
म्याग्दी/ महाशिवरात्रीको अवसर पारेर बेनी नगरपालिका–४ सुर्केमेलास्थित शिवालय मन्दिरमा गणेशको मूर्ति चढाउने दम्पत्तीलाई शिवालय मन्दिर व्यवस्थापन समितिले सम्मान गरेको छ ।
हाल चितवनको राप्ती नगरपालिका–९ बस्ने सुर्केमेलाका लक्ष्मीप्रसाद पौडेल र पवित्रा पौडेललाई मन्दिर व्यवस्थापन समितिले सम्मान गरेको हो । शिवालय आधारभूत विद्यालय सुर्केमेलाका पूर्व प्रधानाध्यापक खड्गबहादुर पुनका अनुसार पौडेल दम्पत्तीले मन्दिरका लागि १८ इन्च अग्लो मूर्ति प्रदान गरेका थिए । दम्पत्तीलाई कदरपत्र, खादा र दोसल्ला ओडाएर सम्मान गरिएको हो ।
गणेश मूर्ति शिवरात्रीको अवसर पारेर प्राणप्रतिष्ठा गरिएको थियो । त्यसअघि सिंगादेखि सुर्केमेलासम्म भजन कीर्तन सहित पुगिएको थियो । सुर्केमेला आमा समूह तथा सिंगाका आमा समूह एवम् अन्य धार्मिक भक्तजनहरुको सहभागितामा नाचगान तथा किर्तन भजनसहित सिंगादेखि सुर्केमेला मन्दिरसम्म भगवानको भूर्ति लगेर विधिपूर्वक प्राणप्रतिष्ठा गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर क्षेत्रीले जानकारी दिए । मन्दिरका संरक्षक इन्द्रबहादुर खत्रीले मन्दिरका लागि धार्मिक व्यक्तित्वहरुबाट मिल्ने सहयोगले नै धर्म रक्षा र आस्था बृद्धिमा सहयोग मिल्ने बताए ।
स्वर्गीय नरवहादुर केसीको अग्रसरतामा शिवालय मन्दिर २०४६ सालमा स्थापना गरिएको थियो । यसअघि मन्दिरमा शिवजीको मूर्ति राख्नका लागि इन्द्रबहादुर खत्रीले आर्थिक सहयोग गरेका पुनले बताए । मन्दिर व्यवस्थापन समितिका सचिव देउवहादुर खत्री तथा अध्यक्ष कुलबहादुर क्षेत्रीले पौडेल परिवारलाई सम्मान गरेका हुन् ।





