पोखरा/ गण्डकी प्रदेश सभा सदस्यहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सभाको आजको बैठकको शुन्य समयमा बोल्दै उनीहरुले स्वास्थ्य, शिक्षा, रोजगारी, पूर्वाधार विकासलगायत सेवाप्रवाहका विषयमा प्रश्न गरेका थिए ।
नेपाली कम्युनिष्ट पार्टीका कुसुम बुढा पुनले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा प्रदेश सरकारको चासो कम भएको आरोप लगाइन् । अहिले पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १७४ जना र धौलागिरी प्रादेशिक अस्पताल बागलुङ १४ जना मृगौलाका बिरामी डाइलोसिसका लागि पालो कुरेर बस्नुपरेको उनले बताइन् । ‘सरकारी अस्पतालमा पालो नपाएर निजी अस्पतालमा जानु पर्ने बाध्यतामा बिरामी छन्’, उनले भनिन्, ‘स्वास्थ्यमा सरकारले चासो कम दिएको महशुष भएको छ, टालटुले जवाफ नभई काममा जान अनुरोध गर्छु ।’
एमालेकी यशोदा रिमालले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा दलहरुको त्याग भए पनि जनताले सुशासन र पारदर्शीताको अनुभूति गर्न नसकेको बताईन । राजनीतिक अस्थिरता र नीतिगत अन्यौलका कारण जनतामा निराशा उत्पन्न भएको उनको भनाई थियो । प्रदेशलाई संवैधानिक अधिकारमा विभिन्न अवरोध गरिएको र संघ र प्रदेशबीचको समन्वय कमजोर हुदा विकास, सुशासन, भ्रष्टाचार, ढिलासुस्ती र अनियमितताले जनताको बिश्वास कमजोर बनाइरहेको उनले बताइन् । ‘जनताले राज्यबाट सेवा पाउनै सास्ती व्यहोर्नुपरेको छ’, उनले भनिन्, ‘रोजगारी शिक्षा स्वास्थ्यको अवस्थामा व्यापक सुधार जरुरी छ । प्रदेश सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’
एमालेकै भक्तबहादुुर कुँवरले पर्वतको जलजला गाउँपालिका–१ बगरफाँट बासखर्क सडक बहुवर्षेमा लैजानु पर्नेमा जोड दिए । उनले सुन्तला महोत्सबमा पुगेका बेला मुख्यमन्त्रीसहितले प्रतिवद्धता जाहेर गरेको यो विषय के भइरहेको छ भन्ने प्रश्न गरे । ‘हाम्रो कार्यकाल सकिने संभावनालाई ध्यानमा दिएर यही आवमा काम सक्ने गरी बहुवर्षे सडकलाई बजेट माग गर्छु’ उनले भने ।





