बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एउटै गाउँबाट २० करोडभन्दा बढिको सुन्तला निर्यात

एउटै गाउँबाट २० करोडभन्दा बढिको सुन्तला निर्यात

पछिल्लो समयमा सुन्तला कृषकलाई प्रोत्साहन दिनका लागि प्रदेश र स्थानीय सरकारले विभिन्न सहयोग गर्दै आएका छन्।


  • ढोरपाटन संवाददाता
  • माघ १५ २०८२, बिहिबार

पर्वत / यस वर्ष पर्वत जिल्लाबाट रु. ३२ करोडको सुन्तला निर्यात गरिएको छ। यहाँका विभिन्न स्थानमा उत्पादन भएको सुन्तलाबाट रु. ३२ करोड ५ लाख भित्र्याउन यहाँका कृषकहरु सफल भएको कृषि विकास कार्यालय पर्वतले जनाएको छ।

जिल्लाको सबैभन्दा बढी सुन्तला उत्पादन हुने स्थान बाँसखर्कबाट मात्र रु. २० करोडका सुन्तला निर्यात भएको छ । मल्लाजको पूर्णगाउँ, रातमाटा, शालिजा, भोटेडाँडा, मोदी गाउँपालिकाको देउपुर, बाजुङ, चित्रे, फलेवास नगरपालिकाको कुर्घा, पाङराङ, ठानामौला, लिमिठानालगायत स्थानमा उत्पादन भएका सुन्तला जिल्लाबाट अन्यत्र निर्यात गरिएको हो।

कार्यालयका अनुसार यस वर्ष ३ हजार ४२१ मेट्रिकटन सुन्तला उत्पादन भएर निर्यात भएको हो। कृषकले प्रतिकिलोग्राम रु. ९५ देखि रु. १२० सम्म बोटबाटै बिक्री भएको कृषि विकास कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी सोविता सुवेदीले पर्वतमा चालु आर्थिक वर्षमा सुन्तला उत्पादन पनि राम्रो भएको र बजार मूल्य पनि राम्रो पाएको बताईन्।

व्यावसायिक रुपमा सुन्तलाखेती गरिरहेका किसान यस वर्ष सुन्तलाको राम्रो मूल्य पाएको भन्दै हर्षित बनेका छन्। गाउँ–गाउँमा सडकको सुविधा पुगेसँगै काठमाडौँ, नारायणगढ, पोखरालगायत स्थानबाट व्यापारीले बगानमै आएर सुन्तला लगेका थिए। गाउँमा सडक पुगेपछि आफैँले लगेर काठमाडौँ तथा बुटवलका बजारमा बिक्री गर्न पाएको तथा बजारका व्यापारी पनि गाउँमै आएर सुन्ताल किनेर लाने गरेको किसानहरुले बताएका हुन्।

एउटै टोलबाटै रु. १ करोडदेखि रु. डेढ करोडसम्म सुन्तला बिक्री गर्न सफल भएको फलेवास नगरपालिका–११ का कृषक रामप्रसाद गौतमले बताए। पछिल्लो समयमा सुन्तला कृषकलाई प्रोत्साहन दिनका लागि प्रदेश र स्थानीय सरकारले पनि विभिन्न सहयोग गर्दै आएका छन्। किसानलाई विभिन्न स्थलगत तालिम दिनेदेखि, गोडमेल गर्ने, चुन, नीलोतुथो जस्ता विषादी पनि दिने गरिएको छ।

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर जस्ता राजमार्ग सञ्चालन हुनाका साथै ग्रामीण क्षेत्रसम्म गुणस्तरीय सडक सञ्जाल फैलिएपछि सुन्तला बजारीकरणमा समेत सहज भएको छ। किसानले सुन्तला ग्रेडिङ गरेर जेठी, माइली, कान्छी गरेर बगैँचाबाटै बिक्रीका लागि लाने गरिएको बताएका छन्। यहाँ माघको अन्तिम सातासम्म बोटमै सुन्तला रहने हावापानी भएका कारण पनि सुन्तलाले राम्रो मूल्य पाएको हो।

यहाँ ४०० भन्दा बढी किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन्। विशेषगरी जलजला गाउँपालिका, फलेवास नगरपालिका र मोदी गाउँपालिकाका विभिन्न वडामा गरी ८३३ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको छ। पछिल्लो वर्षमा सुन्तलाखेतीमा किसानको आकर्षणसमेत बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->