सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कास्की कसको किल्ला ?

कास्की कसको किल्ला ?

गण्डकी प्रदेशको राजधानी पोखरा रहेको कास्कीमा प्रतिनिधि सभा निर्वाचनमा कसको पोल्टा भारी हुने भन्ने अडकलबाजी सुरू भएको छ ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १४ २०८२, बिहिबार

पोखरा/०७० सालको चुनावमा कास्कीमा जातीय पहिचानको मुद्दा उठाउने उम्मेदवारहरुको बाक्लो प्रचार हुन्थ्यो । चोक र सडकमा अन्य दलको भन्दा जातीय क्षेत्रिय मुद्दा उठाउने दलहरुका पोस्टर व्यानर माइकिड बढी देखिन्थे । तमुवान र अखण्ड पश्चिमाञ्चल भन्ने दुईटा छुट्टाछुट्टै नारासहित आन्दोलन चर्किएको देख्न पाइन्थ्यो । अहिले भने त्यो दृश्य बदलिएको छ । जातीय क्षेत्रीय मुद्दा उठाउनेहरु मत्थर भएनन् मात्रै, कागं्रेस, बामपन्थी र रास्वपा पार्टीमा विलय समेत भए ।

यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा चुनावी माहोल तातेको छ । चुनावी प्रचार अभियान तिब्र बनेको छ । राजनीतिक दल र उम्मेदवारहरु घरदैलो, कोणसभा तथा मतदाता भेटघाट गरिरहेका छन् । शहरी मतदाता बढी रहेकाले उनीहरुलाई प्रभावित पार्नका लागि स्थानीयदेखि राष्ट्रिय राजनीतिका मुद्दाहरु प्रचार गरिरहेका छन् । विशेष गरी पर्यटन, सुकुम्वासी समस्या र बेरोजगार युवालाई विदेश पलायन हुनबाट रोक्ने नारालाई मुख्य चुनावी एजेन्डा बनाएका छन् ।

यसअघिका निर्वाचनको परिणामलाई लिएर यसपटक कसको पोल्टामा जाला भन्ने विभिन्न अड्कलबाजी हुन थालेका छन् । चिया पसलदेखि दुई चारजना जम्मा भईहाले पनि चर्चा चुनावकै हुने गर्छ । त्यसमा पनि कसले जित हात पार्ला भन्नेमै बढी केन्द्रीत हुने गरेको छ । कास्कीमा नेपाली काग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच नै कडा टक्कर देखिन्छ । नेपाली कम्युनिष्ट पार्टीले पनि परिणाम आफ्नो पोल्टामा पार्न मेहनत गरिरहेको छ । साथै मतदातादेखि बुद्धिजीवी र चासो राख्ने सबैले एउटै पार्टीले मात्रै जित्छ की मिश्रित परिणाम आउने हो भन्दै केही दिन धैर्य गर्नुपर्ने बताउँछन ।

२०४८ देखि ०५६ सम्मका निर्वाचनमा कास्कीमा तीन क्षेत्र थिए । दुई वटा संविधान सभाको निर्वाचनमा ४ क्षेत्र भएकोमा त्यसपछि घटेर तीन निर्वाचन क्षेत्रमै झारियो । संविधान सभाको दोस्रो निर्वाचनमा कांग्रेस र एमालेले २÷२ सिट जितेका थिए भने २०६४ को पहिलो संविधान सभामा माओवादीले ३ र एमालेले एक सिट जितेर बामकिल्ला बनाएका थिए । २०५६ को संसदीय निर्वाचनमा कांग्रेसले सबै तीन सिट नै जितेको थियो । २०४८ र २०५१ मा कांग्रेसले एक, एमालेले दुई सिट जितेका थिए । २०७४ र २०७९ का दुवै निर्वाचनमा नेकपा एमालेले सबै सिट जितेको थियो ।

अहिलेको निर्वाचनमा आफ्नो यसअघिको परिणामलाई यथावत् राख्न नेकपा एमाले र त्यसलाई भत्काउन कांग्रेस लागिपरेका छन् । कांग्रेस २०५६ कै विरासत दोहो¥याउने दाउमा छ । तर रास्वपा पनि सशक्त रुपमा आएकाले परिणाम कसको पोल्टामा जान्छ भन्ने यकिन गर्न नसकिने अवस्था छ ।

नेपाली कांग्रेसले चुनावी माहौल उत्साहजनक रहेकाले तीनवटै क्षेत्र जित्नेमा ढुक्क रहेको जनाएको छ । विशेष गरी कांग्रेस परिवर्तन भएर आएकाले मतदाताको भरोसा जागेको कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले बताए । ‘व्यवस्थित रुपमा मुलुकका लागि आवस्यक भिजन र एजेन्डासाथ कांग्रेस आएको छ’, उनले भने, ‘यसले कांग्रेस कार्यकर्तामा एउटा उत्साह, एकता र विश्वास जागेको छ । नेता कार्यकर्तामा मनमुटाव छैन् । स्पष्ट धारणासहित आएकाले सर्वसाधारणमा भरोसा निर्माण भएको छ ।’

