आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङ २ मा कसले मार्ला बाजी ?

बागलुङ २ मा कसले मार्ला बाजी ?

सन्त नेता कृष्ण प्रसाद भट्टराईलाई पराजित गर्न गिरिजाप्रसाद कोइरालाले रोपेको अन्तरघातको बीजले मलजल पाई वनमाराझै देशव्यापी फैलिएको छ । अन्तरघातको खेल नेपाली कांगे्रसभित्र बडो रुचिकर अनि हेर्नलायक नै हुने गर्छ । अन्तरघातको खेल भइहालेमा विपक्षी दलले सहजै बाजी मार्नेछन् ।


  • जीवन भण्डारी
  • फाल्गुन ६ २०८२, बुधबार

चिनियाँ नेता तङ स्याओ पिङको भनाई छ – “बिरालो कालो होस् या सेतो उसको काम मुसा मार्ने नै हो ।” जुन भनाई राजनीतिक दल अनि ति दलका नेतासँग सम्बन्धित छ । पश्चिम बागलुङका जनताले कस्तो बिरालोलाई माथि पठाउँलान् त ? हेर्न बाँकी नै छ ।

प्रतिनिधि सभा निर्वाचन हुने दिन नजिकिदै छ । देशभर चुनावी रौनक छाएको छ । पश्चिम बागलुङ अछुतो हुने कुरै भएन् । यो पटक बाग्लुङ क्षेत्र नम्बर २ मा नेपाली काँगे्रस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य केही साना दलहरुले चुनावी प्रतिस्पर्धा गर्दै छन् ।

बहुदल आएपछि भएको संसदीय निर्वाचनमा वि.सं. २०४८ मा ओमकार प्रसाद गौचन (नेपाली काँगे्रस), वि.सं. २०५१ (मध्यवधि निर्वाचन) र वि.स.२०५६ (संसदीय आम निर्वाचन ) मा परि थापा (राष्ट्रिय जनमोर्चा) ले बागलुङ पश्चिम भेगको नेतृत्व गरि प्रतिनिधि सभामा गएका छन् । देशमा भएको दश वर्ष लामो माओवादी युद्धको कारण लामो समय निर्वाचन हुन सकेन । वि.सं. २०६२÷६३ को परिवर्तनपछि पहिलो संविधानसभा निर्वाचन वि.सं. २०६४ मा नरबहादुर पुन (नेपाली काँगे्रस), त्यस्तै दोस्रो संविधानसभा निर्वाचन वि.सं. २०७० मा ज्ञान कुमारी छन्त्याल (नेपाली काँगे्रस) बाट निर्वाचित भएका थिए । वि.स. २०७२ मा नयाँ संविधान जारी भएपछि वि.सं. २०७४ मा भएको संघीय प्रतिनिधि सभा निर्वाचनमा नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चा सहितको गठबन्धनको सहयोगमा नेकपा (माओवादी केन्द्र) का देवेन्द्र पौडेल विजयी भए । उनले नेपाली काङ्गे्रसका उम्मेदवार नरबहादुर पुनलाई पराजित गरेका थिए ।

संघीय प्रतिनिधि सभा निर्वाचन २०७९ मा नेपाली काँगे्रस, राष्ट्रिय जनमोर्चा, नेकपा. (एस) सहितको गठबन्धनले नेकपा (माओवादी केन्द्र) का उम्मेदवार देवेन्द्र पौडेललाई विजयी गरि केन्द्रमा पठाए । उनले नेकपा (एमाले) को उम्मेदवार मन्जु शर्मा चालिसेलाई पराजित गरेका थिए । कुल ९५,५६१ मतमध्ये ५१,१७४ (५३.५%) खसेको थियो ।

