बागलुङ/पर्यटकीय महत्वको भकुण्डेमा सडक अभावले स्थानीय दुःखी छन् । उनीहरुले दैनिक जीवनयापन र कृषि उपजको ढुवानीमा सडक समस्या भएको गुनासो गरेका छन् ।
होमस्टे संचालक पनि सडक अभावमा चिन्तित छन् । भन्छन्, ‘कैयौं पाहुनाले सडकको कारण देखाएर होमस्टेमा आउन चाहेनन् ।’ भकुण्डे सदरमुकामबाट नजिक भएर पनि सडक संजालहरु जीर्ण छन् । ठेक्का लागेका सडक पनि समयमा नबन्दा स्थानीयले दुःख पाएका छन् । चाहेर पनि आउने पर्यटकहरु पुग्न सकेका छैनन् । बागलुङ नगरपालिका वडा नं. १० को भकुण्डेका स्थानीय भन्छन्, ‘सडक अप्ठ्यारो भएकोले पर्यटक भित्राउने र प्रवद्र्दनात्मक कार्यक्रम गर्न कठिन भएको छ ।’
दुरीले भकुण्डे १५ किमी मात्रै पर हो । २ हजार १ सय मीटर सम्मको उचाइमा फैलिएको भकुण्डेबाट धौलागिरि, अन्नपुर्ण, माछापुच्छ्रे, निलगिरी र मनास्लु हिमाली ऋखला देखिन्छ । सदरमुकाम बागलुङ बजारको दृश्य पनि आर्कषण देखिन्छ । तर १५ किमी परको गाउँ पुग्ने सडक जीर्ण छ । जसका कारण स्थानीयले दैनिक उपभोग्य सामाग्री लैजान समेत सास्ती खेप्ने गरेको स्थानीय यामबहादुर थापाले बताए । ‘हामी मेहेनत गरेर उब्जनी गर्ने, होमस्टे चलाएर पर्यटक भित्राउने काम गर्न तयार छौं’ थापाले भने, ‘सडकको कारण पाहुनाले दुःख पाएको गुनासो बढी आउँछ ।’ झण्डै २२ वर्षअघि खुलेको सडकको ट्रयाक अझै अलपत्र पर्दा सेवामुलक व्यवसाय चलाउन पनि कठिन भएको उनले बताए ।
भकुण्डे पशुपालन, कोदो र मकै जस्ता अन्न उत्पादन, तरकारी र साग उत्पादनमा अब्बल क्षेत्र हो । तर किसानले सिंचाइ अभावमा सोचेझै खेती गर्न नपाएको, खानेपानीको समस्याले गाउँ छाड्नेहरु बढेको र सडक अभावले शिक्षा र स्वास्थ्यको कारण देखाएर सदरमुकाम झर्ने बढेका छन् । वडा अध्यक्ष तिलबहादुर थापा नागरिकको सास्तीले चिन्तित भएको बताउँछन् । भन्छन्, ‘सडक सहज नभएसम्म अन्य जे–सुकै विकास गरेर पनि जनताले पत्याउने छैनन्’ उनले भने, ‘सुशासन दिएर पनि जनता अडिने अवस्था छैन, सडक स्तरीय बनाए मात्र नागरिक गाउँमा अडिन्छन् ।’ उनले नगरस्तरीय बजेटले मात्र यहाँ सडक स्तरीय बनाउन नसकेको, प्रदेश र संघिय बजेटका ठेक्काहरु अलपत्र परेको उनले बताए ।
भकुण्डेमा रहेका बराह ताल, भ्युवाइन्ट, होमस्टेले पर्यटक लोभ्याउने गर्छ । तर स्तरीय पदमार्ग समेत छैन । कतिपय विदेशी पाहुना भ्रमण गर्न चाहन्छन्, तर राम्रो पदमार्ग अभावमा लैजान नसकेको अनुभव पर्यटन व्यवसायीको छ । ‘कि त स्तरीय सडक चाहियो, कि राम्रो पदमार्ग चाहियो’ बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले भने, ‘क्षमता विकासका तालिम र प्रवद्र्धनका क्षेत्रमा निजी क्षेत्रले साथ दिन्छ, पुर्वाधारमा राज्यको लगानी बढाउनु पर्छ ।’ यहाँको अतिथि सत्कार होमस्टेमा मात्रै वर्षमा ३० हजार बढी पर्यटक पुग्ने गरेपनि सडक अभावले सहज यात्रा गर्न नसकेको गुनासो गर्छन् । पर्यटन प्रवद्र्दनमा सरोकारवालाको चासो भएमा विकासले गति लिन सक्ने उनको धारणा छ ।
भ्रमणको क्रममा कोरिया, अमेरिका, चीन र युरोपका पर्यटक समेत यहाँ पुग्छन् । अमेरिका र बेलायतका भेगन समूहहरु समेत बागलुङको भकुण्डे, रायडाँडाको बौद्व गुम्बा, काठेखोला गाउँपालिका ७ को बौर सम्मको पैदल यात्रा गर्न रुचाउने गर्छन् । यहाँ पैदलयात्रीले ७ दिन सम्मको यात्रा गर्दै आएका छन् । तर आर्कषक पदमार्ग भएमा अहिले आएका विदेशीको दोब्बर बढाउन सकिने पर्यटन व्यवसायी महादेव शर्मा बताउँछन् ।
आसन्न निर्वाचनका लागि पनि स्थानीयले स्तरीय सडक, खानेपानी र सिंचाइको मुद्दालाई चासोको रुपमा उठाएका छन् । ‘हामीलाई सडक राम्रो चाहियो, हामी आफ्नै व्यवसाय गरेर पनि खान्छौं’ स्थानीय टिका थापाले भनिन्, ‘खानेपानीको योजनाहरु अपुरा छन् बन्यो भने हामीलाई सहर चाहिएको छैन ।’ दैनिक उपभोग्य उत्पादन गरेर खानका लागि सिंचाइका लागि भएका पहलमा राजनीतिक नेतृत्वले साथ दिनुपर्ने उनले बताइन् । गाउँमा उत्पादन हुने पशुचौपाया र तरकारी तथा कृषि उपजलाई सहजै बजार पठाउन पाउने सडक कालोपत्र गरिदिन पनि उनले आग्रह गरिन् ।





