बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रवि–गगन दुश्मनी : फाइदा कसलाई ?

रवि–गगन दुश्मनी : फाइदा कसलाई ?


  • माधव चापागाईं
  • माघ १८ २०८२, आइतबार

नेपालको राजनीतिमा रविभन्दा गगन जेठा हुन् । बोलेरै नाम कमाएका यी दुवै आज पनि बोलेरै चर्चामा छन् । एक समय थियो काङ्ग्रेस भनेपछि गगनको विकल्प कसैले देख्दैनथ्यो । सभापति बनेर पार्टीलाई विशेष बनाउँछु भन्ने गगन सभापति बन्न विशेष महाधिवेशनकै सहारा लिनुप¥यो । परन्तु जनताको चासो र भरोसा कम देखियो । अघिअघि गगनको भाषण सुन्नकै लागि कार्यकर्ताहरू दौडधुप गर्थे तर आज प्रधानमन्त्रीको उमेदवार नै बन्दा पनि कुनै तरङ्ग छैन । २०६४ ताक माओवादीको चर्को तारिफ भयो । क्रमशः त्यो तारिफ र क्रेज एमाले हुँदै काङ्ग्रेसमा आएर अघिल्लो निर्वाचनमा काङ्ग्रेस ठूलो दल बन्यो । परन्तु सरकार बनाउन सकेन । आज त्यही क्रेज रास्वपामा समाहित हुँदैछ ।

रविले जति छोटो समयमा क्रेज बटुले त्यति क्रेज गगनले दशकौंसम्म बटुल्न सकेका थिएनन् होला । आज आफ्नो निर्वाचन क्षेत्र नै छोडेर हिंड्नु पर्दा गगन अप्ठ्यारोमा भएको बुझिन्छ । उता रवि उभिएकै भरमा जनताको वाहावाई कमाइरहेका छन् । रवि जेलमा होउन् कि नेलमा उनका भक्तहरु दिन दुई गुणा रात चौगुणा बढेकै छन् । यता चुनावको संघारमा पाका नेतालाई लत्याएर गगन बादसाह बनेका छन् । तर अनौठो कुरा गगन आफू युवा नेता भएर युवाहरूकै सम्मान गर्न नजान्ने नेतामा पर्छन् । संसदिय राजनीतिमा उनको वर्चस्व नजम्नुको कारण यहि नहोला भन्न सकिदैन । जनताले एमसिसिको विरोध गर्दा एकछत्र जिम्मा लिने साहसी नेता गगन हुँदैहुन् ।

गगनले जेन्जीको सम्मान गर्न नजानेकै हुन् । जेन्जीदेखि डराउनै पर्ने उनलाई के थियो । रवि डराएनन् । जेलबाट छुट्दा बित्तिकै घाइते जेन्जी र प्रधानमन्त्रीलाई भेटे । आश्वासन दिए । तर गगन किन चुप बस्नु परेको ? रविलेझै ‘बा’हरुको विरासत ढालेर नवयुग सुरु गर्नुपर्छ भन्नू पर्ने गगनको विचार किन केटाकेटी भएको ? प्रचण्ड सरकारले रविलाई रोज्दा प्रतिपक्षमा बस्ने काङ्ग्रेसको जोस हराएकै हो । यतिबेला झापामा ओली र सर्लाहीमा गगन डराएकै छन् । प्रचण्ड चितवनदेखि गोर्खाहुँदै रुकुम पुगेपनि आफ्नै पूर्वसहकर्मी जनार्दनसँग डराउन परेको छ । विचरा शीर्ष नेताहरूको यो दुर्दुहाई कहिलेसम्म चल्छ ?

ओली गगनले राजनैतिक मूल्यमान्यता नै बिर्सिएर झापा र सर्लाहीमा सहकार्य गर्ने तरखरमा छन् । कुनै बेला राष्ट्रवादी नेता मानिएका ओली आज झापामा असुरक्षित छन् । युवाका ढुकढुकी भनिने गगन सर्लाहीमा सुरक्षित छैनन् । अमरेश कुमारको रास्वपा प्रवेशले गगनको निन्द्रा खोसेको छ । सधैं विपक्षमा उभिने ओली–गगन आज आफैंले ओकलेको विष शमन गर्दैछन् । झापा र सर्लाहीमा सट्टेबाजीको पैँचो भोटले विजयी हुने सपना बुनिदै छन् । लोकतन्त्रका नाममा जनता झुक्याउने खेल यहीँबाट चल्दैछ । यता आफूहरुको विजय निक्र्योल गरेका ओलीले रुकुममा प्रचण्डलाई पछार्ने दाउमा छन् । कहिँ मित्रवत चुनाव लड्ने कहिँ सट्टाबाजी खेल्ने ओली जनार्दनको खेलले प्रचण्डलाई धक्का पुग्ने नै छ । विचरा प्रचण्ड यतिबेला रुनु नहाँस्नुको अवस्थामा छन् । यद्यपि गाउँशहर जताततै घण्टीको चर्चा सुनिन्छ । त्यसो त रास्वपा नेताहरु उभिएका ठाउँमा भीड देखिएकै छ । अन्यत्र मासुभातमा भीड जम्मा हुन्थ्यो । अहिले घण्टी बज्दा जम्मा हुन्छ । तर गगनलाई काङ्ग्रेसीहरुले नै प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवारसम्म मान्न तयार छैन । टिकट लिनकै लागि देउवा र कोइराला पक्ष झुकेका होलान् अन्यथा गगनको विपक्षमा काङ्ग्रेस नै नलाग्लान् भन्न सकिदैन ।

