बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

संघीयताको सञ्चार अभ्यास: सुसूचित गण्डकीको आधारशिला

संघीयताको सञ्चार अभ्यास: सुसूचित गण्डकीको आधारशिला

हाम्रो अबको गन्तव्य डिजिटल गण्डकी हो ।


  • बिमला भण्डारी प्रेस रजिष्ट्रार, गण्डकी प्रदेश
  • माघ २३ २०८२, शुक्रबार

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले परिकल्पना गरेको सुसूचित नागरिक र स्वतन्त्र प्रेसको मर्मलाई आत्मसाथ गर्दै गण्डकी प्रदेश सरकार स्थापनाको आठौं वर्ष पूरा गरेको यस सुखद अवसरमा सम्पूर्ण प्रदेशवासी, सञ्चारकर्मी मित्रहरू तथा आम पाठकवृन्दमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

संघीयता केवल राजनीतिक संरचनाको परिवर्तन मात्र होइन, यो त केन्द्रीकृत मानसिकताको विकेन्द्रीकरण र नागरिक अधिकारको घरदैलोमै प्राप्ति हो । यही मूल मर्मलाई आत्मसाथ गर्दै गण्डकी प्रदेश सरकारले सञ्चार क्षेत्रको संस्थागत विकासमा ऐतिहासिक फड्को मारेको छ । हिजोका दिनमा सञ्चार माध्यमको दर्ता, नवीकरण वा प्रेस प्रतिनिधि प्रमाणपत्र लिनका लागि काठमाडौंको सिंहदरबार धाउनुपर्ने बाध्यताको हामीले अन्त्य गरेका छौं ।

गण्डकी प्रदेशसभाले निर्माण गरेको गण्डकी प्रदेश आमसञ्चार ऐन, २०८० र सोही ऐनको जगमा २०८१ सालमा स्थापित प्रेस रजिष्ट्रारको कार्यालय संघीयताको सफल कार्यान्वयनको एक ज्वलन्त उदाहरण हो । यो कार्यालय स्थापनासँगै हामीले प्रदेशभित्रका पत्रपत्रिका, एफ.एम. रेडियो, टेलिभिजन र अनलाइन सञ्चार माध्यमहरूको अभिभावकत्व ग्रहण गर्दै नियमन र प्रवद्र्धनको कार्यलाई तीव्रता दिएका छौं । भर्खरै जारी भएको गण्डकी प्रदेश आम सञ्चार नियमावली २०८२ ले सञ्चार माध्यमको वर्गीकरण, लोककल्याणकारी विज्ञापनको न्यायोचित वितरण र श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका लागि स्पष्ट मार्गचित्र कोरेको छ ।

हाम्रो अबको गन्तव्य डिजिटल गण्डकी हो । प्रविधिको युगमा कार्यालयका सेवाहरूलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन हामीले अनलाइन दर्ता र नवीकरण प्रणालीको विकासलाई अन्तिम चरणमा पुर¥याएका छौं । यसले सेवाग्राहीको समय र लागतको बचत मात्र गर्ने छैन, सुशासनको प्रत्याभूति समेत गराउनेछ । पत्रकारितालाई केवल समाचार सम्प्रेषणमा मात्र सीमित नराखी यसलाई थप मर्यादित, अनुसन्धानमूलक र जवाफदेही बनाउन हामीले पत्रकार लेखनवृत्ति (फेलोसिप) कार्यक्रम, विपद्मा परेका पत्रकारका लागि पत्रकार कल्याणकारी कोष र क्षमता अभिवृद्धिका लागि मिडिया साक्षरता अभियान सञ्चालन गरिरहेका छौं ।

वर्तमान समयमा चुनौतीको रूपमा देखा परेको भ्रमपूर्ण र मिथ्यापूर्ण सूचनाको बाढीलाई रोक्न र सत्य तथ्य सूचना प्रवाह गर्न कार्यालयले सरोकारवालाहरूसँगको सहकार्यलाई प्राथमिकतामा राखेको छ । केही समयअघि जेनजी आन्दोलनका क्रममा कार्यालयको भौतिक संरचना जलेर खरानी भयो । तर, त्यो खरानीको थुप्रोबाट बौरिएर हामीले प्रमाणित गयौं कि, भवन र कागज जल्न सक्छन्, तर नागरिकको सेवा गर्ने हाम्रो संकल्प र इच्छाशक्ति कहिल्यै जल्दैन ।

प्रदेश र प्रेस एकअर्काका परिपूरक हुन् । गण्डकी प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ । हामी चाहन्छौं, यहाँको पत्रकारिताले सत्ताको स्तुति होइन, खबरदारी गरोस् । समाजका आवाजविहीनहरूको आवाज बोलोस् । सत्य, तथ्य र निष्पक्ष सूचनाको हक सुनिश्चित गर्दै आत्मनिर्भर र समुन्नत प्रदेश, सुखी प्रदेशवासीको आकांक्षा पूरा गर्न हामी सदैव मिडिया जगतसँग हातेमालो गर्न तयार छौं । जय गण्डकी ! जय पत्रकारिता !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->