पोखरा/देशकै चौथो सानो जिल्ला र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पर्वतको राजनीतिक परिस्थिती ०७९ को भन्दा विपरित छ । ०७९ को जनादेशले पाँच वर्षको कार्यकाल पूरा गर्न सकेन । भदौ २२ र २३ को जेनजी आन्दोलनपछि बनेको सरकारले फागुन २१ गते चुनावको मिति तोकेको छ । त्यसकै लागि प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता भइसकेको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार फागुन २१ मा मतदान हुनेछ । त्यसको दुई दिनभित्रै मतपरिणाम आइसक्नेछ ।
परिवर्तित अवस्था भएतापनि ठूला भनिएका दल कांग्रेस एमालेका उमेदवार तेहेरिएका छन । यो क्रम ०७४ सालदेखि सुरु भएको हो । संविधानसभा निर्वाचनमा दुई क्षेत्र रहेको पर्वत संविधान जारी भइसकेपछि २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा एक क्षेत्रमात्र बन्न पुग्यो ।
कांग्रेसले २०५६ सालदेखिका अपराजित अनुभवी नेता अर्जुनप्रसाद जोशीलाई उम्मेदवार बनायो । त्यतिबेलाको शक्तिशाली बाम गठबन्धनबाट पदम गिरी पहिलोपटक प्रतिनिधिसभा सदस्य उम्मेदवार बने र जिते पनि ।
०७९ सम्म आइपुग्दा परिस्थिति बदलियो । त्यतिबेलाको बाम गठबन्धनको एक घटक कांग्रेससँग मिसिएर लोकतान्त्रिक बाम गठबन्धन बनेको थियो ।
प्रतिस्पर्धामा चाहिँ उनीहरु नै दोहोरिए, जोशी र गिरी । ०७४ मा अर्जुनप्रसाद जोशी एमाले माओवादी सहितको बाम गठबन्धनका उम्मेदवार पदम गिरीसँग १२ हजार ४५६ मतान्तरले पराजित भएका थिए ।
त्यसको बदला उनी २०७९ सालमा लिन चाहन्थे । तर, परिणाम उनको पक्षमा आएन ।
पदम गिरी २९ हजार ८७२ मत ल्याएर विजयी बने । अर्जुनप्रसाद जोशीले २७ हजार ६०९ मत मात्रै प्राप्त गरे ।
भर्खरै दल खोलेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जालबहादुर पुर्जा पुनले चार हजार १७३ मत ल्याए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर मल्लले एक हजार ३४ मत प्राप्त गरे ।
अहिलेको निर्वाचनमा धेरै कुरा फेरिएको छ । एउटा कुरामात्र समान के छ भने गिरी र जोशी प्रतिनिधीसभामा ह्याट्रिक भिडन्त भिड्दैछन । गिरीले जिते भने ह्याट्रिक हुन्छ । अर्जुनले जिते ह्याट्रिक हारबाट जोगिन्छन् ।
तर, मैदानमा अरु पनि खेलाडी छन् । रास्वपाका उम्मेदवारको पनि जित्ने दाबी छ । प्रचण्ड, माधव नेपाल मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको पनि जित्ने दाबी छ ।
अनुभवका हिसाबले कांग्रेसका जोशी पुराना खेलाडी हुन् । गिरी पनि मन्त्री भइसकेका व्यक्ति हुन । नेकपाबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिना सबैभन्दा कान्छा उम्मेदवार हुन् । प्रचण्डको सचिवालयमा लामो समय काम गरेका तिमिल्सिना बौद्धिक नेता मानिन्छन् । इजरायलमा श्रम गरेर फर्केपछि पोखरामा व्यवसाय गर्दै आइरहेका सागर भुसाललाई रास्वपाले अघि सारेको छ । हुन त, रास्वपाले सुरुमा डा. केशव भुर्तेललाई उम्मेदवार बनाएको थियो । तर, उनको विरोध रास्वपा पंक्तिबाटै भएपछि भुर्तेल ब्याक भएका हुन् ।
