बागलुङ/विद्यालय भ्यान दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । बिहिबार बागलुङ नगरपालिका वडा नं. ३ हाडेपाखामा विद्यालय भ्यान दुर्घटनामा परेको थियो । दुर्घटनामा गंभीर घाइते भई पोखरास्थित गण्डकी अस्पतालमा उपचाररत बागलुङ नगरपालिका–३ बस्ने १३ वर्षिय सुजल छन्त्याललको शुक्रबार निधन भएको हो ।
यसअघि बागलुङ नगरपालिका वडा नंं. ३ तातोपानीका १५ वर्षिय अमन बोहराको धौलागिरि प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बसन्त पाण्डेका अनुसार, एक जनाको गण्डकी अस्पताल, आठ जनाको मणिपाल शिक्षण अस्पताल र दुई जनाको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ । गंभीर घाइते संगम किसानको शरीरका विभिन्न भागमा चोट लागेको छ ।
बागलुङ नगरपालिका–३ का ८ वर्षिय निगित किसान, ८ वर्षिय सोलुमन किसान, ५ वर्षिय आयन बोहोरा, १२ वर्षिय आयुष बोहरा, ९ वर्षिय सुमित गैरे, १० वर्षिय अनमिया किसान, ९ वर्षिय उमंग किसान, १३ की समिक्षा गैरेको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने बागलुङ नगरपालिका वडा नं. १ रामरेखाकी २५ वर्षिय सारिका बोहोरा र सोही स्थानकी १२ वर्षिय अलिस्ना किसानको धौलागिरी प्रादेशिक अस्पतालमा उपचार भई रहेको प्रहरी नायव उपरिक्षक पाण्डले जानकारी दिए ।
यस्तै, दुर्घटनाको बिषयमा छानविन गर्न जिल्लास्तरीय छानविन समिति गठन भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा शुक्रबार बसेको सरोकारवालाको सर्वपक्षीय बैठकले छानविन समिति गठन गरेको हो । बागलुङ नगरपालिका–१ रामरेखामा रहेको न्यू एभरेष्ट एकेडेमीको विद्यालय भ्यान बिहिबार साँझ बागलुङ नगरपालिका–३ हाडेपाखामा दुर्घटना भएको थियो । दुर्घटनापछि दुर्घटनामा परेका अभिभावक र सरोकारवालाले सर्वपक्षीय छानविन समितिको माग गरेपछि शुक्रवार सर्वपक्षिय बैठक बसेको हो ।
बैठकले जिल्ला शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख विश्वबन्धु अर्याल संयोजक रहेको समिति गठन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । समितिका सदस्यहरुमा यातायात व्यवस्था कार्यालयका मेकानिकल ईञ्जिनीयर सुरेश जैशवाल, प्याव्सन र एन प्याव्सनका प्रतिनिधि दलबहादुर थापा, पीडित अभिभावकका तर्फबाट प्रिया किसान र कुशल बोहोरा, वरिष्ठ नायब निरीक्षक मिन बहादुर कुँवर, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खिमबहादुर विक रहेका छन् ।





