बागलुङ/अग्रभागमा ५ जना जेनजी युवाहरु विभिन्न साँस्कृतिक भेषभुषमा उपस्थित थिए । सोही लाइनमा नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. १ का उमेदवार भीम श्रीष, त्यसपछि नेपाली कांग्रेसका जिल्ला स्तरीय नेता कार्यकर्ताको उपस्थिति ।
बागलुङ बजारको बाघ चोकमा खुला रुपमा उपस्थित यो टोलीले नेपाली कांग्रेसको घोषणापत्र र जिल्ला स्तरीय नेता समेतको उपस्थितिमा श्रीषले आफ्नो ३७ बुँदे प्रतिवद्दता सार्वजनिक गरे । उनले जेनजी आन्दोलनको सम्मान समेत गर्न यो कार्यक्रम गरेको बताए ।
जेनजी युवाहरु स्विकृति भारी, सृष्टी आचार्य, विशाल थापामगर, सचिन हरिजन र ओसिमदिन मिया सहभागि थिए । जातजाती, धर्म र सम्प्रदायको समेत सम्मान गर्ने पार्टीको रुपमा कांग्रेसलाई देखाउन यो प्रयास भएको श्रीषले जानकारी दिए ।
उनको ३७ बुँदे प्रतिवद्दतामा सुशासनको क्षेत्रमा आम नागरिकले महसुस हुने गरी परिवर्तन पाउने, कानून निर्माणमा राष्ट्र र जनताको सर्वोपरी हित राख्ने, बाँदर लगायतका वन्यजन्तु र वन ऐनका कारण नागरिकले पाएको दुःखबाट छुटकारा दिने लगायतको कानून निर्माणको बिषयलाई उनले पहल गर्ने बताए ।
त्यस बाहेक जिल्लाको विकास निर्माणमा उनले अग्रणी भूमिका निर्वाह गर्ने बताए । पर्यटन प्रवद्र्धनका लागि बागलुङ बजारको सांस्कृतिक पुर्नजागरण गर्ने, दलीत सांस्कृतिक संग्राहलय र मगर सांस्कृतिक संग्राहलय निर्माण गर्ने, कालीगण्डकी नदी दोहन नियन्त्रणका लागि सहकार्य गर्ने, भ्रष्टाचारमा शुन्य सहनशिलता कायम गर्ने, अबको दश वर्षलाई ज्ञान अर्थतन्त्रको रुपमा मनाइने, बागलुङ कालीका मन्दिरलाई केन्द्रमा राखेर बागलुङका पर्यटकीय क्षेत्र समेटेको ‘कालीका सर्किट’ बनाउने, सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि पीडित बचतकर्ताको बचत रकम फिर्ता गर्न निर्णायक हस्तक्षेप गर्ने तथा बाङेचउर खेल मैदानलाई रंगाशाला निर्माण गर्ने योजना र प्रतिवद्दता सुनाए ।
आगामी दशकलाई आइटी दशकको रुपम मनाएर सयौं युवालाई रोजगार दिन सकिने समेत उनको योजना छ । उनले जेनजी आन्दोलनको भावनालाई सम्मान गर्दै सुशासनको काम भने पहिलो दिनबाटै काम गरिने उनको भनाइ छ । जिल्लाको विकास निर्माणमा विशेष अगुवाई गरेका श्रीषले रणनीतिक सडक, ग्रामीण सडक र अन्य विकासका योजनामा प्रभावकारी अगुवाई गरी परिणाम दिने योजना उनले सुनाए । सामान्य नागरिकको रुपमा पनि उनले कतिपय सडक तथा खानेपानी र अन्य बिकास निर्माणमा चासो राख्दै जनताको अभियानमा साथ पनि दिंदै आएको उनले स्मरण गरे ।
श्रीषको यो कामले प्रेम, सदभाव र एकताको सन्देश दिएको नेविसंघका पुर्व अध्यक्ष विशेष पराजुलीले बताए । ‘यो जेनजी युवाको सम्मानसहितको सन्देश सभा पनि हो’ उनले भने, ‘सर्वधर्म समभाव र समावेशीता पनि शुरुवातमै देखियो ।’ श्रीषको प्रतिवद्दता सिंगो पार्टीको समेत प्रतिवद्दता भएकोले पुरा गर्ने साझा दायित्व भएको नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव हरिहर शर्माले बताए । उनले कांग्रेसको विशेष महाधिवेसनपछि ल्याइएका योजना र केन्द्रीय घोषणापत्रले देशलाई नै कांग्रेसप्रति आर्कर्षित बनाएको बताए । यसअघि एमाले उमेदवार हिराबहादुर केसी र रास्वपा उमेदवार सुशिल खड्काले पनि आफ्नो प्रतिवद्दता जनाइसकेका छन् ।