आगामी फागुन २१ मा हुन गइरहेको निर्वाचनमा बागलुङ क्षेत्र नं.२ मा कुल ९५,३३५ जना मतदाता रहेका छन् । विगतको दुई निर्वाचनमा बागलुङ क्षेत्र नं. २ का जनताले चुनावी गठबन्धनको कारण आफुले इच्छाएको पार्टी अनि उम्मेदवारलाई मतदान गर्न पाएका थिएनन् । यो पटकको निर्वाचनमा राष्ट्रिय जनमोर्चा बाहेक अन्य दलहरुले आफुलाई मन लागेको दल अनि उक्त दलको उम्मेदवारलाई मतदान गर्न पाउने छन् । त्यसैले चुनावी भिडन्त रुचिकर हुने देखिन्छ ।

नेकपा (एमाले)ले मन्जु शर्मा चालिसेलाई उम्मेदवार बनाएको छ । नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले ज्ञामनाथ गैरेलाई चुनावी मैदानमा उतारेको छ । त्यस्तै नेपाली काँग्रेसले टेकराज पौडेल, रास्वपाले सोम शर्मालाई । चुनावी चहलपहल हेर्दा यि चार जनाबीच प्रतिस्पर्धा हुने देखिन्छ । यो पटकका उम्मेदवारहरु हेभिवेट भने होईनन् । अर्थात् राष्ट्रिय स्तरमा प्रभावशाली व्यतिmहरु होइनन् । त्यसैले गर्दा कसले बाजी मार्ला ? भन्ने कुरा अनुमान लगाउन समेत मुस्किल छ ।

अघिल्लो चुनावको आँकडा हेर्दा रास्वपाले पार्टी स्थापना भएको ६ महिनाको अवधिमा प्रत्यक्षतर्फ २ हजार ३ सय २७ मत लिएको थियो । पछिल्लो समय जेन—जी विद्रोहपछि देशव्यापी रास्वपाप्रति आकर्षण बढ्दो छ । बागलुङ क्षेत्र नं.२ पनि त्यसको प्रभाव देखिन्छ । गाउँमा भन्दा विदेश हुनेहरुले बढी सर्मथन गरेको देखिन्छ । त्यसैले गर्दा चुनावी गतिविधिमा रास्वपाका कार्यकर्ता उत्साहित भई लागेको देखिन्छ ।

तत्कालिन नेकपा (माओवादी केन्द्र) जो संघीय प्रतिनिधि सभा निर्वाचन – २०७९ मा प्रतिनिधि सभामा पुगेको थियो । अहिले नेकपा (एस) सहित दर्जनौ स–साना कम्युनिष्ट घटकबीच एकिकृत भइ नेपाली कम्युनिष्ट पार्टी नामधारण गरि चुनावी मैदानमा बलियो दाबेदारी प्रस्तुत गरी ज्ञामनाथ गैरे उत्रिएका छन् । उनलाई राष्ट्रिय जनमोर्चाको सर्मथन छ । जसको पश्चिम बागलुङमा राम्रो छाप रहेको छ । नेपाली कम्युनिष्ट पार्टीलाई आफ्नो बिरासत जोगाउनु पर्ने बाध्यता छ । विगतको निर्वाचनहरुमा कहिले नेकपा एमाले त कहिले नेपाली काँग्रेसको बैशाखी टेकेर विजयी भई केन्द्रमा गएको तत्कालिन नेकपा (माओवादी केन्द्र) हालको नेपाली कम्युनिष्ट पार्टीलाई विरासत जोगाउन उत्तिकै चुनौतीपूर्ण पनि छ ।

