पोखरा / विहीबार सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार बिना गुरुङ निर्वाचित भएकी छन् । उनले ३७ हजार ७५० मत पाउन सफल भइन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत ल्याए । निवर्तमान सांसद एमालेका दामोदर वैरागी पौडेलले ७ हजार ९०६ मत पाए भने नेकपाका गोपाल गिरीले १४५६ र राप्रपाका अर्जुन प्रसाद खनालले १४०६ मत पाए ।
विजयी उम्मेदवार गुरुङ सफल व्यवसायी, समाजसेवी र लगानीकर्ता हुन् । गण्डकी प्रदेशमा रास्वपाकी एक मात्र महिला उम्मेदवार थिइन् । सञ्जीवनी दिदीबहिनी संघ नेपालको संस्थापक अध्यक्ष, तमु धिँ नेपालको केन्द्रीय सदस्य, लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीकी पूर्व अध्यक्षलगायत विभिन्न सामाजिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेकी गुरुङ पञ्चासे केबलकारको सञ्चालक समिति सदस्य र गोल्डेन साकोसकी उपाध्यक्षका रूपमा व्यवसायिक क्षेत्रमा पनि सक्रिय छिन् ।
महिला सशक्तीकरण, आर्थिक आत्मनिर्भरता र नेतृत्वमा महिलाको पहुँच विस्तारलाई आफ्नो मुख्य एजेन्डा बनाएर उनी प्रतिनिधिसभा निर्वाचनमा होमिएकी थिइन् ।





