बागलुङ/आसन्न निर्वाचनलाई निश्पक्ष र पारदर्शी बनाउन निर्वाचन आयोगले आचारसंहिता पालनामा कडाइ गरेको छ भने खर्चको पारदर्शीतालाई प्रभावकारी बनाएको छ । त्यसबाहेक गलत सूचनाका कारण आउन सक्ने भ्रम चिर्न र निर्वाचन सूचना सम्प्रेषण समन्वय युनिट समेत बनाएको छ ।
जिल्ला निर्वाचन अधिकारीको कार्यालयले सोमबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो । निर्वाचनका लागि आवस्यक कर्मचारी खटनपटन भैसकेको र निर्वाचनमा आउन सक्ने सबैखाले बाधा व्यवधान कम गर्न पनि सुरक्षा संयन्त्र मजबुत बनाइएको, दैनिक रिपोर्ट गर्ने पद्दती बनाएको, जिल्ला तहदेखि प्रदेश तहसम्म नै अनुगमनको कार्यक्रम बनाइएको समेत बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले निर्वाचनमा आउन सक्ने सबै प्रकारका अवरोध हटाउन जिल्ला सुरक्षा समिति तयार रहेको बताए । ‘सेना, प्रहरी र कर्मचारीको खटनपटन भैसकेको छ, नियमित रिपोर्टिङ पनि भएको छ’ उनले भने, ‘कारागार समेत सेनाको सुरक्षामा राखिएको छ ।’ सही सूचना सम्प्रेषणका लागि संचार माध्यमलाई पनि आग्रह गरेको उनले बताए ।
उनका अनुसार, हाल जिल्लामा आवस्यक परेको १ हजार ३ सय ९० कर्मचारी आवस्यक परेकोले निजामती स्थायी र शिक्षक स्थायीलाई मात्र खटाइएको उनले बताए । उनका अनुसार सामाजिक संजालको उपयोग गरेर यो पटक अधिकतम सूचना प्रवाह गरिएको हो ।
जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले कम्तिमा एसएलसी उत्तिर्ण भएका स्वयंसेवकमार्फत फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम संचालन भैरहेको समेत बताए ।
साथै, अधिकतम् मत सदुपयोग हुने, बदर नहुने बनाउन पहल भएको पनि उनले बताए । यो पटक बागलुङमा गलकोट नगरपालिका–११ मा एक मतदान केन्द्र थप भएको समेत उनले बताए । बागलुङका ९४ हजार ८ सय ६ जना महिला र ९८ हजार ५ सय ७४ पुरुष गरी १ लाख ९३ हजार ३ सय ८१ जना मतदाताले यो निर्वाचनमा मत प्रकट गर्न पाउने छन् ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको अध्यक्षता र निर्वाचन कार्यालयका गोकुल शर्माको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’ले पनि पत्रकारहरुले निर्वाचन सफल पार्न सहयोग गर्ने बताए । गलत सूचना प्रवाहमा महासंघले पनि पहल गर्ने र सामाजिक संजालमा आएका अफवाहमा भने महासंघ जिम्मेवार नहुने उनले जानकारी दिए ।





