सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कास्कीमा निर्वाचनका लागि २२ सय कर्मचारी र ११ सय स्वयंसेवक परिचालन

कास्कीमा निर्वाचनका लागि २२ सय कर्मचारी र ११ सय स्वयंसेवक परिचालन

निर्वाचनका लागि ५१ प्रकारका सामग्री आइपुग्यो


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ७ २०८२, बिहिबार

पोखरा/आगामी निर्वाचनका लागि कास्की जिल्लामा आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा आवश्यक कर्मचारी, सुरक्षाकर्मी, सामग्री व्यवस्थापन र मतदाता शिक्षाका कामहरू तीव्र पारिएको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ । निर्वाचन सम्पन्न गर्न कास्कीमा कुल ३ हजार ३ सय जनशक्ति खटिने भएका छन् । जसमा २ हजार २ सय कर्मचारी र १ हजार १ सय जना स्वयंसेवक छन् ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख नारायण ढकालका अनुसार एउटा मतदान केन्द्रमा ६ जना कर्मचारी र ३ जना स्वयंसेवक गरी ९ जनाको टोली खटाइनेछ । ‘स्वयंसेवकका रूपमा हामीले कार्यालय सहयोगी र स्थानीय स्तरमा यसअघि काम गरेका अनुभवी व्यक्तिहरूलाई प्राथमिकता दिएका छौँ,’ उनले भने, ‘कर्मचारीहरू पनि सोही अनुसार व्यवस्थापन गरिएको छ ।’ उनीहरूलाई ५ दिनको नियुक्ति दिइनेछ । फागुन १७ गतेदेखि उनीहरू सम्बन्धित मतदान केन्द्रमा पुगेर बुथ निर्माण र सर्वदलीय बैठक लगायतका काम गर्नेछन् ।

कास्कीमा १ सय ५३ मतदानस्थल र ३ सय ६३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले गरेको विश्लेषण अनुसार मतदान स्थलहरूलाई तीन तहमा वर्गीकरण गरिएको छ । जसमध्ये ५६ वटा अति संवेदनशील छन् भने ५४ वटालाई संवेदनशील मानिएको छ । बाँकी ४३ मतदानस्थलहरु सामान्य रहेको प्रशासनले जनाएको छ । सबै मतदानस्थलको स्थलगत अनुगमन गरेर सुरक्षा संवेदनशीलताका आधारमा तयारी समेत भैसकेको ढकालले बताए ।

सुरक्षाका लागि जिल्लामा ८ सय ६० नेपाल प्रहरी र १ हजार १ सय ९९ म्यादी प्रहरी परिचालन गरिनेछ । १२ वटा मोबाइल गस्ती टोली र आपत्कालीन अवस्थाका लागि २ वटा क्युआरटी टोली तयारी अवस्थामा राखिनेछ । करिब ९० प्रतिशत मतदान स्थलको सुरक्षा अनुगमन सकिएको ढकालले जानकारी दिए । कास्कीको क्षेत्र नम्बर ३ स्थित छोम्रोङ मतदान स्थल भौगोलिक रूपमा सबैभन्दा विकट भनेर निर्धारण गरिएको छ । सडक सन्जाल समेत नपुगेको उक्त मतदानस्थल पुग्न घान्द्रुकबाट ४ घण्टा पैदल हिँडेर पुग्न सकिन्छ । जिल्लाका ११ वटा मतदान स्थलमा इन्टरनेट सेवा नपुगेकाले सूचना आदानप्रदानमा केही चुनौती हुन सक्ने आकलन गरिएको छ ।

निर्वाचनका लागि ५१ प्रकारका सामग्री आइपुग्यो
निर्वाचनका लागि आवश्यक ५२ प्रकारका सामग्रीमध्ये ५१ प्रकारका सामग्री कास्कीमा आइसकेको प्रमुख ढकालले बताए । ‘मतपत्र सुरक्षा संवेदनशीलताका कारण आयोगले अन्तिम समयमा पठाउँछ, अरू सबै सामग्री आएर प्याकिङ भइरहेको छ,’ उनले भने । कार्यालयले मत बदर न्यूनीकरण गर्न जिल्लाका ७२ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन सुरु गरेको छ ।

फागुन ३ देखि १७ गतेसम्म चल्ने यो अभियानमा ५ वटा पालिकाका प्रत्येक वडामा १–१ जना गरी ७२ जना स्वयंसेवक खटिएका छन् । उनीहरूले घरदैलो र टोलमा पुगेर लक्षित वर्गलाई मतदान गर्ने तरिका सिकाइरहेका छन् । त्यसबाहेक हरेक पालिकामा अनुगमन संयोजक तोकिएको छ भने अनुगमनकर्ताको समेत अनुगमन गर्न जिल्लामा छुट्टै समिति गठन भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->