बागलुङ/बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा निर्वाचित सुशिल खड्काले आइतबार आफ्नो सम्पर्क कार्यालय स्थापना गरेका छन् । उनले पत्रकार, कार्यकर्ता र पारिवारिक उपस्थितीमा बागलुङ नगरपालिका वडा नं. ३ को गुठीमा सम्पर्क कार्यालय तथा सचिवालय स्थापना गरेका हुन् ।
संसद यात्रामा लाग्दा स्थानीयका गुनासा, सुझाव र सहयोग संकलन गर्ने तथा ती विषयलाई संसदसम्म लैजाने लक्ष्यले सचिवालय गठन गरिएको खड्काले जानकारी दिए । यसअघि निर्वाचन परिचालनका लागि स्थापना भएको सम्पर्क कार्यालयलाई नै सचिवालय बनाइएको हो ।
बानपा ३ निवासी खड्काको घर छेवैमा यो कार्यालय छ । उक्त कार्यालय शुभारम्भ गर्दै खड्काले जनताको सेवा गर्ने अवसर पाएकोमा सबैलाई धन्यवाद दिए । साथै उनले जनताको सेवक भन्दैमा भनसुनको काम नगर्ने, प्रहरी वा अन्य स्थानमा परेका मुद्दा मामिला मिलाउने काम भने नगर्ने बताए । दुःख पीडामा परेकाहरुलाई भने साथ र सहयोग दिने योजना उनले सुनाए ।
सचिवालयमा जेन्जी युवाको रुपमा आन्दोलन गरेका अभिषेक कटुवाल र झपेन्द्र केसी रहनेछन् । उनीहरुले नागरिकको पिरमर्काबारे बुझ्ने उनले जानकारी दिए । संसदको यात्रामा पु¥याउने सबै मतदातालाई उनले धन्यवाद दिए ।
हिजोसम्म एउटा दलको उमेदवार भएर काम गरेपनि अब भने सबै मतदाता र नागरिकको प्रतिनिधिको रुपमा काम गर्ने उनले प्रतिवद्दता जनाए । राजेन्द्र आचार्यको संचालन र रास्वपाका क्षेत्रीय अध्यक्ष बालकृष्ण शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।





