सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

प्रचण्डलाई बोलाएको कास्की-३ ले यसपटक कसलाई चुन्ला ?

प्रचण्डलाई बोलाएको कास्की-३ ले यसपटक कसलाई चुन्ला ?

चिसो हावापानी र आफ्नै थातथलोमा राख्दा पत्नी सीताको स्मरणशक्ति फर्कन्छ र स्वस्थ हुन्छिन् कि भन्ने आशाले प्रचण्ड कास्की-३ प्रति सकारात्मक बनेका थिए ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ४ २०८२, सोमबार

पोखरा/गएको पुस १० गते बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की क्षेत्र नम्बर ३ को बैठकले संयोजक प्रचण्डलाई १ नम्बरमा राख्दै प्रतिनिधि सभा निर्वाचनका निम्ति प्रत्यक्षतर्फ १६ जनाको नाम सिफारिस ग¥यो । सिफारिसमा प्रचण्डकी बुहारी सिर्जना त्रिपाठीको नाम पनि सामेल थियो । कास्की क्षेत्र नम्बर ३ प्रचण्डको जन्मथलो,ससुराली र बुहारीको माइती पनि हो । अन्नपूर्ण गाउँपालिकाको लेबाडेमा जन्मेका प्रचण्डले कास्की हैन,जन्मथलो छिचोलेर अगाडि बढ्ने मध्यपहाडी राजमार्गले छोएको रुकुम पूर्व रोजे । बागलुङको पातीहाल्ने कटेपछि लुम्बिनी प्रदेशमा पर्ने रुकुम पूर्वको सीमा सुरु हुन्छ ।

चितवन छाड्ने मनस्थिति बनाएका प्रचण्ड सुरक्षित क्षेत्रको खोजीमा थिए । नेकपाका एक नेताका अनुसार २०७९ को चुनावताका चितवन छाड्ने क्रममा प्रचण्डलाई कास्की ३ बाट चुनाव लडाउनका लागि प्रयास पनि भएको थियो । धर्मपत्नी सीताको स्वास्थ्यलाई मध्यनजर राख्दै प्रचण्ड आफै पनि लेवाडेमा सानो घर बनाएर बस्ने कि भन्ने मनस्थितिमा थिए । चिसो हावापानी र आफ्नै थातथलोमा राख्दा पत्नी सीताको स्मरणशक्ति फर्कन्छ र स्वस्थ हुन्छिन् कि भन्ने आशाले प्रचण्ड कास्की ३ प्रति सकारात्मक बनेका थिए । प्रचण्डका निम्ति सो क्षेत्रमा जग्गा पनि हेरिएको थियो । तर,त्यस्तो भएन । २०७९ को चुनावमा माओवादी र कांगे्रससहितको गठबन्धन थियो । प्रचण्ड स्वयं कास्की आउँदा चुनाव जित्ने आँकलन पनि थियो । तर, डा.बाबुराम भट्टराईले आफ्नो निर्वाचन क्षेत्र छाडेपछि उनी गोर्खा २ पुगे । चुनाव जिते,प्रधानमन्त्री बने । प्रधानमन्त्री रहेकै बेला २०८० सालको असार ७ गते सीताले धर्ती छाडेपछि लेवाडेमा घर बनाउने योजना पनि तुहियो ।

त्यसो त,उनी आउने भनिएको कास्की ३ मा माओवादीकै उम्मेदवार रामजी बराल‘जीवन’ले पनि कहाँ जिते र ? एमालेका दामोदर वैरागीले बाजी मारे । वैरागीले २२ हजार ९८० मत ल्याउँदा नेकपा माओवादीका जीवनले १७ हजार ५३५ मत मात्र पाए । चर्चामा नरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले तेस्रो हुँदै १२ हजार १८० मत ल्याइदिए । कुल १ लाख १ हजार ७१५ मतदाता रहेकामा ६१ हजार २८१ मत खसेको थियो ।

