तस्बिर : नवराज परियार
बागलुङ/बिहिबार हुने निर्वाचनमा बागलुङका अधिकांस उमेदवारले आफ्नो मतदान केन्द्रमा मत खसाल्नेछन् । एकजना उमेदवारले भने आँफैलाई मत दिन पाउने छैनन् ।
बागलुङ क्षेत्र नं. १ का कांग्रेस उमेदवार भीम श्रीषले जैमिनी–१० को राङखानी मावि डाँडाखानी मतदान केन्द्रबाट मत खसाल्नेछन् । एमाले उमेदवार हिराबहादुर केसीले लक्ष्मी मावि धम्जा, रास्वपाका सुशिल खड्काले बागलुङ नगरपालिका–३ को कालीका कन्या मावि र राष्ट्रिय जनमोर्चाका कृष्ण प्रसाद शर्मा अधिकारीले बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित पृथ्वी हिरण्य माविबाट मत खसाल्ने भएका हुन् ।
क्षेत्र नं. २ तर्फ नेपाली कांग्रेसका उमेदवार टेकराज पौडेलले निसीखोला गाउँपालिका–४ को झिम्पास्थित जनजिवराज शुसिला मावि मतदान केन्द्रमा मतदान गर्नेछन् । एमाले उमेदवार मञ्जु शर्माले गलकोट नगरपालिका–३ को हटिया माविबाट मतदान गर्नेछिन् भने नेपाली कम्युनिष्ट पार्टीका उमेदवार ज्ञामनाथ गैरेले गलकोट नगरपालिका वडा नं. ६ को पार्वती माविबाट मत खसाल्ने भएका छन् । यो क्षेत्रका रास्वपाका सोम शर्माले भने आँफैलाई मतदान गर्न पाउने छैनन् । उनको घर बागलुङ क्षेत्र नं. १ मा पर्छ ।
गत निर्वाचनमा पनि बागलुङ क्षेत्र नं. १ बाट निर्वाचित चित्रबहादुर केसी र क्षेत्र नं. २ बाट निर्वाचित देवेन्द्र पौडेल दुवै जनाले आँफैलाई मतदान गर्न पाएका थिएनन् । केसीको घर क्षेत्र नं. २ र पौडेलको घर क्षेत्र नं. १ मा हो । बिहिबार देशभर एकैपटक निर्वाचन हुँदैछ । बागलुङमा पनि १ सय ३२ मतदान केन्द्रबाट ९४ हजार ८ सय ६ जना पुरुष र ९८ हजार ५ सय ७४ महिला गरी १ लाख ९३ हजार ३ सय ८१ जनाले मतदान गर्न पाउनेछन् ।





