पोखरा/ गण्डकी प्रदेश सभामा कांग्रेस सांसद दिलमाया पौविले बागलुङको ढोरपाटन नगरपालिकाका केही वडामा फैलिएको दादुरा संक्रमण स्वास्थ्य समस्या मात्र नभई दुर्गममा आधारभूत स्वास्थ्य सेवाको पहुँच अभाव र जनताको कमजोरीको संकेत रहेको बताएकी छन् ।
गण्डकी प्रदेश सभाको आजको बैठकमा शुन्य समयमा बोल्दै सांसद पौविले दादुराजस्तो संक्रमण रोगबाट बालबालिका र किशोरकिशोरी जोखिममा परेको जनाइन् । ‘यो केवल स्वास्थ्य समस्या मात्र होइन, राज्यको स्वास्थ्य सेवाको पहुँच, खोपको अभाव र जनताको कमजोरीको संकेत हो’, उनले भनिन्, ‘दुर्गममा आभधारभूत स्वास्थ्य सेवा पुग्न नसक्नु चिन्ताको विषय हो ।’ ढोरपाटन नगरपालिका– ७, ८ र ९ वडामा हालैमात्र दादुरा रोग फैलिएको थियो ।
फागुन १० गतेदेखि हालसम्म १५५ जना दादुराका बिरामी भेटिएका र १८ जना अझै उपचाररत रहेको उनले बताइन् । दुर्गम भूगोल, खोपको कमी र स्वास्थ्य सेवाको पहुँचको अभावका कारण अवस्था अझै गम्भिर बन्न सक्ने उनको भनाई थियो । ‘ढोरपाटन र छिमेकी पालिकाबाट पनि बिरामी आइरहेका छन्’, उनले भनिन्, ‘नियन्त्रणका लागि समयमै कदम नचाले सानो समस्या ठूलो संकटमा बदलिन सक्छ ।’ संघ, प्रदेश र स्थानीय तहको संयुक्त प्रयासमा औषधोपचार, जनशक्तिको व्यवस्थापन र समुदाय परिचालनका कामहरु भइरहेको भन्दै उनले ६०० किशोर किशोरीलाई खोप लगाइएको बताईन् ।
दादुरा पूर्ण नियन्त्रणका लागि खोज, अनुसन्धानकालागि विज्ञ टोलीको आवस्यक परेको र अन्य पालिकामा फैलिन नदिन खोप सेवाको लागि सोच्नु पर्नेमा उनले जोड दिइन् । जनतालाई स्वास्थ्य सेवा दिनु राज्यको जिम्मेवारीको परीक्षा पनि रहेको उनको भनाई थियो ।
एमाले सांसद निर्मला थापाले मौसममा आएको परिवर्तनले किसानको बालीनाली जोखिममा परेकाले कृषि राहतको योजना के छ भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गरान् । एमालेकै अर्का सांसद श्यामराजा महतले मध्यपूर्वमा भएको युद्धले त्यहाँका विभिन्न देशमा रहेका नेपाली प्रभावित भएको बताए । धेरैले फोन गरेर घर फर्किने इच्छा जाहेर गरेकाले सम्बन्धित देशसंग समन्वय गरी नेपाल ल्याउने व्यवस्था हुनसक्छ की सक्दैन भन्दै सदनको ध्यानाकर्षण गराए ।
बैठकमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापा, कृषि भूमी व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले संसदका विभिन्न बैठकमा आकस्मिक, शुन्य र विशेष समयमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिएका थिए । सामाजिक विकास तथा कृषि समितिका सभापति दमयन्ती रुचालले गण्डकी प्रदेशमा जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक प्रतिवेदनसहित सभामा पेश गरेकी थिइन् ।