समानुपातिकतर्फ नेकपा एमालेको १९ हजार ३४६ मत आउँदा नेपाली कांग्रेसको १५ हजार ८३१, राष्ट्रिय स्वतन्त्र पार्टीको १४ हजार १४३,माओवादी केन्द्रको ३ हजार ९ सय ६३,राष्ट्रिय प्रजातन्त्र पार्टीको २ हजार ९४१,एकीकृत समाजवादीको ६८७ मत आएको थियो । प्रदेशसभामा एमालेले २३ हजार ५१०,कांग्रेसले १७ हजार ४९९,माओवादी केन्द्रले ५ हजार २३४,राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ हजार ५९७,हाम्रो नेपाल पार्टीले २ हजार ५५४ र एकीकृत समाजवादीले १ हजार ११७ मत ल्याएका थिए । प्रदेशसभामा राष्ट्रिय जनमोर्चाले ३८१ मत ल्याउँदा प्रतिनिधिसभामा चाहिँ १९५ मतमात्र ल्याएको थियो ।

२०७९ को चुनावी नतिजाले प्रचण्डलाई सो क्षेत्रमा ‘आऊ’ भनेकै थिएन । त्यहाँ अहिले नेकपाले एमाले पृष्ठभूमिका पुराना वामपन्थी नेता गोपाल गिरीलाई अगाडि सारेको छ ।सो क्षेत्रमा ५५ हजार १५ महिलासहित १ लाख ७ हजार ५६० जना मतदाता छन् भने चुनावी मैदानमा १५ उम्मेदवार । यो क्षेत्रमा ‘कोर पोखरा’ का १,३,५,६ र पछि गाभिएका १८,१९,२२ र २५ अनि अन्नपूर्ण र माछापुच्छे« गाउँपालिकाका सबै वडा पर्छन् ।

एमालेले पुरानै विजेता दामोदरलाई उभ्याउँदा अघिल्लोपटक ठाउँ छाडेको नेपाली कांग्रेसले युवा नेता मनोज गुरुङलाई अगाडि सारेको छ । रास्वपाले चाहिँ विना गुरुङलाई जनअनुमोदित हुने अवसर दिएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट केन्द्रीय सदस्य अर्जुन खनाल मैदानमा छन । उज्यालो नेपाल पार्टीका तर्कबहादुर गुरुङ,नेकपा माओवादीको तर्फबाट कमल खड्का विश्वकर्मा,नेपाल मातृभूमि पार्टीबाट ओमप्रकाश विश्वकर्मा, आम जनता पार्टीबाट कुशल थापा क्षेत्री,मंगोल नेशनल अर्गनाइजेसनका तर्फबाट जीवनबहादुर गुरुङ, संयुक्त नागरिक पार्टीबाट टेकबहादुर सार्की,नेशनल रिपब्लिक नेपालबाट तिरथ गुरुङ, नेपाल जनमुक्ति पार्टीबाट मीनबहादुर थापा, नेपाल मजदुर किसान पार्टीबाट मीना न्हिसुतु र हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट हितकाजी गुरुङले उम्मेदवारी दिएका छन् ।

२०४८ सालको चुनावमा यो क्षेत्रबाट एमालेका सोमनाथ अधिकारी ‘प्यासी’ विजयी बनेका थिए । १७ हजार ८१८ मतसहित प्यासी विजयी हुँदा नेपाली कांग्रेसका महादेव गुरुङले १६ हजार २५३ मत प्राप्त गरेका थिए । २०५१ मा भने झिनो अन्तरले नतिजा उल्टियो । कांग्रेसका कृष्णबहादुर गुरुङ १४ हजार ९८० मत ल्याउँदा प्यासीले १४ हजार ८३१ मत पाए । २०५६ सालमा पनि कांग्रेसका प्रकाशबहादुर गुरुङले प्यासीलाई हराए । गुरुङले १८ हजार ७७९ मत पाउँदा प्यासीले १६ हजार ५१ मतमा चित्त बुझाए ।

२०६४ सालको संविधान सभा चुनावमा भने कास्कीलाई ४ क्षेत्र बनाइयो । अहिले ३ नम्बर रहेको क्षेत्र ४ हुँदा त्यहाँबाट माओवादी केन्द्रकी दुर्गा विक १४ हजार ८६८ मतसहित विजयी बनिन् । प्रतिस्पर्धी एमालेकी सीता ओली गिरीले १४ हजार ४२८ मतसहित विकलाई पच्छ्याइन् । २०७० सालमा नतिजा उल्टिँदा सीताले १५ हजार ४३८ मत प्राप्त गरिन् भने माओवादीलाई पछि पार्दै कांग्रेसका महादेव गुरुङले १३ हजार १४७ मतसहित दोस्रो स्थान प्राप्त गरे ।
२०७४ सालको चुनावमा एमाले र माओवादी केन्द्र सँगै थिए । तत्कालीन नेकपाबाट उम्मेदवारी दिएका जगत विश्वकर्माले कांग्रेस उम्मेदवार शुक्रराज शर्मालाई सहजै हराए ।पछि खेलकुदमन्त्रीसमेत बनेका विश्वकर्माले ३२ हजार ६९० मत पाएका थिए ।