एमाले आफ्नो विगतको विरासतलाई जसरी पनि जोगाउने ध्याउन्नमा छ । सोही अनुसार रणनीति बनाएर निर्वाचनमा होमिएको एमाले कास्कीका कार्यवाहक अध्यक्ष भेषराज बरालले बताए । उनले विगतमा भएका काम, प्रष्ट नीति, सिद्धान्त, विचार, कार्यक्रम र राष्ट्रियताप्रतिका अडानका कारण आफ्नो पार्टीले जित्ने दावी गरे । ‘पार्टीको तल्लो तहसम्मको मजबुत संगठन, जनतासंग भिजेका उम्मेदवारका कारण पनि जीत सुनिश्चित छ’, बरालले भने, ‘सिद्धान्त र प्रष्ट भिजन अनि राष्ट्रियताको सवारमा उठाएका इस्यु पनि जितका आधार हुन् ।’

रास्वपाले भने परिवर्तन र नयाँ पार्टी भन्दै मत मागिरहेको छ । ३६ वर्षदेखि पुराना पार्टीले गरेको कामप्रति जनतामा वितृष्णा फैलिएको दावी उसको छ । ‘पुराना दलहरुको कुरुप शासन, जेनजी आन्दोलनपछि देशले खोजेको परिवर्तनको एजेन्डा रास्वपाले लिएकाले तीनवटै क्षेत्र सजिलै जित्छौ’, रास्वपा कास्कीका सभापति यदुनाथ अधिकारीले भने, ‘युवा र विदेशमा रहेकाहरुको क्रेज रास्वपाप्रति भएकाले पनि जीत सहज छ ।’

दलहरुले स्थायित्व, आर्थिक समृद्धिलाई पनि जोड दिदै मत मागिरहेका छन् । यो एउटा विषम परिस्थितिमा हुन लागेको निर्वाचन भएकाले संविधानको रक्षा र पूर्ण कार्यान्वयनको एउटा महत्वपूर्ण कडीका रुपमा पनि लिएका छन् । नेपाली कम्युनिष्ट पार्टी कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन गर्न नसकेको अवस्थाले एकपटकलाई अवस्था परिवर्तन गर्ने मौका दिनुस् भन्दै मत मागिएको बताए । ‘सुशासन, सामाजिक न्याय र भ्रष्टाचारबिरुद्ध लाग्दा हामीलाई काम गर्न दिइएन’, उनले भने, ‘यो कुरा आम मतदाताले बुझ्नु भएको छ । पार्टीपक्ती एकढिक्का भएर उत्साहका साथ लागेका छौ । हाम्रो एजेन्डाका कारण जित्ने आधार बन्दै गएको छ ।’

कास्की क्षेत्र एकमा नेपाली कांग्रेसबाट तिलकबहादुर रानाभाट, एमालेबाट जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, रास्वपाबाट खडकराज (गनेस) पौडेल र नेकपाबाट राजकाजी गुरुङ उम्मेदवार छन् । पौडेल बालेन शाह निकटका हुन् । रानाभाट र क्षेत्री पहिलोपटक निर्वाचनमा होमिएका हुन् भने गुरुङ २०६४ को संविधान सभा सदस्यमा तत्कालिन माओवादीबाट बिजयी भएका थिए ।

यसैगरी क्षेत्र दुईमा एमालेका युवा नेता रश्मि आचार्य, कांग्रेसका नेता माधवप्रसाद बास्तोला, रास्वपाबाट उत्तम पौडेल र नेकपाका हेमबहादुर थापाबीच प्रतिस्पर्धा छ । चारैजना निर्वाचनमा पहिलो अनुभव लिदै छन । त्यस्तै कास्की क्षेत्र नम्बर ३ मा एमालेका दामोदर पौडेल बैरागी, कांग्रेसका मनोज गुरुङ, रास्वपाका बिना गुरुङ र नेकपाका गोपाल गिरी चुनावी मैदानमा छन् । बैरागी २०७९ को निर्वाचनमा बिजयी भएका थिए । अन्य उम्मेदवार भने पहिलोपटक निर्वाचनमा होमिएका हुन् ।

कास्कीमा झन्डै १७ हजार नयाँ मतदाता थपिएकाले नतीजामा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ । ४ गाउँपालिका र एक महानगर रहेको जिल्लामा नगरको मत नै निर्णायक हुने देखिन्छ । क्षेत्र नम्बर एकमा रुपा र मादी गाउँपालिका र महानगरका १०, ११, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ वडाहरु पर्छन । त्यस्तै क्षेत्र दुई भने महानगरका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१, र ३३ नम्बर वडाहरु पर्छन । क्षेत्र तीनमा अन्नपूर्ण र माछापुच्छ«े गाउँपालिकासहित महानगरका १, २, ३, ५, ६, १८, १९, २२, २३, २४ र २५ वडा समावेश छन । महानगरकै मतले उम्मेदवारलाई पल्लाभारी हुने देखिन्छ । यसले पनि उम्मेदवारहरु बढी मतदाता भएको स्थानमा केन्द्रीत भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->