पर्वत / प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार भएको मतदानमा पर्वतमा ५३ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा कुल ५३.१८ प्रतिशत मत खसेको हो ।
कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रप्रसाद शर्माले ६६ हजार ७२७ मत खसेको बताए । ३२ हजार २११ महिलाले र ३५ हजार २१६ जना पुरुषले मतदान गरेका छन् । जिल्लामा कुल १ लाख २५ हजार ४६६ मतदाता रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताउँदै राति १० बजेसम्म जिल्लाका सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम आइपुग्ने जानकारी दिए ।
पर्वतमा एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ । यस क्षेत्रमा राजनीतिक दलका १३ जना र ४ जना स्वतन्त्र गरी कुल १७ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।