रविका लागि जय घण्टी, रवि दाइ हाई हाई भन्ने नारा घन्किरहेका छन् । उनी दोषी हुन् न हुन् । उनी माथी प्रतिशोध भएको होस् नहोस्, बिगो तिरेकै हुन्, ठगी मुद्दा स्वीकार गरेकै हुन् । अर्कोतर्फ जेलबाट निस्किदा हजारौं जनताको स्वागतले उनी साँच्चै नेपालले खोजेको नेता हुन् त ? भन्ने प्रश्न उठ्छ । नेपालको राजनीतिमा एकअर्काको आलोचना गर्ने प्रचलन पुरानै हो । रवि त्यही आलोचनाको सिकार त बनेनन् ? बुझ्न जरुरी छ । अघिल्लो निर्वाचन पश्चात् सरकार बनाउनै रविलाई रोजिनु, कारागार मुक्त हुँदा शिर्ष नेताहरू नै डराउनु र केही राजनैतिक शक्तिहरु उनैसंग मिल्न खोज्नु अनौठो छ । अर्कोतर्फ युवाहरूको केन्द्रमा रहेका बालेन किन उनैसंग मिल्न तयार भएका ? उनी दोषी नै हुन् भने जनताले किन उनैलाई वैकल्पिक शक्ति मानेका ? हुन त रवि गगन आफैंमा ज्याद्रा व्यक्ति हुन् । रवि बोलेरै सबैलाई वशमा ल्याउने, गगनले समग्र राजनीतिलाई नियन्त्रणमा लिन खोज्ने, नेपालको इतिहासमा ‘सके भ्रष्टलाई जेल हाल्छु, नसके भ्रष्टले मलाई नै जेल हाल्छन्’ भनेर प्रतिशोधको राजनिती सुरु गर्ने र जेलको उद्घाटन गर्ने नेता रवि नै हुन् । यदि उनले भने जस्तो भएर भ्रष्ट र काण्डकारी नेतालाई जेल हाले भने उनी महान सावित हुनेछन् । अन्यथा आफैं जेल गए । अनि प्रतिशोध नहोला ।

हिजो टेलिभिजनबाट भ्रष्टहरुको निद्रा हराम गरेका रवि पार्टी खोलेर छोटो समयमै चौथो शक्तिहुँदै गृहमन्त्री बने । भ्रष्ट नेता कार्यकर्ता त्रसित भए, अन्त्यमा काङ्ग्रेस एमालेको सरकार बन्यो । सहकारी ठगी सम्पत्ति शुद्धीकरण लगायत विभिन्न आरोप लगाएर देश धौडाहामा कुदाइयो । उनले प्रतिशोध भनी रहे । यहि बीचमा जेन्जी आन्दोलनले सत्ता धारीहरुको भागाभाग भयो । अहिले अन्तरिम सरकारले चुनाव गराउँदै छ । रविको कहानी यत्ती होला । मामा कंशले जति धपाए पनि कृष्णले बाँसुरी बझाउन छाडेनन् भन्याझै आफैंलाई गृहमन्त्री बनाएर प्रधानमन्त्री अफर गर्नेहरुले जत्ती धपाए पनि उनले डाँडो काटेनन् । कहिल्यै हरेस खाएनन् । नजिकबाट हेर्दा विपिलाई महान मान्ने काङ्ग्रेसभन्दा रविलाई पर्खिने रास्वपाका कार्यकर्ता महान जस्तो लाग्छ । रवि सहकारी ठग होलान् संगठित अपराध गरे होलान् यो नौलो नमानौं यिनै राजनैतिक दल र यहि संविधान छँदा न हो रवि निर्वाचनमा होमिएको त्यतिबेला यिनै दल र निर्वाचन आयोगले के हेरेका ? फेरि आफ्नो सत्ता लोलुपता सिद्ध गर्न किन गृहमन्त्रीको जिम्मेवारी थमाएका ? जब आफ्नो इष्टसिद्ध नहुने देखेपछि रवि सबैको तारो बनेको होइन र ? जेलको अन्धकारमा धुमिल जीवन व्यतीत गर्दै दुखमा नआत्तिएका रवि सुखमा नमात्तिउन् । सफलताको शुभकामना !!

