बागलुङ/प्रतिनिधिसभा निर्वाचनको दिन बागलुङका फरक फरक मतदान केन्द्रमा फरक–फरक दृश्यहरु देखिए । यसअघिका निर्वाचनभन्दा यो पटकको निर्वाचन शान्त र मौन देखियो । मतदान केन्द्रमा सामान्य होहल्ला समेत भएन । एकदुइ स्थानमा मतदाताले सक्कली कागजात नल्याएकोले सामान्य विवाद हुने बाहेक अन्य केही नभएको हो ।
जिल्ला कारागारमा ५५ जना मतदाता थिए । एक जना स्थानान्तरण भएर काठमाण्डौं गएका र एक जना रिहाई भएकोले बाँकी ५३ जनाले नै मत खसालेका छन् । ५५ जनालाई आधार मान्दा ९६ प्रतिशत र कारागारमा रहेका मतदाताको हिसाबले शतप्रतिशत मत खसेको छ ।
निर्वाचनको दिन सदरमुकामस्थित कालिका कन्या माविमा रास्वपाका उम्मेदवार सुशील खड्काले पहिलो मत खसाले । सोही मतदान केन्द्रमा ह्विलचियरमा आएर पनि सजिलै मत खसालेको देखियो । संयोगबस विद्यालय अपांगमैत्री ह्विल चियर लैजान सक्ने थियो ।
सिमलेस्थित मतदान केन्द्र ‘ख’ महिलाहरु मात्रैले संचालन गरेका थिए । उच्च सरकारी वकिल श्रीकला पौडेल र सहायक न्यायाधिवक्ता जुना शर्मासहितको टोली यो मतदान केन्द्रमा खटिएको थियो ।
बलेवास्थित त्रिभुवन मावि केन्द्र पैयुँपाटामा एउटै स्थलमा ४ वटा मतदान केन्द्र थियो । उक्त केन्द्रमा मानिसको भिड लागेकोले संचारकर्मीलाई समेत गेटबाटै छिर्न नदिने आदेश दिइएको थियो । जसका कारण तस्बिरका लागि गएका अधिकांस पत्रकार गेटबाटै फर्केका थिए । बागलुङ क्षेत्र नं. २ निसीखोलाको निसी, भलकोट, झिम्पा र झिँवाखोला मतदान केन्द्रमा पत्रकारलाई प्रवेश रोकेर तस्बिर खिच्न नदिएको पत्रकार महासंघ बागलुङका सह–सचिव डम्मर बुढामगरले बताए । सिगाना र बालमन्दिर प्राविमा पनि पत्रकारलाई तस्बिर खिच्न अवरोध गरिएको थियो । पछाडिको दृश्य खिच्दा अप्ठ्यारो गरिएको महासंघका कोषाध्यक्ष खेमराज गौतमले बताए ।
बागलुङ नगरपालिका–१४ स्थित जनता–धन मावि मतदान केन्द्रमा भने पत्रकार, पर्यवेक्षक समेतलाई छुट्टाछुट्टै बस्ने स्थान बनाएर राखिएको थियो । मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीले समेत कुन समयमा के कति मत खसेको भन्ने जानकारी दिने गर्थे ।
बानपा–१ को रामरेखा आधारभूत केन्द्र निकै शान्त थियो । यसअघि छेवैमा चिया पकाएर खाने खुवाउने विषयले विवादित बन्थ्यो । तर यहाँ यो पटक खासै भीड समेत देख्न नपरेको स्थानीय बताउँछन् । जिल्लाका अधिकांश मतदान केन्द्र अपांगमैत्री थिएनन् । विद्यालयको गेटमात्र अपांगमैत्री भएपनि ती विद्यालय पुग्ने पहुँच सडक अभाव थियो ।
जैमिनी नगरपालिका–७ को मतदान केन्द्र बारीमा थियो । तोकिएको स्थानको विद्यालय साँघुरो भएपछि सर्वदलीय बैठकले बारीमा मतदान केन्द्र बनाउने निर्णय गरेको थियो । मौषम खराब भएको भए यहाँबाट कागजात जोगाउने चुनौती पथ्र्यो ।
काठेखोला गाउँपालिका वडा नं. ३ को धम्जास्थित लक्ष्मी मावि मतदान केन्द्रमा किरियापुत्रीलेमतदान गरे । नेपाली कांग्रेस काठेखोला गाउँपालिका वडा नं. ३ का सभापति दीपेन्द्र रानाकी आमाको निधनले उनी किरियापुत्रीको रुपमा थिए ।





