पर्वत/शुक्रवार हुन लागेको प्रतिनिधि सभा निर्वाचनले जिल्लाका ग्रामीण बस्तीहरूमा चहलपहल निकै बढेको छ ।
रोजगारीका सिलसिलामा जिल्ला बाहिर रहेका, वैदेशिक रोजगारीमा गएका र सुविधाको खोजीमा सहर पसेका स्थानीयहरू मतदानका लागि धमाधम गाउँ फर्किएपछि लामो समयदेखि सुनसान रहेका गाउँहरू अहिले भरिभराउ भएका छन् ।
पछिल्लो समय बढ्दो बसाइसराइ, बेरोजगारी, कृषिमा वन्यजन्तुले पु¥याउने क्षति र गुणस्तरीय शिक्षाको अभाव जस्ता कारणले गर्दा धेरै गाउँलेहरू बजार क्षेत्रमा बस्दै आएका थिए । तर, आफ्नो क्षेत्रको प्रतिनिधि छान्ने महत्त्वपूर्ण अवसरमा सहभागी हुन उनीहरू बजार छाडेर गाउँ फर्किएपछि पर्वतका मुख्य बजारहरू सुनसान देखिएका छन् भने ग्रामीण भेगका चोक र टोलहरूमा मानिसहरूको बाक्लो उपस्थिति देखिएको छ ।
सधैँ जसो सुनसान रहने गाउँका चौतारी र चिया पसलहरूमा अहिले बिहान सबेरैदेखि राति अबेरसम्म चुनावी हार–जितको अनुमान र उम्मेदवारका विषयमा तातो बहस हुने गरेको छ । सहरको कृत्रिम तडकभडकभन्दा गाउँको यो प्राकृतिक र आत्मीय माहौलले चुनावी सरगर्मीलाई उत्साहित बनाएको छ ।
निर्वाचन आयोगले फागुन १८ गते राति १२ बजेदेखि नै मौन अवधि लागू गरिसकेको हुनाले राजनीतिक दलका माइकिङ, ¥याली र प्रत्यक्ष प्रचारप्रसारका कार्यहरू पूर्ण रूपमा रोकिएका छन् । राजनीतिक गतिविधिहरू मौन अवस्थामा रहे पनि मतदाताहरूको उत्साह भने झनै बढेको छ । बाह्य प्रचार नभए पनि गाउँ पुगेका मतदाताहरू बिचको आन्तरिक छलफल र उत्साहले नागरिकको मन भने अझै पनि चुनावी छलफल र चिया गफमा नै देखिएको छ ।
विशेष गरी यस पटकको निर्वाचनमा गाउँ फर्किएका मतदाताहरूले बसाइसराइ रोक्ने योजना, कृषिमा हुने वन्यजन्तुको अवरोध हटाउने पहल र गाउँमै गुणस्तरीय शिक्षा एवं स्वास्थ्यको सुनिश्चितता गर्ने उम्मेदवारको खोजी गरिरहेका छन् । निर्वाचनको दिन नजिकिँदै गर्दा गाउँमा देखिएको मानिसहरूको चाप र उत्साहले मतदानको दिन उच्च सहभागिता हुने सङ्केत गरेको छ । वर्षौँपछि भेटिएका आफन्त र छिमेकीहरू बिचको चुनावी भलाकुसारीले पर्वतका प्रत्येक वडा र बस्तीहरूमा एउटा उत्सवमय वातावरण सिर्जना गरेको छ ।





