पोखरा/मादीकी नागरिकताविहीन ३८ वर्षीया डिलकुमारी बिकले नेपाली नागरिकता पाएकी छन् ।
मादी १ का अध्यक्ष देवीजंग गुरुङका अनुसार मादी ७ मा जन्म भइ सिक्लेस १ का हुमकुमार काकीसँग विवाह गरेकी उनीसँग नेपाली नागरिकता थिएन । बिहेलगत्तै श्रीमान बेपत्ता भएपछि डिलकुमारीले नै ३ सन्तान हुर्काएकी थिइन् । सासु–ससुरा बितिसकेका र श्रीमानको अत्तोपत्तो नभएपछि नागरिकताविहीन डिलकुमारीले धेरै हण्डर खाइन् ।
वडाध्यक्ष गुरुङका अनुसार वडा कार्यालयबाट विविध सिफारिसहरू, वडा प्रहरी कार्यालय रामवजार र जिल्ला प्रहरी कार्यालय कास्कीवाट प्रहरी मुचुल्का एवम मादी ७ वडा कार्यालयबाट सिफारिस वडाध्यक्ष स्वयं, डिल कुमारी बिकको बाबु सुकराम कामी, जेठाजु रामबहादुर बिकको पहलमा नागरिकता सम्भव भएको हो ।
वडाध्यक्ष गुरुङले नागरिकता दिलाउन सघाउने जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मासहितलाई धन्यवाद ज्ञापन गर्दै डिलकुमारीले नागरिकता पाउँदा आफू सबैभन्दा खुसी भएको बताएका छन् ।





