शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जैमिनीबासी भन्छन् – ‘सडक स्तरीय र बाँदर नियन्त्रण गर्नेलाई मत’

जैमिनीबासी भन्छन् – ‘सडक स्तरीय र बाँदर नियन्त्रण गर्नेलाई मत’

‘अहिले पनि सहजै सदरमुकाम जाने सडकको समस्या छ’ स्थानीय गंगाबहादुर बिकले भने, ‘यो पटक धेरैले सडक राम्रो बनाउनेलाई मत दिनेछन् ।’ सडक स्तरीय बनाउने बिषय आश्वासनमा मात्र विश्वास नगर्ने उनले बताए ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १७ २०८२, आइतबार

बागलुङ/जैमिनी नगरपालिका वडा नंं ३ को माथिल्लो मा जाने तीन वटा सडक छन् । नगरको केन्द्र रहेको कुश्मीसेरा देखि दमेक पुग्ने सडक छ । त्यस बाहेक चापाखर्क र गाजाको दहदेखि आउने सडक समेत छ । तर तीनवटै सडकहरु जीर्ण छन् ।

सडक स्तरीय नभएकोले स्थानीयले सास्ती खेपेर यहाँको यात्रा गर्नुपर्छ । सामान्य गाडि लैजान नसक्ने भएपछि यहाँ फोरहिल पिकअप गाडिमा मात्र जान सक्छन् । दैनिक उपभोग्य सामाग्री देखि अत्यावस्यक सेवाकालागि यात्रा गर्नेले महंगो शुल्क तिर्नुपर्ने बाध्यता छ ।

उनीहरुले हरेक निर्वाचनमा आउने उमेदवारले बिकासको आश्वासन दिएपनि सडक स्तरीय नबनेको गुनासो गरे । ‘अहिले पनि सहजै सदरमुकाम जाने सडकको समस्या छ’ स्थानीय गंगाबहादुर बिकले भने, ‘यो पटक धेरैले सडक राम्रो बनाउनेलाई मत दिनेछन् ।’ सडक स्तरीय बनाउने बिषय आश्वासनमा मात्र विश्वास नगर्ने उनले बताए । यहाँ पशुपालन र कृषि फसलको राम्रो उत्पादन हुन्छ तर बजारीकरणको अभाव छ । चिसो मौषमका कारण धेरै उत्पादन अर्गानिक छ । तर सडक अभावमा स्थानीयले बजार पाउन नसक्ने देखेपछि उत्पादन गर्न छाडेका छन् ।

जैमिनी नगरपालिकाका कतिपय स्थानमा अझै सडक निकै अप्ठ्यारो छ । बर्षौदेखि कृषि सडक स्तरीय बन्न नसक्दा कुश्मीसेरा देखि सर्कुवा, बिनामारे, अर्जेवा, जैदी हुँदै छिस्ती पुग्ने सडकले यात्रालाई हैरानी बनाएको छ । छिस्ती देखि हाडीकोट सम्मको सडक पनि उत्तिकै जोखिमको छ । ती सडक स्तरीय बनाएर जैमिनीलाई सहज यातायात पुगेको बनाउने सपना पुरा नहुँदै स्थानीय बसाई सर्न थालेको जैमिनी ६ की चित्रकुमारी शर्माले बताइन् । ‘हाम्रोमा आउने कृषि सडक र करिडोर जोड्ने दुवै सडक जीर्ण छन्’ उनले भनिन्, ‘अबको निर्वाचनमा सडक राम्रो बनाउनेलाई मत दिने हो ।’ उनले स्थानीय समस्या बुझेको नेता चाहिएको उनले बताइन् ।

जैमिनीमा मुख्य समस्या त बाँदर हो । तीन बर्ष अघि नै जैमिनी नगरपालिकाले बिज्ञ सम्मेलन गरेर बाँदर नियन्त्रणको प्रयास गरेको थियो । तर अहिले सम्म पनि यो काम पुरा भएको छैन । उल्टै बाँदरको समस्याले बसाई सराई तीब्र छ । नेपालमै बसाइ सराई गर्ने पालिका मध्ये जैमिनी पहिलो भएको तथ्यांक छ ।

अध्ययन अनुसार बाँदर नियन्त्रणकालागि दर्जनबढी कानून समेत बाधक छन् । बन्यजन्तु सम्बन्धी कानूनबाट बाँदरलाई कृषि हानिकारक बन्यजन्तु बनाउनुपर्ने स्थानीयको भनाइ छ । त्यस बाहेक सामान्य झाडी फडानीमा समेत असर परेकोले वन ऐन लगायतका कानून चाहिएको पनि स्थानीय बताउँछन् । ‘हामी त बाँदर आतंकबाटै त्रसिद छौं, घरमा बस्नेलाई समेत सास्ती छ’ जैमिनी नगरपालिका ८ का ओमकार शर्माले भने, ‘घरमा बसेका बुढा बुबाआमालाई बाँदरले खेद्दैछ ।’ बाँदरकै कारण बारीमा कृषि फसल नासिएको, घरमा राखेका सामाग्री समेत हिनामिना हुने गरेको लगायतका समस्या उनीहरुले सुनाए ।

अन्य अत्यावस्यक समस्या एकातिर छाडेर भएपनि बाँदर नियन्त्रणमा कामगर्नेले साथ पाउने स्थानीय बताउँछन् । त्यसकालागि भरपर्दो योजना अझै कसैले दिन नसकेको उनीहरुको भनाइ छ । ‘कानून संशोधन गरेर भएपनि केही समाधान खोज्ने’ भन्ने चर्चा भने आसन्न निर्वाचनका उमेदवारले बताउने गरेका छन् । कांग्रेस उमेदवार भीम श्रीषले त वन र वन्यजन्तु सम्बन्धी ऐनमा संशोधन गर्ने नै प्रतिवद्दता जनाएका छन् । त्यस बाहेक अन्य दलका उमेदवार समेत यी बिषयमा सकारात्मक भएका छन् । तर त्यसको शुरुवात कसरी गर्ने भन्नेमा अन्यौल छ । ऐन संशोधनका लागि संसदमा कस्तो आकार बन्छ त्यसले पनि निर्धारण गर्ने स्थानीय बताउँछन् ।

बाँदर आतंककै कारण जैमिनी नगरपालिका–१ को टुनिबोट लगायतका बस्तीमा खेतीपाती लगाउनै छाडिएको छ भने वडा नंं ८ का अधिकांस बस्तीमा पनि यो असर देखिएको छ । अन्य वडाबासीले पनि बाँदर आतंक रोक्ने उपाया ल्याएमा राम्रो हुने धारणा राखे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->