आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कपडा नयाँ लगाऔं तर दल पुरानो र अनुभवी नेता रोजौंः एमाले उमेदवार केसी

कपडा नयाँ लगाऔं तर दल पुरानो र अनुभवी नेता रोजौंः एमाले उमेदवार केसी

पत्रकार सम्मेलन गरेर केसीले आधारभूत तहको पूर्वाधार निर्माण र त्यसका लागि आधारभूत तहको काम गर्ने, कृषि क्षेत्रलाई व्यवसायिक र निर्यातमुखी बनाउने योजना सुनाए ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ९ २०८२, शनिबार

बागलुङ/नेकपा (एमाले) का नेता हिराबहादुर केसीले निर्वाचनमा अनुभवी नेता र पुरानो दल रोज्नुपर्ने बताएका छन् । उनले कपडा र जुत्ता नयाँ लगाउने तर नेतृत्व भने पुरानो चाहिने बताए । बागलुङ क्षेत्र नंं. १ का लागि एमालेको उमेदवार बनेका केसीले शनिवार आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै जनताले विश्वास गर्ने गरी निर्वाचनमा बाचा लिएर आएको बताए ।

उनले केन्द्रीय नीति र घोषणा पत्रसँगै जिल्ला तहमा आफ्नो प्रतिवद्धता पत्र पनि लिएर आएको बताए । त्यसका लागि उनले जिल्ला तहमा कृषि, शिक्षा, स्वास्थ्य, सिंचाइ, उद्योग तथा व्यवसाय र रोजगारी लागयतका बिषयमा आफ्नो प्रतिवद्धता बनाएर सार्वजनिक पनि गरे ।

पत्रकार सम्मेलन गरेर केसीले आधारभूत तहको पूर्वाधार निर्माण र त्यसका लागि आधारभूत तहको काम गर्ने, कृषि क्षेत्रलाई व्यवसायिक र निर्यातमुखी बनाउने योजना सुनाए । बाँदरबाट जोगाउन बिशेष नीति ल्याउने, चक्लाबन्दीमा खेती गर्ने र न्युनतम मूल्यको ग्यारेन्टी गराउने, कोल्ड स्टोर निर्माण गरी उत्पादनलाई राज्यले किन्ने व्यवस्था गर्ने योजना पनि केसीले सुनाए ।

नागरिकको जनजिविकाको मुद्दामा चासो बढाएर प्राथमिकीकरण गर्ने, दैनिक उपभोग्य बस्तुको मूल्य तथा बढ्दो महंगी नियन्त्रणमा ध्यान दिने, श्रम शक्तिलाई अबका दिनमा बिदेश पठाउने नभइ स्वदेशमै राखेर काम लगाउने, उनीहरुको क्षमताको मूल्यांकन गरेर सोही प्रकृतिका कार्यक्रम संचालन गर्ने एमाले उमेदवार केसीले बताए ।

‘देश बनाउन श्रम शक्ति देशमै परिचालित हुनुपर्ने रहेछ’ उनले भने, ‘त्यसका लागि देश बनाउने धेरै योजना र श्रम शक्तिलाई उचित पारिश्रमिक सहित राख्ने काम गर्नुपर्छ ।’ यो कार्यका लागि केन्द्रीय तहको नीति निर्माणमा समेत ध्यान दिने उनले बताए ।

त्यस बाहेक जिल्लामा एक हजार मानिस अट्ने सभाहल, खेल रंगाशाला बनाउने, कालीगण्डकी करिडोरलाई बागलुङ बजार भएर म्याग्दी जाने बनाउने जस्ता धारणा पनि उनले राखे । पछिल्लो समयको जेनजी आन्दोलनपछि पुराना दललाई अविश्वास गरेका जनतालाई सम्झाएर कमीकमजोरी सच्चाइ अबका दिनमा भ्रष्टाचारमा शुन्य सहशिलता अपनाउने र सुशासनमा ध्यान दिने समेत बताए ।

केसीले पारदर्शीता र सुशासनका लागि स्थानीय तहमा बढेको बेरुजु र भ्रष्टाचार सबैको चासोको बिषय बन्नुपर्ने बताउदै त्यसका लागि आफ्नो तर्फबाट पहलकद्मी हुने बताए ।

एमालेले यो पटक सभासमारोह भन्दा घरदैलो अभियान मार्फत प्रचार प्रसार गर्ने लक्ष्य राखेको समेत उनले बताए । ‘यो पटक घरदैलो अभियान मार्फत नै जनतालाई योजना जानकारी गराउने र जनताको मन जित्ने लक्ष्य राखेका छौ’, उनले भने । कार्यक्रममा केन्द्रीय सदस्य सूर्य पाठकले दललाई अब्बल बनाउने काममा प्रयास भएको बताए । कार्यक्रम जिल्ला सचिव गणेश थापाको संचालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->