बागलुङ (खर्वाङ)/फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेका पश्चिम बागलुङका राजनीतिक दल, उम्मेदवार र सरोकारवालाले निर्वाचनको बेला हुने भोजभतेर खुवाउने र राष्ट्रिय झण्डाको दुरुपयोग रोक्नुपर्ने बताएका छन् ।
बागलुङ क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालयमा भएको ‘निर्वाचन आचारसंहिता सम्बन्धी छलफल र अन्तरक्रिया’मा सरोकारवालाहरुले मतदानको दिन मतदातालाई भोजमा सहभागी गराउने पुरानै चलन रहेकोले यसलाई निरुत्साहित गर्न निगरानी गर्नुपर्ने बताएका हुन् । अन्तरक्रियाका सहभागीले राष्ट्रिय झण्डाको दुरुपयोग पछिल्लो समय व्यापक रुपमा बढेको भन्दै त्यसलाई रोक्न निर्वाचन अधिकृतको कार्यालयलाई आग्रह गरेका थिए ।
मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले तथ्य प्रमाणसहित उजुरी आए कारवाही गर्न सक्ने प्रावधानबारे जानकारी गराउँदै पार्टीको मुखपत्र जस्तै निर्वाचनको आचारसंहिता पनि पार्टी प्रतिनिधि र उम्मेदवारले गहिरो अध्ययन गर्न आवश्यक भएको बताइन् । निर्वाचन आचारसंहिता अनुगमनको काम औपचारिक रुपमा सुरु भएको अधिकारीले बताइन् ।
निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीले आचारसंहिता उल्लंघनका मौखिक उजुरी आएको भन्दै पहिलो पटक त्यस्ता उजुरी उपर सम्झाई–बुझाई गरिएको बताए । सुवेदीले आचारसंहिता उल्लंघन कसले गरेको भनेर नखुलाए पनि आफु अनुगमनमा जाँदा देखेका विषयमा पार्टी र उम्मेदवारलाई जानकारी गराएको बताए ।
माघ ४ गतेपछि मात्रै दलहरुले वडा अधिवेशन, भेला र कोणसभा गर्न सक्ने निर्वाचन आयोगको आचारसंहितामा भएपनि अहिले भइरहेका त्यस्ता गतिविधि मौखिक वा लिखित उजुरी नपरेसम्म निर्वाचन कार्यालयले भने थाहा नपाउने कार्यालयले जनाएको छ ।
निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा प्रमुख कोष नियन्त्रक किशोरकुमार श्रेष्ठले बागलुङका उम्मेदवारले आगामी निवार्चनमा २९ लाख रुपियाँसम्म बैंकबाट मात्रै खर्च गर्न सक्ने जानकारी दिए । आयोगले भनेको माघ २१ सम्म क्षेत्र नं. १ मा पाँच र क्षेत्र नं. २ मा दुई जनले मात्रै बैंक खाता संचालनका लागि सिफारिस लगेकोले छुट उम्मेदवारलाई तत्कालै आयोगबाट सिफारीस लैजान पनि श्रेष्ठको आग्रह छ ।
छलफलमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले निर्वाचनलाई मेला महोत्सव जस्तो सिंगारपटार र भड्किलो नबनाउन सबैमा आग्रह गरे । बागलुङ क्षेत्र नं. २ का सबै राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकाय, सरकारी तथा पालिकाका प्रतिनिधिलगायतको सहभागिता भएको छलफलमा जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले आचारसंहिताबारे जानकारी गराएका थिए । प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बागलुङमा विभिन्न राजनीतिक दलका २३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।





