पर्वत/आगामी निर्वाचनलाई लक्षित गरी माघ २० गतेभित्रमा इजाजत प्राप्त हतियारहरू बुझाउन आग्रह गरिएको भए पनि अझै ४० थान हतियार प्रहरी समक्ष नबुझाएको अवस्था छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतले माघको पहिलो हप्ता सूचना जारी गर्दै आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै इजाजत प्राप्त हातहतियारहरू बुझाउन अनुरोध गरेको थियो । हातहतियार खरखजाना ऐन, २०१९ को दफा ८ बमोजिम जिल्लका विभिन्न व्यक्तिहरूसँग रहेका इजाजतप्राप्त हतियारहरू आफूपायकको स्थानीय प्रहरी चौकीमा बुझाउन भनिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार तथ्याङ्क अनुसारमा जिल्लामा दर्ता भएका हतियारहरूको सङ्ख्या ९८ रहेको छ । तीमध्येका ३४ ओटा हतियारहरू प्रहरीका विभिन्न युनिटहरूमा प्राप्त भइसकेका छन् । १३ ओटा हतियारहरू बैंक तथा वित्तीय संस्थाहरूमा रहेका तथा २ थान हतियारहरू प्रहरीसम्म आउनको लागि समन्वय भइरहेको छ । जिल्लामा दर्ता भएकामध्ये ९ थान हतियारहरू अन्य जिल्लाका प्रहरी युनिटहरूमा बुझाएको पाइएको प्रहरी निरीक्षक पटेलले बताए ।
प्रहरीको सम्पर्कमा आउन बाँकी रहेका ४० थान हतियारहरू प्रहरी समक्ष ल्याउनको लागि मातहतका प्रहरी युनिटहरूबाट आवश्यक समन्वय र खोजी गर्ने काम भइरहेको छ । इजाजत लिएर हतियार राखेका केही व्यक्तिहरू काम विशेषले जिल्लामा नरहेको र उनीहरूले छिट्टै हतियार बुझाउने बताएको तथा कतिपयले पहिले चलाउँदै आएको मोबाइल नम्बर परिवर्तन गरेका कारण पनि सिधा सम्पर्क नभएको उनले बताए ।
बैङ्क तथा वित्तीय संस्थासँग रहेका १३ ओटा हतियारहरूको तथ्याङ्क आएको भए पनि ती हतियारहरू बैंकको सुरक्षाको लागि उनीहरूसँग नै रहने प्रहरीले बताएको छ । तर कुन बैङ्क वा वित्तीय संस्थासँग कुन प्रकृतिको र कति सङ्ख्यामा हतियारहरू छन् भन्ने तथ्याङ्क भने प्रहरीले राखेको छ ।
सूचना जारी गरेर पनि प्रहरीको सम्पर्कमा नआएका ४० थान हतियारवालाहरू बसाइसराइ वा अन्य कारणले जिल्ला छाडेर बाहिर गएको हुन सक्ने उनीहरूले आफू बसोबास गर्दै आएको जिल्लामा बुझाएको हुन सक्ने भएकोले पर्वत प्रहरीले बाहिरी जिल्लाका प्रहरी कार्यालयहरूसँग समन्वय गरेर विवरण लिने कामहरू पनि सुरु गरिसकेको प्रहरी निरीक्षक पटेलले बताए ।





