आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङका आठ उमेदवार एउटै मञ्चमा

बागलुङका आठ उमेदवार एउटै मञ्चमा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ६ २०८२, बुधबार

बागलुङ/बागलुङ क्षेत्र नं. १ का आठ उमेदवारले एउटै मञ्चमा बसेर जिल्लाको विकासको मार्गचित्र बताएका छन् । उनीहरुले विकास र कानून निर्माणको पाटोमा काम गर्ने प्रतिबद्धता जनाए ।

मंगलबार बागलुङ जेसीजले आयोजना गरेको प्रत्यक्ष संवाद कार्यक्रममार्फत उनीहरुले आफ्नो दलको एजेण्डा र आफूले गर्ने कामबारे पनि बताएका हुन् । उनीहरुले जेनजी आन्दोलन पछिको परिवर्तनलाई पनि स्विकारेर काम गर्ने बताए ।

नेपाली कांग्रेसका उमेदवार भीमबहादुर श्रीषले प्रोजेक्ट गर्भनेन्समार्फत सुशासन, आइटी दशकमार्फत रोजगारी सिर्जना र पर्यटन सर्किट बनाउने बताए । उनले किसानको समस्या समाधानका लागि बाँदर नियन्त्रण योजना र दलीतले उत्पादन गरेको दूधको बजारीकरणमा समेत काम गर्ने बताए । त्रिभुवन विश्वविद्यालयको पूर्व स्ववियु सभापति रहेका श्रीषले नीति निर्माण र विकासका योजनामा समान रुपमा अगुवाई गर्ने प्रतिबद्धता जनाए ।

एमालेका नेता हिराबहादुर केसीले सुशासन र स्थानीय विकासमार्फत समृद्धीको बाटोमा हिंडाउने बताए । उनले राष्ट्रियताको पक्षमा अडिग रहने, जनताको सुखदुःखमा साथ दिने धारणा राखे । धौलागिरि बहुमुखी क्याम्पसको स्ववियु सभापति भएदेखिनै समाज र देश परिवर्तनको काममा लागेकोले निर्वाचन जित्दा र हार्दा पनि निरन्तर काममै लागेको उनको धारणा थियो । अहिले पनि जिल्लाको विकासको एजेण्डामा अगुवाई गरेरै जान तयार रहेको उनले बताए ।

रास्वपाका नेता सुशिल खड्काले हरित विकासमार्फत रोजगारी सिर्जना गर्ने प्रतिवद्दता जनाए । उनले यसअघि गरेको हिमाल सफाइको अभियान र वातावरणको क्षेत्रमा पनि युवालाई रोजगारी दिने, अलपत्र विकासलाई गति दिन अगुवाई गर्ने बताए । उनले पुराना दलले काम नगरेकोले भ्रष्टाचार बढेको समेत टिप्पणी गरे ।

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमोर्चाका उमेदवार कृष्ण अधिकारीले सुशासनका लागि निगरानी नै पहिलो जिम्मेवारी बन्ने बताए । राप्रपाका कल्याण आचार्यले हिन्दु धर्म र राजसंस्थाका लागि अगुवाई गर्ने धारणा राखे । नेपाल कम्युनिष्ट पार्टी माओवादीका टेकबहादुर केसीले जनयुद्धका लक्ष्य पुरा गर्ने काममा लाग्ने बताए ।

प्रगतीशिल लोकतान्त्रिक पार्टीका नेता चित्र सापकोटाले परिवर्तनका लागि युवाहरु गोलबद्ध गर्ने विकास र सुशासनमा काम गर्ने बताए । मानवतावादी पार्टीका नेता भक्तबहादुर विकले न्यायका लागि लड्ने बताए ।

बागलुङ जेसीजले आयोजना गरेको कार्यक्रममा स्थानीयले एउटै मञ्चमा बसेर सबै दलका नेतालाई प्रश्न सोध्ने मौका पनि पाएका थिए । लामो कसरत पछि जेसीजले यो कार्यक्रम गरेको अध्यक्ष अन्जिला श्रेष्ठले बताइन् । कार्यक्रम जेसीजका अगुवा ताराप्रसाद शर्माको संचालन र उपाध्यक्ष स्वीकृति भारीको स्वागतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->