शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा निर्वाचनको तयारी पूरा, सीसीटिभीजडित मतगणना स्थल तयार

बागलुङमा निर्वाचनको तयारी पूरा, सीसीटिभीजडित मतगणना स्थल तयार

तारजाली भित्र मत गणक कर्मचारी बस्ने र पारदर्शीताका लागि तारजाली बाहिरबाट उम्मेदवारका प्रतिनिधिले हेर्ने व्यवस्था मिलाइएको छ ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १९ २०८२, मंगलबार

बागलुङ / फागुन २१ (बिहीबार) मा हुने प्रतिनिधीसभा सदस्य निर्वाचनको जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतपेटिकासहित सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् ।

‘केन्द्रको क्षेत्र घोषणाको सूचना टाँस गरी सबै मतदान केन्द्रमा सर्वदलीय बैठक भइसकेको छ,’ मुख्य निर्वाचन अधिकृत सिता शर्मा अधिकारीले भनिन, ‘भोलिबाट बुथ निर्माणमा जुट्नुहुन्छ ।’

१०७ मतदानस्थल र २३० मतदान केन्द्र रहेको बागलुङमा २ अस्थायी मतदान स्थल थप गरेर कैदीबन्दी र कर्मचारीलाई समानुपातिकतर्फ मत राख्ने व्यवस्था मिलाइएको छ ।

मतदान संवेदनशीलताको आधारमा विशेष सुरक्षा रणनीति बनाइएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले बताए ।

‘उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका सम्पूर्ण कर्मचारीको सुरक्षा प्रत्याभूति हुने गरी सुरक्षाका सबै निकाय परिचालन गरेका छौ,’ उनले भने, ‘ढुक्क भएर मतदान गर्न मेरो आग्रह छ ।’

मतदानपछि मतगणनाका लागि दुई ठाउँमा मत गणनास्थल निश्चित गरिएको छ । मत गणना स्थल सिसि क्यामेरा सहित तारजालीले घेरेर तयार पारिएको छ ।

बागलुङ- १ को मत गणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ बजारमा र बागलुङ-२ को मत गणनाका लागि निर्वाचन अधिकृतको कार्यालय रहेको ढोरपाटन नगरपालिका-२ कुथाप्लोमा सिसि क्यामेरा र तारजाली सहितको मतगणनास्थल तयार गरिएको हो ।

मत गणना गर्ने २ स्थानमै फलामे तारजाली लगाइएको र ध्वनी सहित भिडियो रेकर्ड गर्ने सिसि क्यामेरा राखिएको मुख्य निर्वाचन अधिकृत सिता शर्मा अधिकारीले बताईन् ।

मतगणनालाई व्यवस्थित, छिटो र सुरक्षित तवरले सम्पन्न गर्न मतगणना स्थललाई तारजाली, सिसी टिभी जडान लगायतका कामहरू सम्पन्न भइसकेको अधिकारीले जानकारी दिईन ।

तारजाली भित्र मत गणक कर्मचारी बस्ने र पारदर्शीताका लागि तारजाली बाहिरबाट उम्मेदवारका प्रतिनिधिले हेर्ने व्यवस्था मिलाइएको छ । मतगणना स्थलमा हुन सक्ने समस्यालाई अन्त्य गर्दै २ वटै स्थानमा भरपर्दो रुपमा मत गणना गर्न सक्नेगरी तयारी गरिएको हो ।

मतगणनामा बस्ने उम्मेदवारका प्रतिनिधिहरूले फलामे तारजालीबाट मतगणना हेर्न मिल्ने छ । मतदान सम्पन्न भएको २४ घण्टा अगावै मतपेटिका संकलन गरी मत गणना सुरु गर्ने व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->