२०५६, २०६४ र २०७० मा लगातार जीतको ह्याट्रिकपछि अर्जुनप्रसाद जोशी अहिले हारको ह्याट्रिकबाट जोगिन चाहन्छन् ।
२६ वर्षदेखि लगातार एउटै उम्मेदवार भनेर उनको आलोचना पनि नभएको होइन । तर, जोशीको हकमा उनले तीनपटक समूह परिवर्तन गरे । तीनैपटक संस्थापन बने । कोइराला खेमामा रहेका जोशी कांग्रेसको १३ औँ महाधिवेशनमा गुट परिवर्तन गर्दै शेरबहादुर देउवा समूहमा लागे । उक्त निर्वाचनमा देउवा नै सभापति बने । १४ औँ महाधिवेशनमा देउवा समूहबाट उनी कांग्रेस गण्डकी प्रदेश सभापतिमा प्रतिस्पर्धा गरे । तर, जित्न सकेनन । देउवाले उनलाई केन्द्रीय सदस्य मनोनित गरे । संसदीयदेखि पार्टी चुनावमा गरि यो उनको तेश्रो हार थियो ।
तर, जेनजी आन्दोलनपछि उनी चुनावअघि विशेष महाधिवेशन हुनुपर्छ भन्ने देउवा समूहका २५ केन्द्रिय सदस्यमा सामेल भए । जोशी नै विशेष महाधिवेशन पक्षमा लागेपछि पर्वतका बहुमत महाधिवेशन प्रतिनिधि त्यतै लागे । पहिला देउवा समूहमा नै रहेका नवराज गुरुङ, राम शर्मा, यामबहादुर मल्ल लगायतका नेताहरु पनि विशेषको विपक्षमा थिए । जोशी चाहिँ पुस २७ मा विशेष महाधिवेशनमा उद्घाटनको दिन भृकुटीमण्डप नै पुगे । पुस मसान्तको मध्यरातमा नयाँ समिति घोषणा हुँदा जोशी केन्द्रीय सदस्यमा अटाए । उनी तेश्रोपटक संस्थापन बन्न पुगे ।
त्यसको ६ दिनपछि कांग्रेसबाट प्रतिनिधिसभाको उम्मेदवार नै बने ।
साविक धौलागिरी क्षेत्र कुनैबेला एमालेभित्र माधव नेपाल पक्षको पकड क्षेत्र थियो । सातौँ महाधिवेशनमा त्यसलाई चिर्दै ओली समूहबाट जिल्ला अध्यक्ष बनेका हुन, पदम गिरी । हुनत, त्यो निर्वाचन उद्घाटन गर्न माधव नेपाल आइसकेको भएतापनि अन्तिम समयमा चुनाव सारिएको थियो । ओली पक्षका नेताहरु विकास लम्साललगायतको समर्थनमा पदम गिरी एमाले पर्वतको अध्यक्षमा निर्वाचित भए ।
त्यसपछि उनी पछाडि फर्केर हेर्नुपरेको छैन । बरु जिल्लामा उनको एकछत्र राज छ । अहिले गिरीलाई जसले सहयोग ग¥यो, उसैलाई सिध्याएको आरोप लाग्छ ।
तर, एमालेभित्र भने उनले शक्ति बढाउँदै गएका छन् । पहिलो प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका गिरी दोश्रोपटक निर्वाचन जित्दा प्रमुख सचेतक बने । पर्वतबाट फुलमन्त्री बन्ने इतिहास पनि पनि उनकै बन्यो । स्वास्थ्यमन्त्रीदेखि कानूनमन्त्री सम्म बने । एमालेको हालै सम्पन्न महाधिवेशनबाट केन्द्रिय सदस्य बनेका गिरीलाई एमालेले तेश्रोपटक विश्वास गर्दै उम्मेदवार बनाएको छ ।
निर्वाचन आयोगको वेवसाइट अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेका मनहरि तिमिल्सिना ४१ वर्षका छन् । पर्वतका १७ उम्मेदवारमध्ये उनी सबैभन्दा कान्छा हुन् । माओवादी पृष्ठभूमि भएतापनि अहिले उक्त पार्टी नेकपा बनेको छ ।
पूर्वपत्रकार समेत रहेको तिमिल्सिना २०५८ देखि २०७२ सम्म पोखरामा रहेर विभिन्न मिडियामा काम गरेका थिए ।
