक्षण गर्दै वैदिक सनातन धर्मलाई पन्छाउने गर्दै आएको हामीमाझ सर्वविदित नै छ । यो सब जान्दाजान्दै पनि वैदिक धर्मावलम्बीले तिनै धर्म निरपेक्षवादीलाई भोट दिएर जिताउने कायर र घृणित राजनीतिले देश र जनतालाई भड्खालोमा नपार्ला भन्न सकिदैन । नेपालको सन्दर्भमा विदेशीवाद (पश्चिमी मिसन) को सानो उदाहरणलाई हेर्दा चिनियाँ हङ सिउछवानको हाक्का (ताइपिङ) विद्रोहलाई लिंदा उपयुक्त हुन्छ । सन् १८५०–१८६४ सम्म चलेको यो विद्रोहले अनुमानित ३ करोड मानिसको ज्यान लियो । चिनका धार्मिक सांस्कृतिक धरोहरका ३० हजार मन्दिर तीर्थस्थल ध्वस्त भए । कन्फ्युसियन, बौद्ध र ताओ परम्परालाई योजनाबद्ध प्रहार गरियो । चीनको सामाजिक, धार्मिक सांस्कृतिक एकता दशकौँसम्म चकनाचुर पारियो ।

“पुरानो विश्वास नष्ट गर” भन्ने कट्टर पश्चिमी मिसनको वैचारिक दृष्टिकोणले प्राचीन चिनियाँ सभ्यतालाई ध्वस्त पारेको थियो । जब सिनमा सिजिङ्ग पिङ्गको उदय भयो, तब पश्चिमी वैचारिक उद्देश्यले ध्वस्त पारिएको धार्मिक सांस्कृतिक चिनियाँ एकतालाई आत्मसात गर्दै संरक्षण र सम्बद्र्धन गर्दै पश्चिमी मिसनलाई चिनभित्र निस्तेज पारेपछि नै चिनले आजको आर्थिक सामाजिक विकास गरेको हो । आज नेपालमा पनि पुराना कम्युनिस्ट कांग्रेससंगै नयाँ दलले पनि चिनको ताइपिङ विद्रोहको झल्को दिने पश्चिमी मिसनको धर्म–संस्कृति विरोधी पश्चिममा वाद बोकेको छन् । यिनीहरु धर्म निरपेक्षको जगमा टेकेर पुर्विय वैदिक सनातन आस्थाका मठमन्दिर, गुम्बा, देवालयसंगै नेपाली सांस्कृतिक सह–अस्तित्व, इतिहास पहिचानलाई ध्वस्त पार्न हरसम्भव मेहनत गर्दैछ । ठान्छ र वर्गसंघर्षको नारा लगाएर समाज विभाजित गर्छ । यस्तो राजनीतिले धार्मिक, सांस्कृतिक पहिचान नेपाली एकतालाई समुल नष्ट गर्न मलजल गर्दैछ ।

अब जनताले विदेशीवाद पश्चिममा मिसन हैन पृथ्वीपथ र राष्ट्रवाद बुझ्नैपर्छ । वेदव्यासको ज्ञानधारा, योगी नरहरिनाथको राष्ट्रचिन्तन र गुरु गोरखनाथको सनातन चेतना, बौद्धको विश्वशान्तिको ज्ञान, फाल्गुनन्दको आत्मशुद्धी, तागेरा निङ्वाफुमाको मुलमर्म नचिन्ने, पुर्विय दर्शनको धार्मिक सांस्कृतिक इतिहास नबुझ्ने नेतृत्वले नेपाल बुझ्नै सक्दैन । विश्वले धार्मिक, ऐतिहासिक तीर्थस्थलका रूपमा स्वीकार गरेका हाम्रा आस्थाका केन्द्रलाई राज्यनीतिको मूलधारमा राख्न नसक्नु वैचारिक दिवालियापन हो । अर्थात् वैरीको हितमा राष्ट्र र राष्ट्रियतालाई समुल रुपमा नष्ट गर्ने नीति हो ।

नेपाली भेषभूषा, भाषा, संस्कृति र इतिहासलाई राष्ट्रिय पहिचानको मुद्दा बनाउन छाडेर पाश्चात्य शैली, विदेशी भाषा र आयातित संस्कृतिको नक्कललाई आधुनिकता ठान्नेहरूले चुनाब जितेर सत्तामा पुगेपनि राष्ट्रहित हैन पश्चिमाकै हित गर्नेछन् । यी विदेशवाद, विदेशीको आशिर्वाद बोकेर एनजिओ, आइएनजिओको आदेशमा नेता बनेकाहरु राष्ट्रविस्मरणका संवाहक हुन् । अब आम नेपालीले वैरीका चेलाको भाषणमा बहकिने हैन । पुर्खाको विरासतलाई छातीमा राखेर विदेशी हस्तक्षेपलाई अस्वीकार गर्ने साहस बोक्नुपर्छ ।

नेपालीले साँच्चिकै नेपाली भएर जिउने हो भने सनातन पुर्विय धर्म–संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्न राज्यको नैतिक आधार बनाउन दृढता, अठोटको संकल्प लिनुपर्छ । विदेशीवाद बोकेका, एनजीओ, आइएनजीओको एजेण्डामा चलेका पार्टी र तिनका नेतालाई भोट बहिष्कारमार्फत दण्ड दिनु आजको यथार्थपरक देशभक्ति हो भनेर बुझ्नुपर्छ । अब चेतनाको बिर्को खोल्नैपर्छ । नत्र भावी सन्तति र इतिहासले धिक्कार्ने छ ।
जय मातृभुमि

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->