बागलुङ/बुधबार बिहान बडिगाड गाउँपालिका वडा नं. ८ को तिनघारेमा जीप दुर्घटनाका घाइतेहरुको गलकोट नगर अस्प्तालमा उपचार शुरु भएको छ ।
बडिगाडबाट गलकोट नगरपालिका वडा नं. ३ हटिया जाँदै गरेको ग ३ च ६५२१ नम्बरको जिप दुर्घटनामा परेको हो । उकालो चढ्ने क्रममा ब्रेक फेल भई गाडी अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
दुर्घटनामा घाइते भएका ७२ वर्षिय यामबहादुर श्रीस र ५७ वर्षिय वेदबहादुर श्रीसको अहिले गलकोट नगर अस्पतालमा उपचार भईरहेको अस्पतालका प्रमुख डा. राजेश पौडेलले जानकारी दिए । यम बहादुरको दायाँ निधार, खुट्टा र टाउकोमा चोट देखिएको तथा वेद बहादुरको भित्री चोट देखिएपनि बाहिर कुनै चोट नरहेको डा. पौडेलले बताए । उनका अनुसार, दुवैको अवस्था मध्यम रहेको छ ।
जीपमा सवार पाँच जनामध्ये एक जना सकुशल रहेको तथा ४० वर्षिय लिलबहादुर श्रीस, र सवारी चालक २० वर्षिय सुनिल विकलाई सामान्य चोट लागेको गलकोट नगरपालिका वडा नं. १० पाण्डवखानीका पुर्व वडाध्यक्ष तिलक घर्ति मगरले जानकारी दिए ।





