बागलुङ/चैतेदशैंको अवसरमा बागलुङ कालीका मन्दिर परिसरमा विविध कार्यक्रमसहित मेला आयोजना गरिने भएको छ । कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा हुने मेला चैत्र १० देखि १४ गतेसम्म चल्ने छ ।
चैतेदशै मेलामा राष्ट्रिय लोकदोहोरी गीत, कालिका कप पुरुष तथा महिला भलिबल र छेलो प्रतियोगितासंगै साँस्कृतिक कार्यक्रम आयोजना गरिएको गुठी व्यवस्थापन समितिले बिहिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
मेलाको मुख्य आर्कषण रुपमा रहेको छेलो प्रतियोगिताका विजेतालाई नगद ३० हजार रुपियाँ प्रदान गरिने छ । लोकदोहोरी गीत प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख, द्वितिय हुनेले १ लाख र तृतिय हुने ५० हजार रुपियाँ प्राप्त गर्ने छन् भने सर्वाेत्कृष्ट गायनतर्फ ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।
कालिका कप खुल्ला पुरुष भलिबलमा विजेता टोलीले ३ लाख, उपविजेताले १ लाख ५० हजार, सेमीफाइनल पुग्ने टोलीले ५० र सर्वाेत्कृष्ट खेलाडिलाई ५ हजार रुपियाँ प्रदान गरिने गुठीका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिए । यस्तै महिला भलिबलको विजेताले १ लाख, उपविजेताले ५० हजार, सेमीफाइनल पुग्ने टोलीले १० हजार र सर्वाेत्कृष्ट खेलाडिले ५ हजार रुपियाँ प्राप्त गर्ने छन् ।
सयौं वर्षदेखि मेला लाग्दै आएको कालीकामा गुठीले व्यवस्थापन गर्दै आएको छ । मेला सम्पन्न गर्न ५५ लाख रुपियाँ खर्च हुने गुठीले जनाएको छ । मेलाको लागि कालिका भगवती गुठीले २० लाख, सह–आयोजक तथा प्रायोजक संस्थाहरुबाट ८ लाख, रमाइलो मेलाबाट १३ लाख, आर्थिक सहयोगबाट ९ लाख र मेला स्टलबाट ३ लाख रुपियाँ संकलन हुने गुठीका अध्यक्ष खड्काले जानकारी दिए ।
‘देशभरबाट कालिका भगवतीको दर्शन गर्न भक्तजन आउने भएकोले गुठीले व्यवस्थापनमा साथ दिने हो, मेला त स्वतः लाग्ने गर्छ’ अध्यक्ष खड्काले भन्नुभयो । मेलालाई आर्कषक बनाउन खेलकुद र साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको उनको भनाई छ । चैतेदशै मेलामा आउने भक्तजनको व्यवस्थापनका लागि गुठीले मेला, स्टल र विशेष आवासको समेत व्यवस्थापन गर्दै आएको छ ।
देशभरबाट मेलाको अवलोकन तथा कालिका भगवतीको पूजाका लागि भक्तजन आउने भएकोले मेलालाई विशेष पर्वको रुपमा लिने गरिन्छ । चैतेदशैको प्रतिपदादेखि राम नवमीसम्म लाखौं भक्तजन तथा आन्तरिक पर्यटक मन्दिर आउने गर्छन् । चैतेदशैमा २० लाखले मेला अवलोकन गर्ने आयोजकको अनुमान छ ।
स्थानीय स्तरमा उत्पादित ठेका, डाला र नाङ्ला किन्न पाइने भएकोले मेलामा सयौं आउने गर्छन् । बागलुङको रणसिंकिटेनी, जलजला, पाण्डवखानी, सिसाखानी, रिघा, अमलाचौरका किसानले निर्माण गरेका काठ, बाँस र निगालोका सामाग्री बिक्रीका लागि मेलामा ल्याउने गर्छन् ।
पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाका राजा मणी मुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसंग विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालीकालाइ साथैमा ल्याएर विधिपूर्वक स्थापना गरेको किंवदन्ती अनुसार विसं १५९१ देखि मन्दिर स्थापना गरेर मेला र पूजा शुरु भएको पाइन्छ ।





