पर्वत/सोमबार दिउँसो पर्वतको मोदीबेणीधामबाट कालीगण्डकी नदीमा बगेकी एक महिलाको शव फेला फरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार सोमबार दिउसो करिब ११ बजेको समयमा जिल्लाको फलेवास नगरपालिका–९ भँगरा घर भएकी ९२ वर्षिया सावित्री माई भनिने सावित्री गिरी नदीमा बगेकी थिईन् । करिब ४५ वर्षदेखि सन्यासी जीवन जिएकी उनी नदीको किनारमा गएका बेला अचानक नदीमा बेपत्ता भएकी थिइन् ।
बृद्धा बेपत्ता भएको खबर लगत्तै उद्धारका लागि अस्थायी प्रहरी चौकी कुश्माबाट प्रहरी टोली उनको खोजीका लागि पुगेको थियो । खोजीका क्रममा उनी बगेको स्थानभन्दा करिब चार सय मिटर तल शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजन कुमार पटेलले बताए ।
शव रहेको स्थानको भूबनोट चुनौतीपूर्ण रहेकोले सशस्त्र प्रहरीको नं. २५ गण हेडक्वार्टर चण्डिका गण कुश्मामा रहेको गोताखोर टोलीको सहयोगमा शव बाहिर निकालिएको थियो । शवलाई पोष्टमार्टमको लागि प्रदेश अस्पताल पर्वतमा राखिएको छ ।





