बागलुङ/कांग्रेस सभापति गगनकुमाार थापाले जेनजी युवाहरुको सुशासनको माग पुरा गर्न कांग्रेस नेतृत्व चाहिएको बताएका छन् । उनले सरकार गिराउने र बनाउनेभन्दा सुशासन र परिणाम दिने सरकार र संसद चाहिएको बताए ।
शुक्रबार नेपाली कांग्रेस बागलुङ क्षेत्र नं. १ ले आयोजना गरेको चुनावी सभामा बोल्दै थापाले आगामी ५ वर्षलाई सुशासन र प्रगतीको वर्ष बनाउने बताएका छन् । उनले सुशासन र आर्थिक समृद्दिको बाटोमा हिंडाउन कांग्रेस बद्लिएर आएको पनि बताए । ‘२०७४ पछिको समय सरकार बनाउने र गिराउनेमा खेर गयो, अब त्यो अवस्था आउन दिंदैनौं’ उनले भने, ‘हिजोको पाठ सिकेर अबका दिनमा सुशासन दिने हो ।’ त्यसका लागि कांग्रेसले संकल्प र प्रतिवद्दता लिएर आएको बताए ।
थापाले कामको गति बढाउने र सम्हालिएर चुनावमा जाने कांग्रेसमात्रै रहेको बताए । २०८४ मा हुनुपर्ने निर्वाचन यति छिटै किन भयो भन्ने कुरा आम नागरिकलाई बुझाउनुपर्ने उनको भनाइ थियो । ‘जेनजी युवाहरुले सुशासन खोजेका थिए, ती माग पुरा गर्न कांग्रेस परिवर्तन भएर आएको छ’ उनले भने, ‘कांग्रेसले आफ्नो विधान र कार्यक्रम पनि परिमार्जन गरेको छ ।’ नयाँ विधिमा टेक्दै नेतृत्व समेत फेरेर कांग्रेस निर्वाचनमा आएको उनले बताए ।
देश बनाउन नीति र सिद्दान्त चाहिने, योजना र भिजन चाहिने भन्दै थापाले त्यसका लागि कांग्रेसले सबै क्षेत्रको सुधारका लागि वर्षौदेखि गरिएको अध्ययनको निष्कर्ष समेत लिएर निर्वाचनमा आएको उनले बताए । ‘हामीले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र समृद्दिका लागि धेरै अध्ययन गरेर निस्केको निष्कर्ष बनाएका छौं’ उनले भने, ‘ती योजना लागू गर्न पनि कांग्रेस नेतृत्व आवस्यक छ ।’ आगामी संसदमा कांग्रेस नेतृत्वले तमान युवाको भावना समेटेर दर्जनौं कानून निर्माण र राज्य व्यवस्थामा सुधार समेत गर्ने उनले प्रतिवद्दता जनाए ।
उनले शेरबहादुर देउवादेखि आफ्नो समेत सम्पत्ति छानविन गर्ने बताए । ‘कांग्रेस सभापति भएर भन्दैछु, पहिला कांग्रेसका नेताहरुकै सम्पत्ति छानविन गर्छौ, राजनीतिलाई सफा बनाउँछौं’ उनले भने, ‘कानून संवत् ढंगबाट हरेक काण्डका छानविन गरेर भविष्यमा कुनैपनि काण्ड नदोहोरिने बनाउँछौं ।’ सरकारी सेवा लिंन जाँदा एक रुपैयाँ पनि घुस दिनु भनेको नागरिकको अपमान हो भन्ने बनाउने उनले बताए । त्यसका लागि कानून परिमार्जन गराउनुपर्ने उनको भनाइ छ । बदलिने र संशोधन गर्ने ४१ वटा कानूनको एकएक सूचि तयार बनाइसकेको उनले बताए ।
उनले सबै जातजाती, क्षेत्रको सम्मान गर्ने समेत उनले बताए । ‘संविधान निर्माणको बेला हिमाल, पहाड र मधेशदेखि सबै जातजातीको अधिकारलाई लिपिबद्द गर्ने काम गरेको थिएँ’ उनले भने, ‘ती कानून कार्यान्वयन गर्ने स्थलको रुपमा संसद देखिने छ ।’ आदिवासी जनजातीको पक्षमा बोल्दा भाषण काटेर भाइरल बनाउन खोजिएकोमा उनले टिप्पणी समेत गरे । मञ्चमा मगर पोशाक लगाएर आएका थापाले मगर दिवशको शुभकामना समेत दिए ।
सदरमुकामस्थित बागलुङ बजारको समीक्षालयमा भएको कार्यक्रममा उनले कार्यकर्तालाई घरदैलोमा पुगेर पार्टीको नीति र कार्यक्रम बुझाउन आग्रह गरे । ‘अझैसम्म मतदाताहरु अलमलमा छन्, उनीहरुको घरदैलोमा पुगेर बद्लिएको कांग्रेसबारे बताउनुस्’ उनले भने, ‘पुरानो गौरव र नयाँ योजना सहितको कांग्रेस बनाउने खाका बताउन ढीला गर्नु हुँदैन ।’
झण्डै ३० मीनेटको भाषणमा उनले जेनजी युवाको मागदेखि भुगोलको विकास तथा नागरिकको जीवन पद्दती सुधार गर्ने योजनाहरु बताएका थिए । कार्यक्रममा बागलुङ क्षेत्र नं. १ का कांग्रेस उमेदवार भीम श्रीष, शकुन्तला शर्मा र पार्वती आचार्य, कांग्रेस जिल्ला सभापति जित शेरचन, एनआरएनएका पुर्व अध्यक्ष कुल आचार्य र लोक गायक बिमलराज क्षेत्री लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा आचार्यले एनआरएनएलाई नेपाली नागरिकता दिने विषयमा अडान लिएका थापाको समर्थनका लागि कार्यक्रममा आइपुगेको बताए । विदेश बस्नेलाई पनि समेट्ने पार्टी कांग्रेस भएको उनको भनाइ थियो ।





