बागलुङ/आसन्न निर्वाचनका लागि मतदान अधिकृत र सहायक अधिकृतका लागि तालिम शुरु भएको छ । बुधबार जिल्ला न्यायाधिस तथा मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारी, क्षेत्र नं. २ का निर्वाचन अधिकृत भीमप्रसाद सुवेदी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, सहायक प्रजिअ नवराज बराल, जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजाल र प्रमुख कोष नियन्त्रक किसोर श्रेष्ठले मतदान अधिकृतलाई तालिम दिएका छन् ।
निर्वाचन सुरक्षा, निर्वाचनमा आइपर्ने अन्य समस्यालाई चिर्न गरिनुपर्ने कामबारे पनि तालिममा जानकारी दिइएको छ । त्यस्तै जिल्ला भित्रका संवेदशिल मतदान केन्द्र र तिनको प्रकृति, ती क्षेत्रमा चाल्नुपर्ने रणनीति समेत मतदान अधिकृतलाई जानकारी गराइएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बागलुङमा २ सय ३२ मतदान केन्द्र छन् । तीनमा २ वटा अस्थायी मतदान केन्द्र छन् । जिल्ला कारागार र जिल्ला समन्वय समितिलाई अस्थायी मतदान केन्द्रको रुपमा राखिएको छ ।
२ सय ३२ मतदान अधिकृत र २ सय ३२ नै सहायक मतदान अधिकृतसहित केही जगेडा कर्मचारीलाई तालिम दिइएको हो । निर्वाचनमा १ हजार ३ सय ९० कर्मचारी आवस्यक परेकोले निजामती स्थायी, मावि र प्रावि स्थायी शिक्षकलाई खटाइएको हो । जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले कम्तिमा एसएलसी उत्तिर्ण स्वयंसेवकमार्फत फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम संचालन गरिएको बताए ।
यो पटक बागलुङमा गलकोट नगरपालिका ११ मा एक मतदान केन्द्र थप भएको छ । बागलुङका ९४ हजार ८ सय ६ जना महिला र ९८ हजार ५ सय ७४ पुरुष गरी १ लाख ९३ हजार ३ सय ८१ जना मतदाताले यो निर्वाचनमा मत प्रकट गर्न पाउनेछन् ।
यसैबीच बुधबार नमूना मतदान कार्यक्रम पनि सम्पन्न भएको छ । धौलागिरि बहुमुखी क्याम्पसको चौरमा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुकै तालिमसँगै नमूना अभ्यास पनि गराइएको हो ।
नमूना अभ्यासमा मतदाता नामाबली रुजु गर्ने, चिन्ह लगाउने, मत पत्र लिने, मतदान अधिकृतको हस्ताक्षर भए नभएको हेर्ने, गोप्य मतदान गर्ने जस्ता कार्य प्रयोगात्मक रुपमा सिकाइएको थियो । उक्त अवसरमा पहिलो निर्वाचित हुने मतपत्र र समानुपातिक मतपत्रलाई पट्याउने विधि, सुरक्षित रुपमा मतदान गर्ने, सुरक्षाको व्यवस्थापन गर्ने जस्ता विषयमा जानकारी पनि गराइएको हो ।





