पोखरा/पोखरामा डेढ महिनादेखि थुप्रिएको फोहोर अन्ततः तेस्रो पटक फेरि उठ्न थालेको छ । पटक–पटक अवरोधका कारण रोकिँदै आएको फोहोर संकलन कार्य सोमबार साँझदेखि पुनः सुरु गरिएको हो । बुधबार बिहानसम्म पोखराका मुख्य चोकहरुको फोहोर उठिसकेको छ । मंगलबार बिहान केही समूहले पुनः अवरोध गर्न खोजेपछि स्थिती नियन्त्रणमा लिएरै भए पनि फोहोर व्यवस्थापन अघि बढाइएको पोखराका मेयर धनराज आचार्यले बताए ।
‘फोहोरको दुर्गन्ध फैलिसकेको छ, पानी परिरहेको छ । यस्तो अवस्थामा हैजाजस्ता महामारी फैलन सक्छन् । महानगर चुप लागेर बस्ने कुरा भएन । सहमतिमै अघि बढेको काममा फेरि अवरोध हुनु दुःखद छ’ मेयर आचार्यले भने । स्थानीय बासिन्दा र राजनीतिक दलहरूसँग समन्वय गरेर अस्थायी रूपमा व्यवस्थापन थालिएको बताउदै मेयर आचार्यले यो दीर्घकालीन समाधान नभई अस्थायी व्यवस्थापन मात्र भएको उल्लेख गर्दै तर जनस्वास्थ्यको सवालमा महानगर अब पछि नहट्ने जिकिर गरे ।
मेयर आचार्यले सामाजिक सञ्जालमार्फत पनि कडा चेतावनी दिएका छन् । सहमतिमा अघि बढेको फोहोर विसर्जन कार्यमा अवरोध नगर्न राजनीतिक दलका नेताहरूलाई आग्रह गर्दै अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने उनको स्पष्ट सन्देश छ ।
डेढ महिनादेखि नियमित फोहोर उठ्न नसक्दा बजार क्षेत्र, मुख्य चोक र सडक किनारामा थुप्रिएको फोहोरबाट दुर्गन्ध फैलिएको छ । गर्मी बढ्दै जाँदा र वर्षा हुन थालेपछि स्वास्थ्य जोखिमसमेत बढेको भन्दै महानगरले फोहोर संकलनलाई प्राथमिकतामा राखेको मेयर आचार्यले बताए ।
हाल ३८ वटा फोहोर संकलन गाडी परिचालनमा छन् । बजार क्षेत्रमा करिब १ हजार ५ सय ट्रक बराबर फोहोर थुप्रिएको अनुमान गरिएको छ । महानगरले पोखराको अधिकतम फोहोर उठाइसकेको छ । बजारको फोहोर संकलन गरेसंगै फोहोर गाडीको रुट अनुसार घर घरमा फोहोर संकलन हुने भएको महानगरले जनाएको छ ।
महानगरले पुनः अपिल गरेको छ, घर तथा व्यवसायबाट निस्कने फोहोर सडक, चोक, बसपार्क, ताल–पोखरी र नदी किनारमा जथाभावी नफाल्न आग्रह गर्दै गाडीको पालो कुर्नु र कुहिने–नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको हो । फोहोर व्यवस्थापन जस्तो संवेदनशील विषयमा अनावश्यक राजनीति नगर्न र सहकार्य गर्न महानगरको आग्रह छ ।
यसैबीच, नागरिक समाज पोखराका अगुवा रामबहादुर पौडेलले फोहोर व्यवस्थापन जस्तो संवेदनशील विषयमा अनावश्यक राजनीतिककरण नगर्न आग्रह गरे । दलहरूको दोहोरो चरित्र लज्जास्पद भएको टिप्पणी गर्दै उनले फोहोरमाथिको दुर्गन्धित राजनीति बन्द गर्न सामाजिक सञ्जाल सन्देश आग्रह गरे ।
फोटो पत्रकार दुर्गा प्रसाद पौडेलले पोखरामा बढ्दो फोहोर व्यवस्थापन समस्याप्रति गम्भीर ध्यानाकर्षण गराएका छन् । पोखरा महानगरपालिकाका सबै वडामा विभिन्न राजनीतिक दलका जनप्रतिनिधि रहेको स्मरण गराउँदै गण्डकी प्रदेशको राजधानी समेत रहेको पोखरामा मुख्यमन्त्री, प्रदेश प्रमुख, मन्त्री, जस्ता उच्च पदाधिकारी बसोबास गर्ने उल्लेख गरेका छन् । पौडेलले यस्तो महत्वपूर्ण सहरमा दीर्घकालीन फोहोर व्यवस्थापनको समस्या समाधान गर्न सम्बन्धित निकायले ठोस पहल गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । ‘गन्हाएर बसिसक्नु भएन, केही उपाय त निकाल्नुहोस्,’ भन्ने उनको आग्रह छ ।





