
पोखरा/ नेपाली कांग्रेसका प्रवक्ता देबराज चालिसेले अबको समय पार्टी निर्माणमा जुट्नुपर्ने बताएका छन् । साथै उनले कार्यकर्ता र नेताहरूलाई एकताबद्ध भएर संगठन सुदृढ बनाउन आह्वान पनि गरेका छन्।
सामाजिक सञ्जालमार्फत शनिवार आफ्नो धारणा सार्वजनिक गर्दै उनले हालको राजनीतिक परिस्थितिलाई आत्मसमीक्षा र पुनर्निर्माणको अवसरका रूपमा लिनुपर्ने बताएका हुन् । उनले एउटा चुनावी हारले नेपाली कांग्रेसजस्तो ऐतिहासिक पार्टीलाई कमजोर बनाउन नसक्ने उल्लेख गरेका छन् । ‘एउटा चट्टानमाथिको रूखजस्तै नेपाली कांग्रेस यो आँधीमा पनि कम्तीमा उभिएको छ। एउटा हारले नेपाली कांग्रेस कहिल्यै हार्ने छैन,’ उनले लेखेका छन्न, ‘अहिलेको चुनौतीपूर्ण अवस्थाले पार्टीलाई थप परिपक्व र संगठित बन्ने अवसर दिएको छ।’
चालिसेले पार्टीलाई अझ मजबुत बनाउन कार्यकर्ताको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै रूखलाई मलिलो जमिनमा सारेर हुर्काउने कामजस्तै संगठनलाई बलियो बनाउने जिम्मेवारी सबैको भएको बताए । उनले पार्टीभित्र आत्मसमीक्षा, संगठन विस्तार र कार्यकर्ता सुदृढीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले आगामी दिनमा फेरि निर्वाचन आउने र त्यसका लागि अहिलेबाटै तयारी सुरु गर्नुपर्ने धारणा राखेका छन् । ‘फेरि चुनाव आउनेछ, हामी झन् बलियो भएर जित्नेछौं,’ उनले भनेका छन्।





