सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

महावीर भन्छन् : संसद पुगेपछि टिम बनाउँछु

महावीर भन्छन् : संसद पुगेपछि टिम बनाउँछु


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन २ २०८२, शनिबार

पोखरा/मन्त्रीबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले आफू रिसाएर ठेस लागेर चुनावमा होमिएको जिकिर गरेका छन् ।

मन्त्रीको रुपमा शिक्षा सुधारका निम्ति तयार पारिएका ३ वटा विधेयक विधायन समितिमा थन्किएको जिकिर गर्दै उनले त्यसलाई ठेस लागेको रुपमा अथ्र्याए ।

‘गर्न सकेको कुरा त्यहाँ गएर गर्न सकिएन । ठेस लाग्यो र त्यसो भएर चुनावमा आएको हो ।प्रधानमन्त्रीज्यूले रिसाएर जानुभयो महावीरज्यू भन्नुभा’छ, रिसाएर हैन, ठेस लागेको हो, ठेस लागेकोलाई रिस भन्न मिल्दैन । त्यो कानून (आफूले अगाडी सारेका ३ वटा विधेयक) माघ ४ गतेभित्र पास भएको भए म चुनाव लड्ने मान्छे हैन,’ उनले अगाडि भने,‘ म चुनाव लड्न जाँदा धेरैलाई दुःख लागेको छ,रिस उठेको छ ,रिस लागेर के गने ? म नेता बन्न चुनाव लडेको हैन । धेरैले मलाई बाहिरबाहिर लाटो देखिन्थयो छट्टु रहेछ भन्छन् कोही ४ महिना मन्त्री भएथ्यो, उसलाई पनि राजनीतिको चस्का लागेछ भन्छन् । यसले मलाई केही फरक पर्दैन । सत्य कुरा यही हो कि म चुनाव लड्ने मान्छे हैन । अरुको भाषामा भन्ने हो भने भाग्यले त्यता डोहो¥यायो । मलाई पनि सांसद बन्ने भाग्यमा लेखेको रैछ । अध्यादेश ल्याउन सकेको भए चुुनाव लडने थिएन ।’

महावीर पुन शुक्रबार चुनाव प्रचार प्रसार समितिले पोखरामा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै थिए ।

माघको ४ गतेसम्म विधेयक पारित गर्न मरिमेटेर लागेको पनि जिकिर गरे । ‘माघको ५ गतेपछि आचारसंहिता लाग्थ्यो । पास भएन । मेन कुरा समय कम भयो । माघको ४ गते ७ बजेसम्म कोसिस गरेको हो । त्यो त्यहाँ (विधायन समिति) गएर अड्कियो । चुनावपछि स¥यो । चुनाव सकिएपछि कस्तो सरकार बन्छ ? त्यो मैले ल्याउने अध्यादेश अगाडि बढाउँछ कि बढाउँदैन ? त्यसपछि मैले यसो बसेर सोचेँ,सोच्दै जाँदा एउटै उपाय देखेँ, म आफैं नै अहिलेको चुनावमा उठेर लडेर अगाडि बढाउने । त्यपपछि राजीनामा दिने निर्णय गरेको हो,’ उनले भने ।

उनले ती विधेयकहरुले विश्वविद्यालयमा भएका राजनीतिकरणलाई हटाउने,जथाभावी तन्त्रलाई हटाउने र विद्यालयको शिक्षा सुधार गर्ने विषय समेटिएको पनि बताए । त्यसको साथसाथै सीटीईभीटीले चलाउने सीप विकासको कुरा पनि विधेयकमा राखिएको बताउँदै उनले भने, ‘सीटीईभीटीले एउटा सर्टीफिकेट दिँदो रहेछ । सर्टीफिकेट पाउँदैमा सीप विकास हुँदैन । त्यसैले कानून बनाउने र केही नियमावली बनाउनुपर्ने देखियो ।’

उनले आफू सिंहदरबारमा म सुतेर नबसेको प्रष्टोक्ति पनि दिए ।
‘धेरैले भनेजस्तो सिंहदरबारमा ढेंडो पकाएर सुतेर बसेको भन्छन् । म सुतेर बसेको थिइन । ६ वटा विज्ञ समूह बनाएर कस्तो कानून बनाउने भन्नेबारे अध्ययन भएको थियो,’ उनले थपे ।

पुनले आफू संसद पुगेर राजनीति नगर्ने तर विधेयक पारित गराउन लगाउने पनि जिकिर गरे ।

‘स्वतन्त्र उम्मेदवार भएर जित्दा पनि माखो मार्न सक्दैन भनेका छन् । महावीर पुनले कसरी काम गर्छ भन्ने उनीहरुलाई थाहा छैन । मुख्य कुरा के हो भने, म स्वतन्त्र भएर जितेर संसदमा जाँदा पनि एक्लो हुन्न । जित्न त पक्कै जित्छु । म टिम बनाउँछु । एउटा टोली बनाउँछु । काम गर्नको लागि,’उनले थपे,‘ कस्तो टोली भने–अहिलेको चुनावमा जति पनि लडिरहेका छन् । जसले जितेर आउँछ र तिनीहरु इमान्दार र युवाहरु छन् भने मैले पार्टी हेर्दैन, जुन पार्टीको भए पनि हुन्छ । इमान्दार हुनुप¥यो, भ्रष्टाचार नगर्ने हुनुप¥यो । त्यो टोली बनाएर राजनीति गर्ने हैन, संसदमा छलफल गरेर के–के कुरा गरेर देशको फाइदा हुन्छ,त्यस्ता कुराको योजना बनाएर संसदमा पेश गर्ने हो । मसँग टोली हुन्छ, म काम गर्छुु ।’

उनले आफू राजनीति गर्ने मान्छे नभएकाले नै स्वतन्त्र उम्मेदवार बनेको जिकिरसमेत गरे ।

‘म राजनीति गर्ने मान्छे हैन, मैले राजनीति गरेको कसैले कहिल्यै देखेको छ ? पार्टीमा लाग्ने राजनीति गर्ने हो । म त सरकारलाई सघाउने मान्छे हा । २०४९ सालमा म अमेरिकाबाट फर्केको हो । २०५१÷०५२ सालतिर पार्टीमा तान्न खोजेको हो । आउनुप¥यो भनेकै हो । म गइन । म संसदमा गएर राजनीति गर्दिन,’ उनले भने ।

उनले वर्तमान सरकारको बचाउ पनि गरे । ६ महिनामा धेरै काम गर्न सकिँदैन भन्ने जानकारी भएको बताउँदै उनले अस्थायी सरकारले केही गर्न नसक्ने र केही गर्न सकेन भनेर दोष दिन नमिल्ने पनि तर्क गरे । ‘यो निहुँ खोज्ने कुरा हो, तैपनि सरकारले सक्दो गरेको छ । मन्त्री भएपछि मैले पनि केही गर्ने भनेर सोचेकै हो । ठूलो काम गर्न सकिँदैन, सानोसानो गर्ने हो भनेर सोचेको हो,’उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->