सभापति बनेपछि पहिलोपटक पोखरा आएका सभापति गगन थापाले त्यही कास्की क्षेत्र नम्बर ३ को एउटा घटना सुनाउँदै भनेका थिए,‘
केही वर्ष अगाडि म दशैंको बेलामा परिवारसहित पुनहिल आएको थिएँ । फर्कंदा घान्द्रुकमा रात बिताएँ । भोलिपल्ट बिहानको कुरा हो । मैले सम्झेसम्म ध्रुव गुरुङ दाइ हुनुपर्छ । उहाँले मलाई अन्नपूर्ण संरक्षण क्षेत्रको कार्यालयनेरको चोकमा लगेर उम्भ्याउनुभयो र भन्नुभयो–यहीँबाट हो हामीलाई माओवादीले अपहरण गरेको । यहीँबाट लगेर हो–दिलमान गुरुङ र ईश्वर गुरुङको हत्या गरेको । हामी केही उम्कियौँ । जाने बेला उहाँले एउटा कुरा गर्नुभयो । तपाईंसँग हामीले केही पनि मागका थिएनौँ । के हामीलाई तपाईंहरुले रुखमा भोट हाल्न पनि नदिने ? के ठूला नेताले भनेको कुरा हामीले खुरूखुरू मानिदिनुपर्ने ? मसँग उत्तर थिएन । म चुपचाप लागेर बसेँ । अहिले म उत्तर लिएर आएको छु । योपटक कांग्रेसले रुखबाहेक अन्यत्र भोट हाल्दैन । छाती ठूलो बनाएर, ढुक्क भएर गएर रुखमा भोट हाल्ने हो ।’

सभापति गगनले त्यसो भनेपछि लामो ताली पाए ।हो,माओवादी जनयुद्धको बेला कांग्रेसका नेताहरु मारिए,विस्थापनमा परे । शान्ति प्रक्रियामा आएपछिको चुनावमा कांग्रेसले त्यही माओवादीसँग सहकार्य ग¥यो । अघिल्लो चुनावमा उम्मेदवार नै उठाएन । माओवादीका रामजी बराल ‘जीवन’लाई समर्थन ग¥यो । कास्की ३ को प्रदेशतर्फ ‘ख’ मा भाग पाउँदा चाहिँ आफ्नो उम्मेदवार प्रकाश बरालको नाममा विजय लेखायो । प्रकाशले पोखरा बैदामका रैथाने,युवा संघका नेता र प्रदेश सभाका निवर्तमान सांसद राजीव पहारीलाई हराएका थिए । सो प्रदेशको ‘क’ मा माओवादीका दुर्गादत्त भण्डारीले पनि चुनाव जितेनन् । त्यो चुनावी नतिजाको समीक्षा गर्ने क्रममा तत्कालीन माओवादी केन्द्रले गठबन्धन कसिलो नभएको र कांग्रेससँगको चुनावी तालमेल ठीक ढंगले चल्दो रहेनछ भन्ने निश्कर्ष निकाल्यो ।

योपटक कांग्रेस एक्लै चुनावी मैदानमा छ र उसले सो भेगमा खाइखेलेका सोही क्षेत्रका सभापति मनोज गुरुङलाई मैदानमा उतारेको छ । मनोज त्यही व्यक्ति हुन्–जो कांग्रेस विशेष महाधिवेशनको विपक्षमा थिए । राजनीतिको सुरुवाति चरणदेखि नै शेरबहादुर देउवा क्याम्पमा रहेका उनले विशेष महाधिवेशन सम्पन्न भएपछि पनि तरुण दलका सभापति विद्धान गुरुङ नेतृत्वमा सानेपामा रहेको पार्टी कार्यालयमा गगन पक्षलाई रोक्ने तयारीकै पक्षमा थिए । तर,निर्वाचन आयोगले आधिकारिता दिएसँगै विद्धानहरु लाखापाखा लाग्दा उनी चाहिँ टिकट पाउने भाग्यमानीमा दरिए । अहिले उनी जनतामाझ छन् । कांग्रेस एक भएको र बदलिएको सन्देश बोकेर गाउँ पसेका उनलाई नयाँ–पुराना सबै कांग्रेसीले सघाएका छन् । कारण–जहाँ भए पनि टिकट पाउनलायक थिए भन्नेमा कांग्रेसी एकमत छन् । उत्साही कांग्रेसजन,मिहिनेती र समाजसँग भिजेका मनोज योपटक जनताको सुख–दुःखको साथी बन्ने एजेण्डा बोकेर जनतामाझ गएको बताउँछन् ।

