पोखरा/प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्ष्य गरी समाचार सामग्रीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र एल्गोरिदमको प्रभावबारे पोखरामा सम्पादकहरुसँग बुधवार अन्तरक्रिया गरिएको छ ।
प्रेस रजिस्ट्रारको कार्यालय गण्डकीद्वारा आयोजित कार्यक्रममा निर्वाचनका बेला सञ्चार माध्यमले अपनाउनुपर्ने सतर्कता र प्रविधिको भूमिकाबारे अन्तरक्रिया गरिएको थियो ।
उक्त अवसरमा खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपालले पत्रकारहरु एल्गोरिदमबाट बचेर काम गर्नुपर्ने बताए । समयक्रमसँगै जोगिएर आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘हामीले एआईलाई जोताउनुपर्छ, न कि उसले हामीलाई जोताओस् ।’
आईटी एनालिस्ट इन्जिनियर मिलन श्रेष्ठले ‘अन्डरस्ट्यान्डिङ एल्गोरिदम्स एन्ड एआई बेस्ड इलेक्ट्रोरल कन्टेन्ट’ विषयमा कार्यपत्र प्रस्तुत गरे । उनले निर्वाचनका समयमा सामाजिक सञ्जालमा देखिने सामग्रीहरुलाई एल्गोरिदमले कसरी वर्गीकरण र प्रचार गर्छ भन्नेबारे विस्तृत जानकारी दिए । श्रेष्ठले भने, ‘एआईका माध्यमबाट सिर्जित सामग्रीले जनमतलाई प्रभावित पार्न सक्ने भएकाले सम्पादकहरुले यस्ता सामग्रीको गहिरो विश्लेषण गर्न आवश्यक छ ।’ उनले प्रविधिले सूचना प्रवाहमा सहजता ल्याए पनि यसबाट उत्पन्न हुन सक्ने मिथ्या सूचना र भ्रमलाई चिर्नु चुनौतीपूर्ण रहेको बताए ।
कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन प्रविधिको सही प्रयोग हुनुपर्ने जनाए । निर्वाचनको समयमा आउने सूचनाको सत्यतथ्य जाँच गरेर मात्र समाचार सम्प्रेषण गर्नुपर्नेमा उनको जोड थियो । गण्डकी प्रदेश सरकारका सचिव कृष्णप्रसाद लम्सालले निर्वाचनमा प्रविधिको भूमिका अपरिहार्य रहे पनि यसको दुरुपयोगले समाजमा पार्ने नकारात्मक असरबारे सबै सचेत हुनुपर्ने बताए । पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले पत्रकारहरुले नयाँ प्रविधिसँग अभ्यस्त हुनुपर्ने र निर्वाचनका समाचार संकलन गर्दा एल्गोरिदमका पाटाहरुलाई ध्यान दिनुपर्ने उल्लेख गरे ।
प्रेस रजिस्ट्रार बिमला भण्डारीले निर्वाचनका समयमा समाचारको विश्वसनीयता कायम राख्न यस्ता अन्तरक्रियाले सहयोग पु¥याउने विश्वास व्यक्त गरिन् । प्रेस रजिस्ट्रारको कार्यालयका उपसचिव निराजन शर्माले कार्यालयले पत्रकारको वृत्ति विकासका लागि काम गर्दै आएको बताए ।