नेकपा (एमाले) ले मन्जु शर्मा चालिसेलाई पुनः दोहो¥याएको छ । उनी बाग्लुङ क्षेत्र नं. २ मा एकमात्र महिला उम्मेदवार हुन् । प्रतिििीध सभा निर्वाचन सदस्यामा महिलाहरुको न्युन उपस्थिती रहेको बेला उनको एकल सिफारिसले देशब्यापी चर्चा कमाएको थियो । भनिन्छ, ‘राजनीति निर्मम खेल हो ।’ उक्त खेल मैदानमा दोहोरिएर उत्रिनु चानचुने कुरा होईन । यस मानेमा मन्जु शर्मा चालिसे आँटिली महिला मान्नुपर्छ । अघिल्लो संघीय प्रतिनिधि सभा निर्वाचन – २०७९ मा बलियो गठबन्धनको सामना गरेकी उनले गठबन्धनको साझा उम्मेदवार देव्ेन्द्र पौडेलले २४ हजार ७ सय ९४ मत प्राप्त गर्दा २० हजार १ सय ९३ मत प्राप्त गरेकी थिईन् । मतान्तर ४ हजार ६ सय १ थियो । उनले उत्साहाजनक मत प्राप्त गरेकी थिईन् । अघिल्लो मत जोगाउन सकेको खण्डमा चालिसेलाई विजयी हुनका लागि सहज हुने अनुमान लगाउन सकिन्छ । तर, अवस्था त्यस्तो नहुन पनि सक्छ । उसो त २०७४ सालमा भएको निर्वाचनमा वाम गठबन्धनसँग पराजित भएका नरबहादुर पुनले देव्ेन्द्र पौडेलले २८,८२७ मत प्राप्त गर्दा १९,९०५ मत प्राप्त गरेका थिए । यस अर्थमा पुरानो मतदाताहरुमा भर पर्ने अवस्था भने छैन । नतिजामा उथलपुथल हुने आकलन गर्न सकिन्छ ।

त्यस्तै यसअघिको दुई निर्वाचनमा प्रतिनिधि सभामा पुग्न नसकेको नेपाली कांग्रेस यस पटक अन्य पार्टीहरुको तुलनामा बागलुङ क्षेत्र नं. २ मा उसको जनसंगठन बलियो छ । ६ स्थानीय तहमध्ये ४ वटामा नेपाली कांगे्रसको नेतृत्वमा रहेको छ । प्रदेश संघिय प्रतिनिधि दुवै उसैको छ । तसर्थ जनप्रतिनिधिहरुको डेलिभरी कस्तो छ ? जनता सन्तुष्ट छन् ? छैनन् ? त्यसमा पनि भर पर्छ । बागलुङ क्षेत्र नं. २ बहुदल आए देखिनै कम्युनिष्टको गढ मानिन्छ । वामपन्थी शक्ति एक भएको खण्डमा नेपाली काँगे्रसको कमजोर नै हो । तर यो पटक वामपन्थीहरु एक ठाउँमा नरहेको अवस्था छ । मतलब स्वतः मत विभाजित हुने छ । त्यसको फाइदा नेपाली कांग्रेसलाई हुनेछ ।

अघिल्लो निर्वाचनमा समानुपातिक आँकडा हेर्दा कांग्रेस पहिलो दल पनि हो । समानुपातिकतर्फ नेपाली कांग्रेसले १६ हजार २ सय ८३ मत प्राप्त गर्दा नेकपा (एमाले) ले १५,४६८ मत प्राप्त गरेको थियो । कम्युनिष्ट पार्टीहरुको मत विभाजन भएको अवस्थामा तुलनात्मक रुपमा कांग्रेस बलियो देखिन्छ ।

तरल सन्त नेता कृष्ण प्रसाद भट्टराईलाई पराजित गर्न गिरिजाप्रसाद कोइरालाले रोपेको अन्तरघातको बीजले मलजल पाई वनमाराझै देशव्यापी फैलिएको छ । अन्तरघातको खेल नेपाली कांगे्रसभित्र बडो रुचिकर अनि हेर्नलायक नै हुने गर्छ । अन्तरघातको खेल भइहालेमा विपक्षी दलले सहजै बाजी मार्नेछन् ।

शेष पश्चत् पश्याम ! ! !

(ढोरपाटन नगरपालिका–६ का स्थायी बासिन्दा भण्डारी राजनीति शास्त्रका विद्यार्थी हुन् । उनी हाल पृथ्वी नारायण क्याम्पस पोखरामा अध्ययनरत छन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->