संविधान जारी भएपछि भने उनी पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा छिरे । २०७२÷२०७३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक बने । त्यसपछि उनी सचिवालयमा नै विभिन्न भूमिकामा रहेर काम गरे । त्यहाँ रहँदा उनले आफ्नो अध्ययनलाई निरन्तरता दिए । पुस्तक लेखे । जनताको जनवादका आधारहरू, कम्युनिस्ट स्कुल, समाजवादी क्रान्तिको कार्यदिशा, समाजवाद ः सिद्धान्त र प्रयोग, पार्टी स्कुल लगायतका पुस्तकमा उनले कलम चलाएका छन ।
उनै कम्युनिष्ट सिद्धान्तका अध्येता तिमिल्सिनालाई नेकपाले अगाडि सारेको छ ।
कांग्रेसको भातृ संगठन तरुण दलको राजनीति गरेर रास्वपा प्रवेश गरेका सागर भुसाल अर्का उम्मेदवार हुन । अध्ययनको सिलसिलामा इजरायल पुगेका भुसाल ०७२ को भूकम्पपछि जिल्ला फर्किएका थिए ।त्यहाँको अनुभवका आधारमा उनले पर्यटन र उद्योग क्षेत्र लगानी गरे ।
पुरानै पार्टीबाट राजनीतिक यात्रा थालेका भुसाल पुराना दलका बेथिति, भ्रष्टाचार र मनोमानीले देश अघि बढ्न नसक्ने निष्कर्षमा पुगेपछि रास्वपामा लागेको बताउने उनले सामाजिक न्याय, सुशासन र समुन्नत समाज निर्माणका लागि भ्रष्टाचार र बेथितिलाई जरैदेखि उन्मूलन गर्ने अठोटका साथ मैदानमा उत्रिएका छन् ।
पर्वतको राजनीतिमा यिनै चारदल बिच प्रतिस्पर्धा हुँदैछ । यसअघिका निर्वाचनमा गिरी कि जोशी भन्ने भाष्य अहिले बदलिएको छ । यहाँ नेकपा पनि छ, रास्वपा पनि छ ।
तर, पर्वतको राजनीतिक संस्कार भने अनुकरण गर्न लायककै छ ।
मनोनयनकै दिन सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल बनेको थियो ।
अर्जुनप्रसाद जोशीले उम्मेदवारी दर्ता गराइसकेपछि नजिकैको चौतारीमा कोणसभा गरिरहेका थिए ।
त्यही बीचमा ‘खै ? अर्जुन दाइ खै त ?’ भन्दै पुगे नेकपा (एमाले) का केन्द्रीय सदस्य पदम गिरी ।
एउटा दलको उम्मेदवारले मनोनयन दर्ता गरेपछि आफ्ना कार्यकर्ताहरूलाई सम्बोधन गरिरहेको बेलामा अर्को राजनीतिक दलका नेता पुग्दा ‘कतै राजनीतिक प्रतिशोधले नराम्रो पो हुने हो कि ?’ भन्ने लागेको थियो ।
कांग्रेसका कार्यकर्ताहरूको बीचमा रहेका अर्जुनप्रसाद जोशीलाई खोज्दै एमालेका नेता तथा कार्यकर्ताहरू पुग्दा दुवै पक्षका नेता तथा कार्यकर्ताहरू भने केही बेर अलमलमा परे ।
राजनीतिक रूपमा कडा प्रतिस्पर्धीको रूपमा उदाएका जिल्लाका प्रभावशाली नेताहरू त्यो पनि निर्वाचनको मुखैमा एकै ठाउँमा भेटिँदा कार्यकर्ताको मन त चिसो भइहाल्ने भयो । तर, यी दुई नेताले देखाएको राजनीतिक संस्कारले पनि केही बेरमा नै दुवै पार्टीका नेता तथा कार्यकर्ताहरूमा मुस्कान सञ्चार भयो । उनीहरुले अँगालो मारे । टाउको जोडेर तस्वीर खिचाए ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा पर्वतबाट एमालेले सबैभन्दा धेरै २५ हजार ३१४ समानुपातिक मत पाएको थियो । दोश्रोमा कांग्रेसले १८ हजार ८१७, तेश्रोमा रास्वपाले ९ हजार ६७९ र चौथोमा तत्कालीन माओवादीले सात हजार ३६ मत ल्याएको थियो । राप्रपाले भने एक हजार ६९९ मत ल्याएको थियो । तत्कालीन नेकपाले भने ८६१ मत प्राप्त गरेको थियो ।
आसन्न प्रतिनिधिभा निर्वाचनमा पर्वतमा एक लाख २५ हजार ४६६ मतदाता छन । यी मध्ये ६२ हजार ८६५ पुरुष, ६२ हजार ६०० महिला र एकजना अन्य मतदाता रहेका छन् ।