रविसंग दुश्मनी लिने धेरै नेता छन् । रवि माथिकै प्रतिशोधबाट बहुमत आए फेरि जेल थमाउने छन् । अन्यथा रवि स्वतन्त्र रहलान् । रविले गृहमन्त्री हुँदा नैतिकता देखाउन सकेनन् भन्ने काङ्ग्रेसीहरुले देउवा विहिन महाधिवेशनमा कुन नैतिकता देखे । देशमा बढ्दो बेतिथी र भ्रष्टाचारका विरुद्धमा गगन र विश्व जस्ता युवाले सकारात्मक सोच्दिएको भए रविसंगको दुश्मनीमा पार्टी र आफनो उचाइ घटाउनु पर्दैनथ्र्यो । विशेष महाधिवेशनको मुद्दामा देउवाले रुख चिह्न पाएको भए गगनको चुनावी गन्तव्य रास्वपा नै हुन्थ्यो होला । गगनले भ्रष्टाचारको एजेन्डा बोकेर नयाँको आगमनलाई स्विकारेको भए देशमा नयाँ आशा पलाउथ्यो । कम्युनिष्ट धारले एउटा मोर्चा बनाएपछि पक्ष प्रतिपक्षले राम्रै वर्चस्व कमाउँथे । देशमा राजनैतिक स्थायित्व कायम हुन्थ्यो । गगन रविलाई कमजोर पार्ने खेलमा नलागेको भए सायद आफ्नै राजनीतिक भविष्य केही हदसम्म जोगिन्थ्यो । तर आफ्नै साथीमाथि षड्यन्त्र गर्छु भन्दा गगनलाई नै भारी प¥यो ।

काङ्ग्रेसले नचिनेको रास्वपाले चिनेको नेता स्वर्णिम वाग्ले हुन् । काङ्ग्रेसमा रहुन्जेल अर्थविद भएका उनी रास्वपा भएपछि रामका लागि भरत जत्तिकै बने । माता कैकेयीले वनबासै पठाए पनि भरतले रामको आसन चलाएनन् । त्यस्तै स्वर्णिमले रविलाई पर्खिरहे । वैकल्पिक शक्तिहरु एक हुनुपर्छ भनिरहे । त्यसो त गगनले नचिनेका वाग्लेले रवि बालेनलाई अर्जुन र कृष्ण बनाएर सुशासनको नारा लगाए । रावणले राज्यद्रोही ठानेका विभिषणको साथले रामले युद्ध जितेझै स्वर्णिमको साथले रविले साम्राज्य खडा गर्न नसक्लान् र ?

कमजोर सत्ता होस् वा पार्टीमाथी सधैं प्रश्न गर्दै आएका गगनले विद्रोहलाई नै शक्ति मान्थे । थापाको छवि विद्रोही थियो । उनी एकप्रकारले प्रश्नले बनेका नेता हुन् । परन्तु उनका पछिल्ला प्रश्न, सहकार्य र सबुत प्रमाण सबैले ओरालो लागे रविको छवि धमिल्याउन लागि परेका गगन अन्ततः सहकारी ठगीको मुद्धामा कमजोर भए । तसर्थ उनले विद्रोही नेताको छबि मात्रै गुमाएनन्, विद्रोहबाट प्राप्त हुने शक्ति पनि गुमाए । यसले जनताको आकांक्षालाई विस्मित पारेको छ । विगतमा गगन आदर्श नेता थिए । परन्तु वैकल्पिक मानिएका रविको पतनका लागि हात धोएर लागि परेको कसैलाई मन परेन । अरुको आङ्मा जुम्रा देख्नेले आफ्नो आङ्मा भैंसी नदेख्ने भन्याझै गगनले रास्वपाउपर काङ्ग्रेसभित्रका सहकारी ठगको विरोध गर्नुपथ्र्यो । यस कारण गगनमा गल्ती सच्याउने र आन्तरिक बहसलाई स्थान दिने नियत गुमेकै हुनुपर्छ । अन्यथा जेन्जी विद्रोहमा भाग्नु पर्दैनथ्यो । गृहमन्त्री लेखक र उर्जामन्त्री खड्काविरुद्ध सारा जनता लाग्दा गगन चुप बस्नुनै अभिशाप थियो । गगनका यस्तै निर्णयले यतिबेला कैयौं काङ्ग्रेसीहरुले बाटो तताउने तरखरमा छन् ।

पुराना दलहरुलाई सत्ता बाहिर पुगिन्छ कि भन्ने डर छ । त्यो डर वैचारिक संघर्षको नभएर जनताले कतै विकल्प रोज्छन् कि भन्ने हो । यही डरले आज प्रतिस्पर्धी दलहरू सहकार्य गरेर विकल्पलाई समाप्त पार्ने षड्यन्त्र रच्दै छन् । उनीहरु सुधार होइन, निरन्तरता चाहान्छन् परिवर्तनभन्दा पदलाई मान्यता दिन्छन् । यसर्थ गुप्त डिल र सत्ताकेन्द्रित राजनीति स्वीकार्ने या त डराएकाहरुलाई सत्ताच्युत गर्ने निर्णय जनताकै हातमा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->