‘ठूला भाषण गर्न आउँदैन । म हिजो पनि जनताकै बीचमा थिएँ । उहाँहरुको समस्या लिएर धाउनुपर्ने सबै ठाउँ धाएँ । त्यही काम गर्दागर्दै उम्मेदवार बनेको छु,यो क्षेत्रको समस्या र जनताको चाहनालाई शिरमा राखेर हिँड्छु,’उनले भने ।

एमालेले दोहो¥याएका दामोदर बैरागी पनि कम्ता चाहिँ छैनन् । अघिल्लो कार्यकाल पूरा गर्न नपाएको र कास्की ३ का जनताको एजेण्डा सदनमा पु¥याउने काम गरिरहेको बेला एकाएक हट्नु परेको र बाँकी काम पूरा गर्ने प्रतिवद्धता उनको छ ।

उनले भन्ने गरेका छन्,‘ यो भूगोलको लागि मैले सदनमा पटक–पटक बोलेँ । केही अधुरा र राष्ट्रिय राजनीतिमा महत्व राख्ने विषयहरु पूरा भएका छैनन् । ती काम पूरा गर्नकै निम्ति फेरि घरदैलोमा आएको हुँ । देश अहिले विषम परिस्थितिमा छ र एमालेको विजयलेमात्र त्यसलाई पार लगाउँछ ।’

अघिल्लो चुनावमा प्राप्त मतबाटै रास्वपाको उम्मेदवारलाई कम आँक्न मिल्दैन । योपटक रास्वपाले सो क्षेत्रमा विना गुरुङलाई अघि सारेको छ । उनी रास्वपाले अघि सारेका केही निश्चित महिलामध्ये एक हुन् । सो क्षेत्रबाट टिकटका प्रवल दावेदार मानिएका व्यवसायी यदु अधिकारीलाई पछि पार्दै टिकट पाउनुमा उनको सामाजिक व्यक्तित्व तथा कास्कीको जनजाति बहुलतालाई हेरेर पनि उनलाई टिकट दिइएको रास्वपा नेताहरु बताउँछन् । रास्वपाले कास्की १ मा गनेश पौडेल र २ मा उत्तम पौडेललाई उम्मेदवार बनाएको छ । विना अहिले सबैलाई झस्काउने हैसियतकी उम्मेदवार हुन् । रास्वपाको पक्षमा देखिएको लहरले कास्की ३ लाई छुनेमा उनी ढुक्क देखिन्छिन् ।

एमालेको पनि साथ हुनेछ । कास्कीको उत्तरी क्षेत्र र मुख्य सहरी क्षेत्रले पत्याउनेमा ढुक्क रहेका उनी यो चुनावमा सबैभन्दा परिवर्तनको पक्षधर नै नेकपा भएको जिकिरसहित घरदैलोमा छन् ।

राप्रपाका उम्मेदवार अर्जुन खनाल बोल्नमा माहिर छन् । बैदाममा पर्यटन व्यवसाय गर्ने खनालसँग राजा र हिन्दु राज्यको एजेण्डा छँदैछ । कास्कीमा पछिल्लो समय राप्रपा बलियो भएको र आफ्नो एजेण्डामा धेरै नेपाली सहमत हुँदै गएकाले माहौल आफ्नो पक्षमा आउने उनको आशा छ । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालका तर्कमान गुरुङ, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका हितमान गुरुङहरु पनि सो भूगोल चिनेका उम्मेदवार हुन् । माछापुच्छे«को फेदीदेखि फेवातालको किनारसम्मको यो भूगोलका केही गाउँमा पुग्न पैदल नै हिँड्नुपर्छ । चुनाव पनि आखिर यात्रा त हो ! गन्तव्यजस्तै जितको बाटो पहिल्याउने काम ‘पथिक’ कै हो !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->