मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

कास्कीमा चार हजार ६९८ मत बदर

कास्कीमा चार हजार ६९८ मत बदर


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २६ २०८२, मंगलबार

पोखरा/फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा चार हजार ६९८ मत बदर भएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा कूल एक लाख ९१ हजार ४२५ मत खसेकामा एक लाख ८६ हजार ७२७ मत सदर भएको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । उनका अनुसार बदर मतको प्रतिशत दुई दशमलव ४५ प्रतिशत छ ।

कास्की–१ मा जम्मा ७१ हजार ८०६ मत खसेकामा ६९ हजार ९५४ मत सदर हुँदा एक हजार ८५२ मत बदर भयो । यसैगरी क्षेत्र नं २ मा ५३ हजार ३९५ मत खसेकामा ५२ हजार १८७ मत सदर हुँदा एक हजार २०८ मत बदर भयो । क्षेत्र नं ३ मा ६६ हजार २२४ मत खसेको थियो । यस क्षेत्रमा ६४ हजार ५८६ मत सदर हुँदा जम्मा एक हजार ६३८ मत बदर भएको सूचना अधिकारी न्यौपानेले जानकारी दिए। निर्वाचन कार्यालयले मत बदर हुन नदिनका लागि फागुन ३ देखि १७ गतेसम्म जिल्लाका ७२ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो ।

जिल्लमा विसं २०७९ को निर्वाचनमा भने पाँच प्रतिशत मत बदर भएको थियो । त्यस बेला प्रतिनिधिसभा सदस्य लागि एक लाख ७८ हजार ८०६ मत खसेकामा सदर मत एक लाख ७० हजार ३४४ र बदर मत आठ हजार ४६४ थियो ।

सूचना अधिकारी न्यौपानले मतपत्रमा एक वा सो भन्दा बढी चिन्हमा स्वष्तिक छाप लगाउने, मतपत्रमा सही स्थानमा छाप नलगाउने, मतपत्र गलत तरिकाले पट्याउने, छाप लगाउँदा चुनाव चिह्नभन्दा बाहिर लगाउने लगायतका कारणले मत बदर भएको जानकारी दिए ।

‘विगतको निर्वाचनमा भन्दा मत बदर यसपटक धेरैनै कम भएको छ । सबै वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेकालेसमेत न्यून सङ्ख्यामा बदर भएको । अझै पूर्णरुपमा मतदाता शिक्षा पुग्न नसकेको देखिएको छ,’ न्यौपानेले भने ।

स्याङ्जामा साढे ५ हजार मत बदर
यसैगरी स्याङ्जामा ५ हजार ५७० मत बदर भएको छ । यो कुल खसेको मतको ४.१ प्रतिशत हो ।

२ निर्वाचन क्षेत्र रहेको जिल्लामा २ लाख ४८ हजार ८१६ मतदाता रहेकोमा १ लाख ३५ हजार ८७२ मत खसेको थियो । खसेको मतमध्ये १ लाख ३० हजार ३०२ मत सदर भएको निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाले जानकारी दिए । थापाका अनुसार क्षेत्र नम्बर १ मा २ हजार ९०८ मत र क्षेत्र नम्बर २ मा २ हजार ६६२ मत बदर भएको छ ।

क्षेत्र १ मा १ लाख ३० हजार ८८६ मतदाता भए पनि ७० हजार ९४४ मत खसेको थियो । खसेका मतमध्ये ६८ हजार ३६ मत सदर भएको निर्वाचन कार्यालयले जनाएको छ । यसैगरी, क्षेत्र २ मा १ लाख १७ हजार ९३० मतदाता भएता पनि ६४ हजार ९२८ मत खसेको थियो । ती मतमध्ये ६२ हजार २६६ मत सदर थिए । बदर भएका मतपत्रमा एकभन्दा बढी चुनाव चिन्हमा छाप लगाइएको, स्वस्तिक छाप नलगाई ल्याप्चे लगाइएको, तोकिएको घेराभन्दा बाहिर छाप लगाउने जस्ता भेटिएका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->