पोखरा/पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सडकमा फोहोर नथुपार्न पुनः महानगरबासीस्ँग आग्रह गरेका छन् ।
उनले फोहाोर बिसर्जनका लागि राजनीतिक दलहरुले सहयोग नगरेको गुनासो गर्दै लेखेका छन्, ‘फोहर बिसर्जनका सन्दर्भमा हाम्रा राजनीतिक दल तथा स्थानीय साथीहरूको दोहोरो व्यवहारका कारण निष्कर्षमा पुग्न केही समय लागेको छ । पटक–पटक लुडो खेलजस्तै अवस्था दोहोरिनु परेको छ । हाल केही वडाहरूमा अल्पकालीन व्यवस्थापन गरिएको छ र हामी सकेसम्म छिटो फोहर संकलनका लागि गाडी पठाउँदैछौँ । त्यतिबेलासम्म कृपया जथाभावी सडकमा फोहर नफालिदिनुहुन अनुरोध छ ।’
केही दिन यतादेखि पोखराको मुख्य सहर क्षेत्रका सडकमा फोहोर थुप्रिएको छ । महानगरले हालसम्म फोहोर स्थायी रुपले व्यवस्थापन गर्ने ठाउँ भेटेको छैन । फोहोर प्रशोधन केन्द्रका निम्ति छुट्याइएको जग्गामा विवाद उत्पन्न भएको छ भने अस्थायी रुपले व्यवस्थापन गर्ने र पछि स्थायी ठाउँमा सार्ने गरी सुरु गरिएको फोहोर संकलनमा पनि अवरोध भएको छ ।





